मलामी गएका दुई जनाको डुबेर मृत्यु



बाँके  । 

बाँकेको राप्ती नदीमा मलामी गएका दुई जनाको डुबेर मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का सुरज रेग्मीको मलामी गएका हुम्ला घर भई धम्बोझीमा कोठामा भाडामा बस्ने १८ वर्षका त्रिबल शाही र लेकराज छन्त्यालको राप्ती नदीमा डुबेर मृत्यु भएको हो । शाही र छन्त्याल रेग्मीको घरमा भाडामा बस्थे ।

बुधबार बिहान कोठामै रेग्मीको मृत्यु भएपछि दिउँसो राप्ती नदीस्थित सिधनियाघाटमा दाहसंस्कार गरिएको थियो । मलामी गएका शाही र छन्त्याल पौडी खेल्ने क्रममा डुबेका हुन् ।

मलामी गएका दुई जना घर नफर्किएपछि बुधबार साँझ नै उनीहरूको खोजतलास गरिएको थियो । त्यसक्रममा नदी छेउमा दुई जोडा कपडा र मोबाइल फेला परेको थियो । उनीहरू नदीमा डुबेको आशंका गरेर खोजतलास गर्दा बिहीबार बिहान शव फेला परेको हो । नेपालगन्जमा कोठा भाडामा लिएर बस्ने दुवै जना धम्बोझी माविमा कक्षा १२ को परीक्षा दिएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्