सार्वजनिक शौचालयको लोगो तयार

एक साताभित्र प्रयोगमा ल्याउने तयारी



काठमाडौं । 

काठमाडौं महानगरपालिकाले एक साताभित्र निजी र संस्थाका शौचालयलाई सार्वजनिक शौचालयको रूपमा खुला गर्ने तयारी गरेसँगै सार्वजनिक शौचालयको लोगो तयार गरेको छ । लोगोमा निलो रङको ग्लो साइनको बोर्डमा सार्वजनिक शौचालय लेखिएको सेतो रंगको अक्षर र सेतै रंगको महिला र पुरुषको चिन्ह अंकित छ ।

कामपाले आइतबार सार्वजनिक सूचना जारी गरी आफ्नो शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुक होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, सपिङ कम्प्लेक्स, निजी कम्पनी एवं गैरसरकारी संघसंस्थालगायतलाई अनुमतिका लागि ७ दिनभित्र कामपामा सम्पर्क राख्न आग्रह गरेको छ ।

कामपाको सार्वजनिक निजी साझेदारी इकाई (पीपीपी)ले जारी गरेको सूचनामा शौचालय प्रयोग गर्न दिने संस्था र व्यक्तिलाई दुईपक्षीय सम्झौता गरी सार्वजनिक शौचालयको रूपमा सञ्चालन गर्ने अनुमति दिने उल्लेख छ ।पीपीपी इकाईका प्रमुख एवं निर्देशक नुरनिधि न्यौपानेले शौचालय प्रयोग गर्न दिने इच्छा जनाएका व्यक्ति र संस्थाले इकाइ र प्रशासन विभागले तयार गरेको फारम भर्नुपर्ने बताउनुभयो । फारममा महानगरले शौचालय प्रयोग गरेवापत केही सुविधा दिने व्यवस्था उल्लेख छैन ।

पछि शौचालयले प्रयोग गर्न इच्छुकको संख्याको आधारमा कामपाले निर्णय गर्ने जानकारी दिँदै न्यौपानेले भन्नुभयो– ‘शौचालयको संख्या बढ्दै गएमा घरधनी वा शौचालय प्रयोग गर्न दिने संस्थालाई करछुट वा अन्य सुविधा दिनसक्छ । त्यसको लागि कामपाको कार्यपालिकाको बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।’
काठमाडौं महानगरपालिकाको मेयरमा वालेन्द्र साहले पदबहाली गरेकै दिनबसेको पहिलो बैठकले महानगरभित्रका निजी र संस्थाको शौचालयलाई पनि सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न कामपाले सूचना जारी गरेको हो ।
दुई पक्षबीच सम्झौता भएपछि कामपाले सार्वजनिक शौचालय अंकित बोर्ड राख्ने भएको छ । कामपाले यो अभियानअन्तर्गत करिब ४ सयको हाराहारीले यो फारम भर्नसक्ने आंकलन गरेको जानकारी दिँदै पीपीपी इकाइका प्रमुख न्यौपानेले भन्नुभयो– ‘सात दिनको सूचनाको आधारमा प्रक्रिया अघि बढाउनेछौं, त्यसपछि इच्छुक व्यक्ति र संस्थालाई बोर्ड उपलब्ध गराई शौचालयको संख्या वृद्धि गर्नेछौं ।’कामपाले फारम भरेपछि शौचालयको अवस्थाबारे अनुगमन गरी उचित लागेमा मात्र सम्झौता गरी अनुमति दिने जनाएको छ ।कामपाले आफ्नो स्वामित्वमा रहेको ५८ वटा शौचालयलाई निःशुल्क प्रयोग गर्न दिन छाडेर निजी र संस्थाको शौचालयलाई प्रयोग गर्न दिने निर्णय गरेको हो ।

कामपाको स्वामित्वमा रहेको ५८ मध्ये करिब २५ वटा मात्र प्रयोगमा छन् । महानगरको नमुना शौचालयको रूपमा रहेको स्वयम्भु र त्रिपुरेश्वरको शौचालयलाई कामपाले शुल्क लिएर सञ्चालन गरिरहेको छ । कामपाको सार्वजनिक शौचालयमध्ये पशुपति क्षेत्रको शौचालयमा सधैं भीड लाग्ने गरेको छ । पशुपतिको शौचालयलाई कामपाले निःशुल्क प्रयोग गर्न अनुमति दिएको छ । कामपाले रकम दिएर प्रयोग गर्न दिएको शौचालय व्यवस्थित छन् । निःशुल्क भनिएका सबै शौचालय प्रयोग गर्ने सक्ने अवस्थामा छैनन् । कामपाले मातहतका सबै शौचालयल व्यवस्थित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्