अमेरिकी अधिकारीको नेपाल भ्रमणले निरन्तरता



काठमाडौं ।

नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गरेपछि उच्च अमेरिकी अधिकारीको नेपाल भ्रमणले निरन्तरता पाएको छ । अमेरिकी उपसहायक विदेशमन्त्रीको आगमनपछि अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका क्रममा बिहीबार नेपाल आउनुभएको छ ।

फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख हुनुहुन्छ । आज शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बिचमा भेटवार्ता हुने भएको छ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

चाल्र्स ए फ्लिन शनिबार माउन्टेन फ्लाइट जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजारमाथि रहेको एभरेस्ट भ्यु होटलमा खाना खाने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ । आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेज भ्रमण गरेर उहाँ अमेरिका फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्