अन्योलमा बुढीगंगा निर्वाचन



 बाजुरा । 

स्थानीय निर्वाचनमा मतदानमा धाँधली भएको भन्दै मतगणना स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा अझै निर्वाचनसम्बन्धी अन्योल कायम छ । ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा स्थानीय सरकारसमेत निर्माण भइसकेको अवस्थामा बुढीगंगा नगरपालिकामा भने पुनःनिर्वाचन हुने वा मतगणना हुने भन्ने टुंगो लागेको छैन ।

निर्वाचन आयोगले पुनःमतदान गर्ने वातावरण तयार गरी निर्वाचन गर्ने अधिकार स्थानीय निर्वाचन अधिकृतको कार्यालयलाई दिएको भए तापनि निर्वाचनका लागि मिति तय नहुँदा निर्वाचनमा अन्योलता छाएको हो ।एक महिना बितिसक्दा पनि टुंगो नलागेकोले दोधारमा परिएको भन्दै स्थानीय मतदाता धनराज जोशीले नेपाल समाचारपत्रसँग भन्नुुभयो– ‘अषाढ लाग्न थाल्यो खेतीपातीको मौसम छ, नेता चुन्ने की मानो छरी मुरी उब्जाउने, हामी कृषकलाई आपत छ ।’

स्वतन्त्र रूपमा मतदान गर्न नपाउँदाको दुखेसो पोख्दै स्थानीय मतदाता रमा विकले भन्नुुभयो– ‘मतदानकै लागि देश विदेशबाट आएका कतिपय मतदाता कर्मथलोमा फर्किसकेका छन् भने कतिपय मतदाता मतदान हुन्छ की हुँदैन भनि पर्खिबसेका छन् ।’ नेकपा समाजवादीका नेता एवं बाह्रविसे गाविसका पूर्व अध्यक्ष नवराज जैशीले सम्बद्ध पक्षले छिट्टै निकास दिनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनीधिविहीन हुँदा बुढीगंगा नगरपालिकाका नियमित कार्य तथा आगमी वर्षका लागि तय गर्नुपर्ने नीतिकार्यक्रम तथा बजेटसमेत प्रभावित भएको बुढीगंगा नगरपालिकाका कर्मचारी बताउँछन् ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चक्र शाहले भन्नुभयो– ‘निर्वाचनमा बुथ कब्जा गरी फर्जी मत खसाएका वडाको मात्र पुनःनिर्वाचन हुनुपर्ने हो, नगरपािलकाभरि पुनःनिर्वाचन हुनेभयो । त्यो पनि मिति तय हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको सबैलाई थाहा नै छ । अब बारम्बार गरिने स्थलगत अनुुगमन प्रतिवेदनभन्दा पनि छिटोभन्दा छिटो निर्वाचन कार्यालयले निर्वाचनको मिति तय गरी शान्तिपूर्ण पुनःनिर्वाचन गराउनु जरुरी छ ।’

नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापाले निर्वाचन स्थगित गर्नु कुनै कानुनी आधार नभएको भन्दै विधि र परिधीबाहिर गएर गर्ने निर्वाचनको आफूहरू विरुद्धमा छौं । थापाले भन्नुभयो– ‘पुनःनिर्वाचनका विरुद्ध हामीले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छौं । समग्रमा निर्वाचनको वातावरण बनेकै छैन ।’

बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले पुनःनिर्वाचन हुने विश्वास व्यक्त गर्दै भन्नुभयो– ‘सर्वदलीय सहमतिको प्रयासमा छौं । हदैसम्म सहमतिको प्रयास गर्छौं, नभए निर्वाचन रोकिँदैन ।’ बुढीगंगा नगरपालिकामा बारम्बार निर्वाचन अधिकृत परिवर्तन गर्दा पनि केही ढिलाई भएको जिकिर गर्दै अधिकृत खड्काले भन्नुभयो– ‘सर्वाेच्चबाट स्टे अडर आएमा अलग कुरा हो, नत्र निर्वाचन रोकिँदैन ।’ बुढीगंगा नगरपािलकामा हालसम्म ४ जना निर्वाचन अधिकृृत फेरवदल भइसकेका छन् ।

आगामी अषाढ १ गतेबाट हुने मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगबाट सूचना जारी गरेको अवस्था छ । आयोेगले पुनःनिर्वाचनको निर्णय गरिसकेको अवस्थामा बुढीगंगा नगरपालिकाको निर्वाचन कार्यालयले यथासक्य चाँडो निर्वाचन मिति घोषणा नगरेमा निर्वाचन कार्यालयको कार्यक्षमतामा समेत प्रश्नचिह्न खडा हुनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्