वागमतीका जिल्लामा धमाधम स्वाइनफिभर



हेटौंडा । 

वागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पु-याउन सक्ने देखिएको छ । उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बंगुर मरेको सरकारी रेकर्ड छ । सरकारी रेकर्डमा उक्त तथ्यांक आए पनि रेकर्डमा नरहेका यस्ता पशुहरूको संख्या दोब्बर हुन सक्ने अनुमान छ ।

अफ्रिकन स्वाइनफिभर देखापरेर हालसम्म काठमाडाैंको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकालीमा निकै क्षति गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायणमा उक्त रोगका कारण धेरै सुँगुर तथा बंगुर मरेका हुन् । माउ काठमाडौं जाने र पालनका लागि पाठापाठी जिल्लातिर पठाउने गरिएका कारण अन्य जिल्ला पनि उक्त रोगको जोखिममा रहेको उहाँले बताउनुभयो । हेटौंडाका विभिन्न क्षेत्रमा व्यावसायिकरूपमा बंगुरपालन गर्ने गरिएको छ ।

अफ्रिकन स्वाइनफिभर बंगुर, सुँगुर तथा बँदेलमा एक प्रकारको भाइरसबाट लाग्ने संक्रामक महामारी रोग हो । खोर वा फार्ममा रहेका शतप्रतिशत बंगुर, सुँगुर मर्न सक्ने हुनाले उक्त रोग आर्थिक हिसाबले क्षति गर्ने खालको छ । डा. प्रधानका अनुसार अफ्रिकाको रैथाने उक्त रोग युरोप हुँदै सन् २०१८ मा चीनमा देखिएपछि एसियाका विभिन्न्न मुलुक हुँदै सन् २०२० मेमा भारतको आसाममा देखा परेको थियो ।

नेपालमा समेत रोगको जोखिम बढेको छ । उक्त भाइरस निकै प्रतिरोधी हुन्छ । भाइरस पशुबाट मानिसमा सर्दैन । त्यसकारण बंगुर, सुँगुर र बँदेल मरे वा मरेको थाहा भए नजिकको पशुसेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा यथाशीघ्र खबर गर्न डा. प्रधानको सुझाव छ ।

२०७८ चैत १६ गते कागेश्वरी मनोहरा क्षेत्रको बंगुरमा पहिलोपटक देखिएको नमुना अस्ट्रेलिया पठाइ थप पुष्टि गरिएको डा. प्रधानले बताउनुभयो । उक्त रोगमा बंगुर प्रजातिमा अत्यधिक मृत्युदर हुने, सबै उमेरका बंगुरमा देखिने र जंगली बँदेलमा समेत सर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

उक्त रोगका कारण सुँगुर तथा बंगुरमा १०४ डिग्री वा त्यस भन्दामाथि ज्वरो आएको पाइएको छ । झोक्राएर बस्ने र दानापानी खान छाड्ने, सास फेर्न अप्ठेरो हुने, दिसामा रगत देखिने, कानका टुप्पा, खुट्टा तथा शरीरका अन्य भाग र विशेषगरी पेटको भागको छालामा रगत जमेका कालो-निलो डाम देखिने, बान्ता गर्ने, नाकमा रगत मिसिएको सिंगानजस्तो आउने, छेर्ने, बच्चा तुहिने, प्रायः वयस्क बंगुरमा उक्त रोगको प्रकोप बढी देखिएको र लक्षण देखिएको २-३ दिनमा मृत्यु हुने गरेको डा. प्रधानले जानकारी दिनुभयो ।

अफ्रिकन स्वाइनफिभर भाइरस बंगुर प्रजातिका पशुको काँचो मासु, फ्रोजन मासु, साँधेको मासु, सुकुटी वा राम्ररी नपाकेका मासु, मलमुत्र तथा सिनोमा महिनौंसम्म बाँच्न सक्छ । उक्त भाइरस फ्रोजन मासुमा १५ हप्तासम्म, प्रशोधित मासुमा ३ देखि ६ महिनासम्म बाँच्न सक्छ । उक्त भाइरस ६० डिग्री सेन्टिग्रेडमा ३० मिनेटभित्र निष्क्रिय हुन्छ ।

अफ्रिकन स्वाइनफिभर रोगको हालसम्म उपचार र भ्याक्सिन उपलब्ध छैन । यसको रोकथामका लागि सुंगुर बंगुर तथा बँदेलको ढुवानीमा निगरानी गर्नुपर्ने चिकित्सकको सुझाव छ । संक्रमित क्षेत्रबाट पशु अन्यत्र नलैजान डा. प्रधानको आग्रह छ ।उहाँका अनुसार संक्रमित सुँगुर, बंगुर तथा ब“देलको मासु बेचबिखन नगर्ने, निसंक्रमण ढुवानी माध्यम, संक्रमित कपडा, औजारलगायत जैविक सुरक्षा अवलम्बन, मरेको पशुको उचित व्यवस्थापन तथा निसंक्रमण गर्नुपर्ने हुन्छ ।

रोगी पशु मानवीय तरिकाले नष्ट गर्ने, पशुलाई होटल रेस्टुराँको फोहर नखुवाउने, क्वारेन्टाइनमा कडाइ गर्ने काम गर्न पशु चिकित्सकले सुझाएका छन् । ‘जैविक सुरक्षाका उपाय अपनाइ रोकथाम गर्नु एकमात्र उत्तम विकल्प हो,’ डा. प्रधान भन्नुहुन्छ– बंगुर, सुँगुर र बँदेलको खोरमा मानिस अनावश्यक आवतजावत नगर्ने, होटल, रेस्टुराँबाट फालिएका खानेकुरा बंगुर, सुँगुर र बँदेललाई राम्रोसँग पकाएरमात्र खुवाउनुपर्छ ।पशुसेवाका निकायले मृत अवस्थामा भेटिएका बंगुर, सुँगुर र बँदेलबाट नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउन सुझाव दिएका छन् । बंगुर खरिद गर्दा आधिकारिक तथा विश्वसनीय स्रोतबाट खरिद गर्न चिकित्सकको आग्रह छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रबाट रोग नियन्त्रणका लागि गरिने प्रयास भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्