स्वतन्त्र उम्मेदवारको चाखलाग्दो उदय



सामाजिक अभियन्ता हुँदै नेतृत्वमा पुग्न सफल भएका राईलाई तिनै मतदाताले आगामी दिनमा भ्रष्टाचार नियन्त्रण, सुशासनको व्यवस्था, कालोबजारी, खानेपानी, शिक्षा, स्वास्थ्यका मामिलामा कत्तिको साथ दिन्छन् त्यो उनको कर्ममा भर पर्छ ।

स्थानीय तहको निर्वाचन २०७९ भर्खरै सम्पन्न भई नतिजासमेत सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेसले धेरै स्थानीय तहमा जित्न सफल भयो । नेपाली कांग्रेसलाई पछ्याउँदै नेकपा एमाले स्थानीय निकायमा दोस्रो दल बन्न सफल भएको छ भने नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको छ । अन्य दलहरूले सन्तोषजन परिणाम निकाल्न सकेनन् ।

एमालेसँग रुष्ट भएका मतदाताले यो स्थानीय निर्वाचनमा विकल्प खोजे जसको रोजाइमा नेपाली कांग्रेसले धेरै सफलता हात पार्न सफल भयो । सत्ता गठबन्धनको ठूलो हिंसा कांग्रेसको पोल्टामा प¥यो । वास्तवमा यो पटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई जनताले सच्चिन मौका दिएको अनुमान गर्न गाह्रो पर्दैन । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको घमण्डको जनताको अभिमतले पराकाष्ठा तोडेको छ ।

निर्वाचनअगाडि साँढेको अवतारमा रहेका ओलि आफ्नो दलबाहेक अरुको त फिक्का सम्झने हुँदा परिणामले भने कोल्टे फेरिदियो । निर्वाचनको नतिजा आइरहँदा मौन बनेका ओलीले संसद्बाट आक्रमण गरे अन्तर्घातको संज्ञा दिए । उनका अभिव्यक्तिबाट उनलाई पार्टीको हार स्वीकार्न निकै सकस भएको मान्न सकिन्छ । त्यसैले हुनुपर्छ उनले बुथ क्याप्चर गरेको भन्ने आरोपसमेत सत्ता गठवन्धनलाई लगाउन भ्याए । यिनमा धैर्य कम अनि आक्रोश बढी हुनाले यो पालिको निर्वाचनमा जनताले धुलो चटाइदिएका छन् । यिनको यस्तै हर्कत रहिरहने हो भने आगामी हुने संसदीय तथा प्रादेशिक निर्वाचनमा पनि उही हालत दोहोरिने पक्का छ ।

ठूला दलका यस्तै हर्कतका कारण जनताले स्वतन्त्र उम्मेदवारलाई विश्वास गर्ने आधार बढ्दै जाँदा यो स्थानीय तहको निर्वाचनमा निकै स्वतन्त्र उम्मेलवारको उदय भएको छ ।स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, धरान उप–महानगरपालिका, धनगढी उप–महानगरपालिका निर्वाचन परिणामको व्यग्र पर्खाइमा आम नेपाली रहेका थिए । काठमाडौंमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह, भरतपुरमा माओवादीका तर्फबाट रेनु दाहाल, पोखरामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, धरानमा स्वतन्त्र उमेदवार हर्कराज राई, त्यस्तै, धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल प्रमुख पदमा विजयी भए जुन स्थानहरूको अहिले निकै चर्चा परिचर्चा हुने गरेको छ ।

यीबाहेक अन्य स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारको आगमन राम्रो भएको छ । सदस्यदेखि प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी रहेको थियो । जसको उत्साहजनक रूपमा जनताले अभिमत पनि दिएर जिताएका छन् । स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भएसम्म काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) त्यस्तै धरान उप–महानगरपालिकाका स्वतन्त्र उम्मेदवार हर्कराज राई मेयर पदमा विजयी भएसँगै अन्य विजयको चर्चा यतिबेला ओझेलमा परेका छन् । काठमाडौंका जनप्रतिनिधिले सपथ खाई पहिलो बैठकसमेत बसिसकेको छ भने विभिन्न एजेन्डाहरूसमेत पास गरेको छ ।

जसमा प्रत्यक्ष प्रशारण गरी आम नागरिकको पहुँचमा पु-याएको छ । स्वतन्त्र रूपमा चुनाव जितेर स्थानीय तहको नेतृत्वमा पुगेका ती व्यक्तिले कसरी काम गर्लान् भन्नेमा राजनीतिक दलका नेता तथा स्थानीयमा प्रश्न उठ्न थालेको छ । जित्न त जित्यो तर प्रतिफल प्राप्त गर्न सहज छ या छैन भन्ने विषयमा आम मानिसमा शंका उत्पन्न भएको छ । राजनीतिक दलका नेताहरूले स्वतन्त्र रूपमा नगरप्रमुख वा गाउँपालिका अध्यक्ष जित्नेहरूलाई काम गर्न सहज नहुने बताइरहेका छन् ।

राजनीतिक दलभन्दा बाहिरबाट चुनाव जित्नेहरूसँग संगठन नहुने हुँदा, वडाध्यक्षहरूको सहयोग नहुने तर्क गरिरहेका छन् । कुरा गरांै तिनै स्वतन्त्र उमेदवार धरानका नवनिर्वाचित मेयर हर्कराज राई, जसको संगठन छैन तर पनि उनी सपथ खानेबित्तिकै विभिन्न एजेन्डालाई द्रुत गतिमा अगाडि बढाइरहेका छन् । सामाजिक अभियन्ता हुँदै नेतृत्वमा पुग्न सफल भएका राईलाई तिनै मतदाताले आगामी दिनमा भ्रष्टाचार नियन्त्रण, सुशासनको व्यवस्था, कालोबजारी, खानेपानी, शिक्षा, स्वास्थ्यका मामिलामा कत्तिको साथ दिन्छन् त्यो उनको कर्ममा भर पर्छ । खानेपानी समस्या समाधान गर्ने मुख्य एजेन्डा लिएर चुनावमा होमिएका हर्कराज राईले चुनाव जितेपछि भने अब खानेपानी व्यवस्थापनमा राम्रो भूमिका रहने आशामा धरानका मतदाता देखिएका छन् ।

उनको पहिलो कार्य नै खानेपानी व्यवस्थापन रहेको छ । त्यसबाहेक पनि अन्य विषयका मुद्दामा उनको जोड रहने बारम्बार बताइरहेका छन् ।निर्वाचनको मैदानमा होमिएका राईका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका किशोर राई थिए । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धरान उप–महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई २०,८२१ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार किशोर राईलाई ४,७६२ मतान्तरले पराजित गरेका हुन् । पराजित भएका किशोर राईले १६,०५९ मत ल्याएका थिए । यस्तै, उप–प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार अइन्द्रविक्रम बेघा २०,५१० मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार पदम प्रसाद लिम्बूले १७,६०६ मत ल्याएका थिए ।

काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवारका विजयी बालेन्द्र शाह (बालेन) को चर्चा धरानका राईको भन्दा दोब्बर छ । परम्परागत रूपमा रहेका दलीय निर्वाचन चिन्हलाई स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले प्रदान गरेको लौरो स्थापित बनेको छ । त्यही लौरोको सहायताले धरानमा अनि काठमाडौंमा मेयर बन्न सफल स्वतन्त्र उम्मेदवार बनेका छन् । बालेन्द्र शाह (बालेन) राष्ट्रिय झण्डालाई फरफराउँदै चुनावी मैदानमा होमिएका बालेनको उदय भएको छ ।

उनको परिचय थपिएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ६१,७६७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठलाई २३,४२६ मतान्तरले पराजित गरेका हुन् । पराजित सिर्जना श्रेष्ठले ३८,३४१ मत ल्याएकी छन् । निकै लामो समय स्वतन्त्र उम्मेदवार बालेनलाई पछ्याई रहेका नेकपा एमालेका केशव स्थापित तेस्रो नम्बरमा परे भने उता उप–प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार सुनिता डंगोल ६८,६१२ मतसहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले २३,८०६ मत ल्याएका छन् । मतका आधारलाई हेर्ने हो भने व्यक्तिलाई रुचाइएको स्पष्ट हुन्छ । तिनै पार्टीको उप–प्रमुख सुनिता डंगोलले सर्वाधिक मत प्राप्त गरेको अबस्थामा प्रमुख पदका उम्मेदारको मत भने फितलो रहेको छ ।काठमाडौंमा मेयर पदका प्रत्यासि उम्मेदवार एमालेका केशव स्थापित, कांग्रेसकी शिर्जना सिंह, राप्रपाका मदनदास श्रेष्ठ, विवेकशिलकी समीक्षा वास्कोटाको जति चुनाव अगाडी चर्चा भयो परिणामसंगसँगै सेलाउदै गयो । काठमाडौंमा बालेनमाथी आशाको किरण काठमाडौंबासिले देखेरै हुनुपर्छ उनको पक्षमा उनका समर्थक बिजयि जुलुसमा सहभागिता जनाउन पछि परेनन् ।

काठमाडौंमा युवा जोस जागँरले भरिपूर्ण भएका स्वतन्त्र उम्मेदवार बनेका तिनै उम्मेदवार बालेन शाहले आफूले प्रतिबद्धता गरेका बिषयवस्तु पुरा नभउसम्म खादा माला तथा मिडियामा उपस्थित नहुनेसम्मका धोषणा गरेका छन् ।आगामी पाँच वर्षका लागी नयाँ जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा सपथ खाइसेका छन् । जनताले विश्वास गरी पठाइएका जनप्रतिनिधिले तिनै जनताको विश्वास जित्न सक्ने बन्नुपर्ने सिंगो मुलुकको आवश्यकता छ ।

स्थानीय निर्वाचनमा सत्तापक्ष सबल बन्यो भने प्रतिपक्षले निकै हार व्यहोर्नु प-यो । पार्टी अनि पार्टीका नेताको औकात देखाउने उपयुक्त समय निर्वाचन हो भने झैं जसमा आम मतदाताले विवेक र बुद्धिको प्रयोग गरी यसपालि मतदान गरेको देखिन्छ । त्यसैले होला प्रतिपक्षका नेताका चुरिफुरी सकिए झैं मौन अवस्थामा छन् । यद्यपि कुर्लिन के बाँकी राख्थे र बेलाबेलामा औचित्यहिन गर्जन गर्छन् जुन उनीहरूकै लागि घातक बन्ने गरेको छ । जब निर्वाचनको नतिजा आउँछ तब यिनका दम्भ कमजोर हुनेछ भन्ने अहिलेको अवस्थाले देखाउँदछ । कतिपय स्थानीय निकायमा कुनै दलको वर्षौंदेखिको वर्चश्व कायम रहेका स्थानमा अर्को दलले प्रवेश पाएको छ । यसबाट यो पक्का छ कि मतदाता निकै विवेकी भएका छन्  भिडका पछि नलागी स्वविवेक प्रयोग गर्नाले कतिपय स्थानमा राम्रो नतिजा हासिल गर्न सफल भएका छन् ।

जसरी जितमा सफलता मिल्यो त्यसरी नै पूर्ण कार्यकाल सफलतामा बिताउन सके आगामी निर्वाचनमा जनताले थप विश्वास गर्ने वातावरण बन्न सक्दछ ।काठमाडौंका मतदाताले निर्वाचनमा लौरो चुनाव चिन्ह खोजी खोजी हरेक उमेर समूहले बालेनमाथि विश्वास गर्नु उनका लागि निकै चुनौतीको विषय बनेको पनि छ । जति उनले निर्वाचन अगाडि धोषणा गरेका छन् काठमाडौंलाई काठमाडौंजस्तै बनाउने प्रतिबद्धतासहित नयाँ प्रविधिको प्रयोगसँगै परिवर्तन खोजेका छन् त्यो पूरा उनले गर्नै पर्छ ।

यदि पूरा गरेनन् भने तिनै मतदाताले उनीविरुद्ध खबरदारी गर्न पनि पछि पर्दैनन् । बालेनले मात्र होइन उहाँ निर्वाचित जनप्रतिनिधिले निर्वाचन अगाडि घोषणा गरेका घोषणापत्र अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, सामाजिक सुरक्षा, पूर्वाधार विकासका, कृषि, यातायात, सञ्चार, फोहोर, ढल निकास, धार्मिक क्षेत्र, परम्परागत शैली लगायत विभिन्न क्षेत्रमा गरेका बाचा पूरा हुन्छ हुँदैन त्यसको अनुभूत गर्न बाँकी छ । जसरी सपना बाँढ्न सफल हुन्छ त्यसरी पूरा गर्न अर्को चुनौती थपिन्छ । जनताले विश्वास गरेर दिएको मतको सही सदुपयोग हुन्छ हुँदैन नागरिकले एक एक हिसाब गर्नेछन् । नागरिकलाई बेकुप बनाउन खाजे कहिल्यै क्षम्य हुँदैन ।

प्रतिक्रिया दिनुहोस्