प्रहरीकाे बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर लगिंदै



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्रहरीकाे बल प्रयोग गरेर बन्चरेडाँडा फाेहाेर बिसर्जन गर्ने निर्णय गरेको छ । साेमबार  शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिका अनुसार  आज (मंगलबार) बिहान  फोहोर बोकेर बन्चरेडाँडा गइरहेका टिपरलाई स्थानीय ठाउँ-ठाउँमा रोकेर अवराेध गरेपछि महानगरपालिकाले साे  निर्णय गरेको  हाे ।

प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा पनि लिइसकेको छ । यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति बताइएकाे छ ।

सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन। ठाउँ-ठाउँमाफोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

प्रतिक्रिया दिनुहोस्