बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज



काठमाडौं । 

कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने भएको छ ।
बालबालिकालाई बुस्टरडोज खोप लगाउँदा फरक फरक खोपको मात्रा पनि फरकफरक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फाइजर खोप बुस्टर लगाउँदा शून्य दशमलव ३ एमएल र मोर्डना खोप लगाउँदा सून्य दशमलव २५ एमएल दिनुपर्ने मन्त्रालयले जनाएको छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज लगाउन कोभिडको दोस्रो मात्रा खोप लगाएको तीन महिना पुग्नुपर्ने बताउनुभयो ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले बुस्टर डोज खोप लगाइसक्दा आगामी असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप दिने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको हो ।

पहिलो चरणमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने र दोस्रो चरणमा ५० जिल्लामा खोप अभियान सञ्चालन गरिने भएको छ । २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने भएको छ । त्यस्तै, ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बाग्लुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा बालबालिकालाई खोप अभियान सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्