काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न



काठमाडौँ ।

काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचनको मतदान सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १ सय ६० जना सबै सदस्यले मतदान गर्नुभयो ।

प्रमुख र उपप्रमुखसहित १ सय ६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १ सय ६० भएको हो ।

निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछ । ८ जनामध्ये ५ जना वडाको महिला सदस्य पदमा विजय हासिल गरेकामध्ये उम्मेदवारी दिएकाबाट निर्वाचित हुने र बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएका व्यक्ति निर्वाचित हुनेछन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहभागिता रहेको छ ।

निर्वाचनमा महिला सदस्यका तर्फबाट कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेसबाट कञ्चना नेपाली हरिजन, मीना सिंह, मीना सुनार र ललिता खड्गीकोउम्मेदवारी परेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीको तर्फबाट मैयाँलक्ष्मी महर्जनको उम्मेदवारी परेको छ । यसैगरी नेकपा एमालेको तर्फबाट शर्मिला परियार, शारदा सुवेदी, शोभा कार्की, हीरादेवी पोखरेल र हेराशोभा डंगोलको उम्मेदवारी परेको छ ।

यसैगरी दलित वा अल्पसंख्यक तर्फ नेकपा एमालेबाट केशव भुजेल, चन्द्रकला सुन्दास र प्रेम पोडे पुजारीको उम्मेदवारी छ । यस्तै नेपाली कांग्रेसकाबाट बिनोद अछामी र महेश नेपालीको उम्मेदवारी छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अनिता कार्की ढली उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्