गणतन्त्रका एउटा योद्धा



  • चिरञ्जीवी मास्के

सायद नेपालभरका कांग्रेस सभापतिहरूमा उनी नै पहिलो पार्टी सभापति होलान् जसले मुलुकमा गणतन्त्र आवश्यक छ र, गणतन्त्र प्राप्तिको लागि नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन जरुरी छ भनेर सार्वजनिक घोषणा गरे ।माधवमणि राजभण्डारी, एउटा फरक पहिचानको व्यक्तित्व । मिर्गौला रोगबाट पीडित उहाँको निधन २०७९ जेठ १२ गते बिहीबार भएको छ । त्यसैले, राजनीतिक, साहित्यिक, चलचित्र तथा सामाजिक सेवा क्षेत्र यतिबेला स्तब्ध छ ।

२०४३ सालको त्यो समय । मेरो उमेर १४ वर्षको थियो । चरिकोटमा त्यतिबेला चम्किएको हिमचुली लजको परिसरमा हरेक साँझ म भिडियो हेर्न पुग्थें । मलाई याद छ हिन्दी चलचित्र दोस्ती । एक साँझ दोस्ती फिल्म हेर्दै थिएँ सँगै उभिएका एक जनासँग दोस्ती जम्यो । उनी दार्जिलिङबाट आएका रहेछन् ।मलाई अचम्म लाग्थ्यो । यो भिडियो कसले देखाएका होलान्, किन पैसा नलिएको होला, फेरि गाउँ– गाउँमा पनि यस्तै गरी भिडियो देखाइन्छ रे किन होला ! पछि थाहा भयो यो सबै काम त माधवमणि राजभण्डारीले पो गरेका रहेछन् ।

२०४३ सालमा माधवमणि राजभण्डारी राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए घर चुनाव चिह्न लिएर । आफ्नो चुनाव प्रचार अभियानमा उनले त्यसरी हिमचुली लजको परिसर लगायत गाउँ– गाउँमा लगेर भिडियो देखाएका रहेछन् । उमेरले सानै भएपनि हामी केही युवामा राजनीतिक चेत अङ्कुँराई सकेको थियो । हामी चाहिँ खासमा माधवमणि राजभण्डारीको विरुद्धमा थियौं । हरेक साँझ माधवमणि राजभण्डारीले राखेको भिडियो हेर्न हिमचुली लजको परिसरमा पुग्ने तर प्रचार चाहिँ माछा चुनाव चिह्नको गर्ने ।

तत्कालीन मालेका नेता जितवीर लामा जनपक्षिय उम्मेद्वारको रूपमा माछा चुनाव चिह्न लिएर राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार बनेका थिए । र हामी केही युवा उनैको पक्षमा वकालत गरिरहेका थियौं । तर, दोलखालीको लागि माधवमणि राजभण्डारीले त्यतिबेला निक्कै नौलो र सहयोगी अभियान चलाएका थिए । एक जना मित्रले मलाई सुनाए, २०४३ सालको निर्वाचनमा माधवमणि राजभण्डारीले काठमाडौं ठमेलमा रहेको आफ्नो एमएम होटलबाट पुलाउसमेत ल्याएर दोलखालीलाई खुवाएका थिए रे !२०४५ सालको एउटा प्रसंग मलाई याद छ ।

दोलखा सदरमुकाम चरिकोटमा पञ्चायती रजत महोत्सवको तयारी निक्कै भव्यताका साथ भइरहेको थियो । महिना मलाई याद भएन सायद जेठ महिना हुनुपर्छ । चरिकोटको पशुपति डाँडाबाट नेपालको समय मापन गौरीशङ्कर हिमाल बडो सुन्दर र आकर्षक ढङ्गले टल्किएको देख्न सकिन्थ्यो । गौरीशङ्कर हिमाललाई पृष्ठभूमिमा पारेर टुँडिखेलबाट निक्कै लामो -याली पशुपतिडाँडा तिर आउँदै थियो । त्यो ¥यालीमा नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त कलाकारहरू शिव श्रेष्ठ, भुवन केसीलगायत सहभागी थिए । उनीहरू पञ्चायती व्यवस्थाको प्रचारको लागि निर्माण गरिएको २५ वसन्त चलचित्रको सन्र्दभमा चरिकोट आएका थिए । र त्यो चलचित्र निर्माण गरेका थिए माधवमणि राजभण्डारीले ।

विजय मल्लको लेखन तथा नीर शाहको निर्देशन रहेको २५ वसन्त फिल्म विशाल विक्रम शाह, प्रमिला शाह र रेणु श्रेष्ठको सहयोगमा एमएम फिल्मस्मार्फत् माधवमणि राजभण्डारीले निर्माण गरेका हुन् । २५ वसन्त फिल्मको उद्देश्य जेसुकै होस् दोलाखको केही ठाउँमासमेत छायाङ्कन भएको २५ वसन्तले दोलखालाई चिनाउन निक्कै महत्वपूर्ण भूमिका खेलेको छ । यसको लागि माधवमणि राजभण्डारी सधैं स्मरणीय रहने छन् । अनि २५ वसन्त फिल्मा त्यतिबेलाका चर्चित कलाकारहरूलाई अटाएर माधवमणि राजभण्डारीले नेपालको फिल्मी क्षेत्रको विकासमा ठूलै गुण लगाएको मान्नु पर्छ ।

माधवमणि राजभण्डारी दोलखामा २०२७-२०२८ सालतिर देखिनै सक्रिय थिए । सामाजिक अभियान, राजनीतिक सहभागिता, साहित्यिक एवं सांस्कृतिक उपस्थितिमार्फत् । तर मेरो चिनजान र उठबस भने २०५० यतामात्र हुनथालेको हो ।सामाजिक अभियान र राजनीतिक सहभागितामा निक्कै सक्रिय माधवमणि राजभण्डारीले दोलखाको पत्रकारिता विकासको लागि पनि ठूलै गुण लगाएका छन् । २०५४ सालतिर हुनुपर्छ नेपाल पत्रकार महासंघ दोलखा शाखाको सभापति स्व. देवदास श्रेष्ठ थिए । दोलखामा सक्रिय पत्रकारहरूको उत्साह र सक्रियतामा थप टेवा पुग्नुपर्छ भन्ने सोचका साथ स्व. देवदास श्रेष्ठको अगुवाईमा म, राजेन्द्र, शम्भु, भोजराज, प्रवीणलगायतले माधवमणि राजभण्डारीसँग जिल्लामा एउटा पत्रकारिता पुरस्कार स्थापना गरिदिन आग्रह ग-यौं । उनले हाम्रो आग्रहलाई सहर्ष स्वीकार गरेर आफ्नो स्वर्गीय पिता इन्द्रमणि राजभण्डारीको नाममा स्व. इन्द्रमणि राजभण्डारी पत्रकारिता पुरस्कार स्थापना गरिदिए ।

त्यो पुरस्कार पहिलो वर्ष पत्रकार भोजराज न्यौपाने र प्रवीण प्रधानले संयुक्त रूपमा प्राप्त गरेका थिए भने दोस्रो वर्ष मैले प्राप्त गरेको थिएँ । तेस्रो वर्ष विवाद भएपछि केही समय पुरस्कार वितरण कार्य बन्द भयो । २०५८ सालमा म पहिलो कार्यकालको लागि पत्रकार महासंघ दोलखा शाखाको सभापतिमा निर्वाचित भएपछि मैले माधवमणि राजभण्डारीसँग पुरस्कार निरन्तरताको आग्रह गरें र पुनः त्यो पुरस्कार शुरू गरियो ।दोलखाली पत्रकारहरूको लागि स्व. इन्द्रमणि राजभण्डारी पत्रकारिता पुरस्कार निक्कै ओझिलो ठानिन्छ ।

यो पुरस्कारको अपेक्षामा धेरै पत्रकार साथीहरूले आफ्नो लेखन सक्रियतालाई खँदिलो र खारिलो बनाएका छन् ।माधवमणि राजभण्डारी मिर्गौला रोगबाट पीडित बनेर घरमै स्वास्थ्य लाभ गरिरहेका थिए । २०७६ साल तिर हुनुपर्छ नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्ष जीवन लामाले माधवमणि राजभण्डारीलाई पत्रकार महासंघ दोलखाको तर्फबाट उनको घरमै गएर सम्मान गर्नुप¥यो भनेपछि हामी केही साथीहरू उनको घरमा गएका थियाैं ।रोगले थलिएको भए पनि उनको उत्साह, जोश र अपेक्षा २०२७-०२८ सालतिरको जस्तै थियो । पत्रकार महासंघले सम्झिएकोमा उनी खुसी भए, उत्साहित भए । हामीलाई केही उपदेश र आग्रहसहित धन्यवाद दिए । हामीले पनि दोलखाको पत्रकारिताको विकास र विस्तारमा उनले पु-याएको योगदानको लागि सम्मान प्रकट ग-यौं ।

२०६२-०६३ को जनआन्दोलनमा माधवमणि राजभण्डारी नेपाली कांग्रेस दोलखाको सभापति थिए । २५ वसन्त फिल्म निर्माण गरेकोले भलै उनलाई पञ्चायती व्यवस्थाको हिमायती बनेको आरोप लागेको थियो । तर, प्रजातान्त्रिक सोचबाटै राजनीतिक चेत विकास गरेका उनले जनआन्दोलनको बेला सशक्त ढङ्गले गणतन्त्रको नारालाई उरालेका थिए । सायद नेपालभरका कांग्रेस सभापतिहरूमा उनी नै पहिलो पार्टी सभापति होलान् जसले मुलुकमा गणतन्त्र आवश्यक छ र, गणतन्त्र प्राप्तिको लागि नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन जरुरी छ भनेर सार्वजनिक घोषणा गरे ।

नेपालका कम्युनिस्ट पार्टीहरूले स्थापना कालदेखि नै गणतन्त्रको वकालत गरे । आफ्नो घोषणापत्रमा स्पष्ट रूपमा गणतन्त्रको नारा र मागलाई राखे तर नतिजा आउन सकेन । कम्युनिस्ट पार्टीको गणतन्त्रको नाराले पृष्ठभूमिको काम ग-यो । तर, माधवमणि जस्तै राजनीतिज्ञको जोडबल, १० वर्षीय जनयुद्ध र स्व. गिरिजाप्रसाद कोइरालाको सकारात्मक सक्रियताकै कारण मुलुकमा चाँडै गणतन्त्र आएको हो भन्न गाह्रो मान्नु पर्छजस्तो लाग्दैन ।

माधवमणि राजभण्डारीले राजनीतिक रूपमा, सामाजिक रूपमा र सांस्कृतिक रूपमा मुलुकलाई, दोलखालाई धेरै गुण लगाएका छन् तर उनले केही पनि प्राप्ति गर्न सकेनन् । एकपटक मुलुकको सांसद बन्ने ठूलो सपना थियो उनको । कमसेकम नेपाली कांग्रेसले उनलाई राष्ट्रिय सभाकै भए पनि सांसद बनाउनुपर्ने थियो । यो कुरामा नेपाली कांग्रेस चुकेकै हो । माधवमणि राजभण्डारीलाई सांसद बनाउने कुरामा नेपाली कांग्रेसको उदासीनता शङ्कास्पद छ । त्यसो त उनले दोलखाको तत्कालीन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य (सांसद) को लागि उम्मेद्वारी दिएका हुन् । नेपाली कांग्रेसले उनलाई टिकट दिएको हो तर दोलखामा नेकपा एमालेको प्रभाव र नेपाली कांग्रेस भित्रैबाट उनलाई भएको असहयोगका कारण उनी निर्वाचित हुने अवस्था भएन ।

राजनीतिक अभियानमा उनको प्राप्ति भनेको पञ्चायती कालमा जिल्ला पञ्चायतको उपसभापति र प्रजातन्त्र प्राप्तिपछि नेपाली कांग्रेस दोलखाको सभापतिभन्दा बढी केही भएन । मृत्यसँग संघर्ष गर्दै घरमा उपचार गराइरहेको अवस्थामा समेत उनी आवद्ध नेपाली कांग्रेस र त्यसका नेताहरूले उनलाई साथ दिन सकेन जस्तो लाग्छ । यो मेरो व्यक्तिगत अनुभव हो । उनले त्यो अवस्थामा के महसुस गरेका थिए या उनको परिवारको सोचाइ के छ मैले अभिव्यक्ति गर्ने कुरा भएन ।निक्कै पुरानो हिन्दी फिल्म हो दोस्ती । म अहिले पनि बेलाबेलामा दोस्ती फिल्म हेर्ने गर्छु । अनि सम्झनामा आउँछन् दुई पात्र । उनै दार्जिलिङको साथी र माधवमणि राजभण्डारी ।

२०४३ सालकै प्रसंग । दोस्ती फिल्म हेरिरहँदा दार्जिलिङको ती दोस्तले आफूलाई फिल्मले कुनै असर नगर्ने बताएका थिए तर फिल्म सकेर हुलबाट बाहिरीदै गर्दा हामी दुबैको आखा निक्कै रसाएको थियो दोस्तीको कहानीको प्रभावले । अब फिल्म हेरेरमात्र हैन दोस्ती फिल्मको प्रसंगले मात्र पनि आँखा रसाउने छ किनभने अब माधवमणि राजभण्डारीको यादले हामी दोलखालीहरूको मनमा गहिरो दोस्ती गर्ने छ । किनभने माधवमणि राजभण्डारीले दोलखालाई धेरै कुरा दिएका छन् । राजनीतिलाई धेरै कुरा दिएका छन् र हाम्रो समाजलाई कला, साहित्य, संस्कृतिको जर्गेना गर्न धेरै कुरा दिएका छन् । जसलाई भुल्ने धृष्टता हामी दोलखालीहरूले गर्नु हुँदैन ।हार्दिक श्रद्धान्जली माधव दाइ, तपार्इंको योगदान कला, साहित्य, संस्कृति र राजनीतिले सधैं स्मरण गरिरहने छ । हामी दोलखालीले सधंै स्मरण गरिरहने छाैं । सधैं सधैं ।

(सन्दर्भ : माधवमणि राजभण्डारीको १३ औं पुन्य तीथि)

प्रतिक्रिया दिनुहोस्