मेयर साब !



मेयरलाई ‘साब’ भन्नु स्थानीय सिंहदरबारको चाकरी प्रथालाई पहिलो मोहर लगाउनु हो । मेयर, उपमेयर जनताका सेवक हुन् । कोही ‘साब’ होइनन् ।

‘साहेब’ हिन्दी शब्द हो । यसले आफूभन्दा ठूलो ‘मान्यजन’ या ‘आदरयोग्य’ मानिस भन्ने अर्थ जनाउँछ । अझ नेपाली बृहत् शब्दकोशका आधारमा भन्दा त ‘ठूलाबडा व्यक्तिलाई आदरसाथ सम्बोधन गरिने शब्द’ ‘श्रीमान्, महोदय, साहेब या मालिक, स्वामी, र अधिपति’ यस्ता अर्थ राख्दछन् । अहिले हामीले प्रयोग गर्ने गरेका र शब्दकोशीय अर्थका रूपमा समेत हेर्दा कतै हामीले यो शब्दको गलत प्रयोग त गरिरहेका छैनौं अहिले समाजमा यस्ता अर्थहरूसमेत अनुगुञ्जन हुन थालेका छन् ।

अहिले नेपाली समाजमा पनि यो शब्दको निक्कै चल्तीफिर्ती पाइन्छ । हालै स्थानीय निर्वाचन सकिएर नगरपालिका स्तरमा प्रमुख, उपप्रमुख, गाउँपालिकाहरूमा अध्यक्ष, उपाध्यक्ष र वडा स्तरमा वडा अध्यक्ष तथा वडा सदस्यहरू चुनिएर आएका छन् । ती सबै एक प्रकारले भन्ने हो भने जनताका प्रतिनिधिहरू हुन् । अझ गणतन्त्रको संस्कारमा भन्दा त जनताका सेवकहरू हुन् । गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र जे नाम दिए पनि जनताको हित हुने शासन गर्ने परिपाटीमा जनता भनेका ‘जनार्दन’ याने भगवान् हुन् ।

हाम्रो देशमा भने जनताको महत्व अरू बेला नभए पनि स्थानीय र प्रदेश या संघको चुनावका अघिपछि गरी एक वा दुई महिना मात्रै रहन गएको पाइन्छ । यो देशमा जब बहुदलीय संस्कारको प्रत्याभूति भयो तब एक प्रकारले भन्ने हो भने जनता नै कोही रहेनन् । भएका जति सबै कि त पार्टीका सदस्यहरू भए कि त नेताहरू । बडो रहस्यको कुरा यो देशमा नागरिक समाजका मानिसहरू, पेसागत रूपले उपल्लो तहमा रहेका प्राध्यापकहरू, डाक्टरहरू, वकिलहरू, इन्जिनियरहरू र शिक्षकहरू पनि राजनीतिक निरपेक्ष भएर विशुद्ध जनताको सेवामा दत्तचित्त भएर लागेको देखिएन । यी ससाना सन्धनीय कुरा हुन् ।

मात्र आफ्नो सिदो हेर्ने, फाइदाका कुराहरू गर्ने, विरोधी पार्टी, पक्ष वा समूहलाई हियाएर भन्ने या भित्तैमा पु¥याउने गरी कटाक्ष गर्ने खालका संघ, संस्था र पार्टीका भ्रातृ संगठन र पेसागत संगठनहरूको निर्माण, कार्यशैली र चरित्रले गर्दा भुइँ तहका जनताहरू झुक्किएको अवस्था छ । यस्तो अवस्थाले जनताले खोजेको न्याय, शान्ति र विकासका कुराहरूलाई समयमै डेलिभरी गर्न कहीँ न कहीँ चुकिरहेको देखिन्छ । मात्र आफ्ना कुराहरू आफ्नो तवरले लाद्ने र विपक्षीका काम र कुराहरू राम्रै भए पनि नमान्ने शैलीले गर्दा जनता कुहिराको काग भएको स्थिति देखिन्छ ।

यहाँ उठाउन खोजिएको कुरा सार्वभौम राष्ट्रका नागरिकहरूले आफैंबाट निर्वाचित वा जनअनुमोदित भएका जनप्रतिनिधिहरूलाई आदरकै भाकामा किन नहोस् भनिएको ‘मेयर साव’ भन्ने शब्दको ध्वनि, समाजमा त्यसले पार्दै गरेको असर र आम जनताले गणतन्त्रमा समेत आफ्ना प्रतिनिधिहरूलाई साहेब भनेर पुकारा गरिरहनु पर्दछ या पर्दैन भन्ने कुराको विश्लेषण हो ।‘मेयरलाई ‘साब’ भन्नु स्थानीय सिंहदरबारको चाकरी प्रथालाई पहिलो मोहर लगाउनु हो । मेयर, उपमेयर जनताका सेवक हुन् । कोही ‘साब’ होइनन् । बिट्रिस कालीन भारतमा अङ्ग्रेज अधिकारीहरूलाई तीभन्दा तलका कर्मचारीहरूले वा आमजनले ‘लर्ड साहेब’, ‘साहेब’, ‘साब’ भनेर सम्बोधन गर्थे । त्यसको प्रभाव भारतमा अहिले पनि छ ।

साहेब-साहब-साब शब्दको आज पनि बडो खिद्मत साथ प्रयोग गरिन्छ । आपसमा दोहोरै सम्बोधन गर्न पनि साहब भन्ने चलन छ । त्यसैको प्रभाव हो, नेपालमा साब शब्द प्रचलित भयो तर नेपालमा उच्च पदासिनका लागि, सरकारी पदधारीका लागि बढी प्रयोग गरिन्छ । जस्तै ः सीडीयो साब, एसपी साब र मेयर साब आदि । साब आफैंमा चाकरीसूचक शब्द हो । यो सम्बोधनमार्फत् मेयर-उपमेयरहरूको ‘साख्खै’ बन्ने निहित राजनीति पनि हो । गणतन्त्रमा कसैलाई ‘साहब’ बनाउन र कसैलाई तिनका कृपापात्र जस्तो बनाउन प्रचलित शब्द गणतन्त्रकै अपमानसूचक शब्द हुन् भन्ने हेक्का धेरैले राखेका छैनन् ।

तपाईं पनि यो शब्द प्रयोग गर्न रुचाउनु हुन्छ ? या गरिरहनु भएको छ ? भने अलिबेर यो शब्दबारे गम्नुहोस् है ।’ चर्चित लेखिका तथा राजनीतिक विश्लेषक सरिता गिरी यति सपाट शैलीमा आफ्ना कुरा राख्छिन् ।वास्तवमा भन्ने हो भने जनता राजमा साहेब भनेर हामीले कुनै पनि निर्वाचित होस् या मनोनित या विज्ञापनद्वारा प्राप्त भएका पदहरूमा गएका मानिसहरूलाई गर्ने सम्बोधनको तरकिब नै गलत छ । एक प्रकारले सबै समान भएको यो स्थितिमा कसैले कसैलाई केही सुविधा, सेवा, प्राप्ति या आसमा भन्ने गरिएका यस्ता शब्दहरूले कालान्तरमा गएर संस्कार र संस्कृतिकै रूप लिए भने त्यसले समाजमा गतिलो छाप नछोड्ला भन्ने डर देखिएको छ ।

भारतीय समाजको शैली अलि फरक पाइन्छ । जनप्रतिनिधिहरूका हकमा एमएलए साहब, एमपी साहब, मुख्यमन्त्री साहब जस्ता शब्द प्रयोग भए पनि ती अलि ‘सफ्ट’ सुनिने तर तिनै शब्दहरू कर्मचारी अझ प्रहरीका लागिभन्दा तिनीहरूको भाइब्रेसन अलि फरक सुनिने गर्दछ । यो सन्दर्भमा जस्तै: दरोगा साहब, असई साहब, सही साहब, इन्स्पेक्टर साहब या आइजी साहब जे भने पनि त्यहाँ जन प्रतिनिधिहरूलाई भनिएको साहेब ‘साहेब’ र प्रहरी तथा निजामतीहरूलाई सम्बोधनमा भनिने ‘साहब’ शब्दमा केही अदप या डरद्वारा दबिएको बोली हो कि भन्ने भान पर्दछ ।

उसो त भारतमा एउटा दरोगाले क्रिमिनल केसमा जुनसुकै जनप्रतिनिधिहरूलाई बिना हिच्किचाहट पक्रन या पक्रेर एफआइआर दर्ज गर्न सक्छ । हामीले त्यहाँको हिन्दी समाजलाई सूक्ष्म मूल्याङ्कन गरेर या अध्ययन गरेर हेरेका खण्डमा यी कुराहरू देख्न सक्छौं । अझ यसको जिउँदो प्रमाण त त्यहाँका केही सफल हिन्दी सिनेमाहरूमा नै हामी तिनको उदाहरण देख्न सक्छौं । सिनेमालाई समाजको दुरुस्त फोटोकपीमा लिइन्छ । सिनेमाले समाजलाई गतिशील रूपमा देखाउने गर्दछ ।

मानक भइसकेका केही हिन्दी सिनेमाहरू जस्तै : दबङ र गंगाजल जस्ता सिनेमाले पस्केको भाष्यलाई हेर्दा प्रहरी अधिकृतहरूको सोच, कार्यशैली र स्पिड चुस्तदुरुस्त देख्न सकिन्छ । यसले के देखाउँछ भने एकातिर त्यही प्रहरी अफिसरहरूमा कामचोर प्रवृत्ति, घुस्याहापन र ढिट पारा देखिन्छ भने अर्कोतिर समाजमा हिरो हुने प्रवृत्ति स्थापित गर्नका लागि भने केही फरक शैलीका चरित्रहरू पनि स्थापित गरिरहेको हुन्छ ।

हाम्रो नेपाली समाजमा त्यस्तो चरित्र स्थपित भएका सिनेमा, नाटक र अन्य कलाका केही पहेलीहरू देखार चिनार भएका छैनन् । यो अवस्थाले गर्दा समाजमा हिरो प्रवृत्ति स्थापित हुनका लागि केही ठूलै मानक बनाउनुपर्ने भन्ने अर्थ द्योतन गरेको छ । अतः निजामती, जंगी, शिक्षण, वकालत या अन्य संघ संस्थामा रहेका र तिनलाई खुसी पार्नका लागि जागिरे प्रवृत्तिका मानिसहरू बाहेक जनप्रतिनिधिहरूलाई जेजस्तो अवस्थामै भए पनि भनिएको ‘साहेब’ या ‘साहब’ शब्दहरूको ध्वनि अबको नेपाली समाजमा समेत राम्रो नसुनिएको पाइन थालेको छ ।

चेतनाको लेभल जतिजति माथिमाथि जान्छ उतिउति यस्ता शब्दहरूले आफ्नो विकल्पमा थप र नयाँ शब्दहरू खोज्दा रहेछन् । यो मानिसको आफू सांस्कारिक भएको प्रमाण पनि हो । संसारका सबै मानिसहरू फरकफरक क्षमताका भए पनि एकै हुन् । कोही ठूलासाना छैनन् । मन, मस्तिष्क, मुटु र महक सबैको एकै हुन्छ । यस्तो चिन्तन वैश्विक हुँदै गएको आजको यो नूतन प्राविधिक जमानामा पनि कोही साहेब र कोही सेवक हुने परिपाटी समाजमा हामी पढेलेखेकै मानिसहरूले नै स्थापित गर्न खोज्यौं भने यसले हामीले प्राप्त गरेको यो गणतन्त्रलाई नै खिज्याइरहेको भान हुन्छ । अहिले एकातिरबाट यस्तो कुराहरू पनि समाजमा उठ्न थालिसकेका छन् ।

फेरि समाजमा आउने या आएका नयाँनयाँ चरित्र र पात्रहरूबाटै पनि यी शब्दहरू क्रमिक रूपले त्याज्य हुँदै जानुपर्ने भन्ने देखिन्छन् । भर्खरै सकिएको स्थानीय निर्वाचनमा पनि धरानबाट हर्क साम्पाङ राई, काठमाडौंबाट बालेन शाह र धनगढीबाट गोपाल हमालजस्ता फरक पात्र र प्रवृत्ति एवम् सोचका जनप्रतिनिधिहरू चुनिएर आएका छन् । कुनै पनि राजनीतिक पार्टीको राजनीतिक लिगेसी नबोकेका यस्ता पात्रहरूलाई जनताले आदर, सत्कार र गहिरो संस्कार प्रदर्शन गर्ने भावले नै किन नहोस् ‘साहेब’ शब्द आदरसूचक होला तर तेस्रो व्यक्तिले सुन्दाका सन्दर्भमा कर्णप्रिय लाग्दैन ।

समाजलाई बदल्नै भनेर केही पृथक् सोच राखेर आएका र उदाएका यस्ता नूतन प्रवृत्तिका पात्रहरूलाई जी, ज्यू र मेयर मात्र भन्ने खालका आदरसूचक शब्दहरू नै काफी छन् । यहाँनेर ‘साहेब’ शब्द ती स्वतन्त्र मेयरहरूका लागि किन पनि उपयुक्त हुँदैनन् भने तिनीहरू पार्टी, संस्था वा अन्य कुनै पनि निकायप्रति उत्तरदायी नभएर सीधै जनताप्रति उत्तरदायी हुने हुनाले तिनीहरूले मान्ने जनता नै तिनीहरूका लागि वर्तमान र भावी समयका लागि समेत जनार्दन याने भगवान् भएकैले ती मेयर या उपमेयरहरूलाई कम्तीमा पनि ‘साहेब’ को पगरी नगुताई दिए बेस् हुन्थ्यो ।

हामीले समाजमा नयाँ कुराहरूको स्थापना र पुराना कुराहरूको विस्थापन गर्दै जानु पर्छ । यदि यसो हुन सक्यो भने नै समाज रूपान्तरणमा हाम्रो तर्फबाट ससानो नै भए पनि केही योगदान हुन सक्छ । निर्वाचनका दौरानमा केही अभिव्यक्तिहरूसमेत बाहिर आएका छन् जस्तो: ‘स्वतन्त्रका हैसियतमा उठ्ने र चुनाव जित्ने जनप्रतिनिधिहरूले समाजमा चाहेर पनि विकास र परिवर्तनका पक्षमा केही काम गर्न सक्दैनन्’ भनेर माझै मुखले केही नेताहरू भनिरहेका छन् । एमाले नेता शंकर पोखरेलले यिनै आशयका कुराहरू हालसालै एक कार्यक्रममा बोलेका छन् ।

यहाँनेर एउटा कुरा उठन सक्छ । त्यो के भने समाजका सबै क्षेत्र, वर्ग, पेसा, पद र प्रतिष्ठाका कुराहरूमा हामी नूतन सोचको वकालत अविराम रूपमा गरिरहेका हुन्छौं तर राजनीति गर्ने केही राजनीतिज्ञहरू वा नेताहरूवा उच्च पदस्थ कार्यकारी व्यक्तित्वहरू नै किन पुरातन सोचमै लटपटिन चाहन्छन् । यो कुरो कि त सन्धनीय छ कि त त्याज्य हुनु प-यो । सोचको दायरा फराकिलो हुँदै एकदिन समाज त खुला वातावरण मै विचरण गर्ने हो । कसैले कसैको दबाब र प्रभावमा हामी बहुदलीय संस्कार र गणतन्त्रको जीवनशैलीलाई अगाडि लैजान सक्दैनौं । अब हामीले आफूलाई तल पारेर भन्ने गरेका ‘साहेब’, ‘साहब’ र ‘साब’ जस्ता आदरसूचक भनिएका शब्दहरूको प्रयोग गर्न यस्ता कुराहरू बुझेका दिनबाट चटक्क छोड्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्