विव्यस अध्यक्षदेखि काससम्म एकै परिवारका सदस्य, उनीहरूबाटै विद्यालयको लाखौँ रकम अवचलन



रौतहट । रौतहटको सदरमुकाम गौरमा रहेको एक सामुदायिक विद्यालयमा एकै परिबारका सदस्यले रोजगारी गर्दै आएको पाइएको छ ।

विद्यालयमा अध्यापनभन्दा पनि उनीहरुले रोजगारीका लागि बिद्यालय संचालन गरेको पाइएको हो । कक्षा ६ सम्म अध्यापन हुने गौर नगरपालिका–४ स्थित श्री आधारभुत विद्यालयको ब्यबस्थापन समितिको अध्यक्ष देखि सहयोगी सम्म एकै परिबारका सदस्य रहेका छन ।

०६३ सालमा स्थापना भएको उक्त विद्यालयमा श्रीमान कार्यालय सहयोगी, श्रीमती प्रधानाध्यापक, नन्द राहत शिक्षिका, भाउजु बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर संचालन गरेको पाइएको छ ।

विद्यालयकाे नाममा ती परिबारले नेपाल सरकारबाट उपलब्ध हुदै पाएको सेबा सुबिधासमेत उपभोग गर्दै आएको खुलेको छ । पर्याप्त कक्षाकोठा र भौतिक पुर्बाधार रहे पनि बिद्यालय भवन जीर्ण भईसकेको छ ।

कक्षा ६ सम्म अध्यापन हुने उक्त बिद्यालयमा २४ जना बिद्यार्थी रहेका छन् । तर उक्त विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापकमा उनको बुहारी सावित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा उनकै नातिनी निक्की यादव र कार्यालय सहयोगीमा उनकै छोरा अशोक यादव रहेको छन् ।

सदरमुकाममै रहेको सामुदायिक बिद्यालयको दुरावस्था प्रति सरोकार निकायको ध्यान पुग्न सकेको थिएन । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित गौर नगरपालिकाका प्रमुख शम्भु साहले निरिक्षण गर्ने क्रममा परिवारबाट विद्यालय सञ्चालन गरिएको बताए । उनले भने, शैक्षिक क्षेत्र सुधार गर्नु आफनो पहिलो प्राथमिकता रहेको छ ।

विद्यालय जस्तो पवित्र संस्थालाई परिवारमा सिमित बनाएर विद्यार्थीको भविष्य अन्धकार बनाइएको छ । सदरमुकाम गौरमा प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रहरीलगायत कार्यालय प्रमुख रहे पनि उनीहरु समेतले यसप्रति ध्यान दिन नसक्दा वषौँ विद्यालयको नाममा निकासा हुने लाखौँ रकम अपचलन हुदै आएको छ ।

सो विद्यालयमा अध्यापन गर्ने महिला शिक्षकलाई शिक्षण सिकाइको अभाव देखिएको गौर नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्