पुस्तक अभावले हैरानीमा विद्यार्थी

पुस्तक सँगै सडक बन्द हुने त्रास



काभ्रे । 

सरकारले समयमै पाठ्यपुस्तक छपाई नगर्दा बालबालिकाहरु हैरानीमा परेका छन् । राजधानीसँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकका अधिकांश सामुदायिक र नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पाठ्यपुस्तक उपलब्ध हुन सकेको छैन ।

‘विद्यार्थीको पढाई शुरु भएको एक महिना भन्दा धेरै भईसक्यो, पाठ्यपुस्तक उपलब्ध हुन सकेको छैन’–महाभारत गाउँपालिका ५ बुढाखानी चार किल्ला स्थित ग्रामोन्नती मावीका प्रधानाध्यापक राम वाईवाले भन्नुभयो–‘कक्षा ५, ६, ८ मा अध्ययन गर्ने बालबालिकाहरुले पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन ।’

पाठ्यपुस्तक अभाव हुँदा बालबालिकाहरु अध्ययनबाट बञ्चित भएका छन् । महाभारत, खानिखोला मात्रै नभई जिल्लाको विकट क्षेत्र कोशिपारी र तेमाल गाउँपालिकाका विद्यालयहरुमा वर्षात अगावै पाठ्यपुस्तक पु¥याउन सकिएन भने बालबालिकाहरु वर्षात पछिसम्म पनि अध्ययन गर्नबाट बञ्चित हुनेछन् ।सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुका लागि कक्षा ६ र ८ को पुस्तकका लागि जनक शिक्षा सामाग्री लिमिटेडले हालसम्म विल नकाटेको ब्यवसायी कृष्णराम कार्कीले बताउनु भयो । ‘आजसम्म जनक शिक्षाले सामुदायिक विद्यालयको कक्षा ६ र ८ को विल काटेको छैन’–ब्यवसायी कृष्णराम कार्कीले भन्नुभयो–‘समयमै पुस्तक प्राप्त हुन सकेन भने ग्रामिण भेगका सडक बन्द हुन थालेकाले बालबालिकाहरुलाई पुस्तक पठाउन सम्भव छैन । खोला बढेपछि बन्द हुने सडक जिल्लामा धेरै छन् ।

खानिखोला र महाभारत गाउँपालिकाका अधिकांश विद्यालयमा पाठयपुस्तक पठाउन सम्भव छैन ।’ सामुदायिकसँगै नीजि विद्यालयको पनि पुस्तक अभाव छ ।नीजि विद्यालयको पाठ्यपुस्तक छाप्ने प्रेसले अघिल्लो वर्षको मुल्यमा पाठ्यपुस्तक नछापेका कारण विद्यार्थीहरुले पुस्तक पाउन सकेका छैनन ।

अघिल्लो वर्ष ९० रुपैयाको कागज यो वर्ष १ सय ९० रुपैया पुगेकाले प्रेसले छाप्न अस्विकार गरेको नीजि प्रकाशन गृहहरुले बताएका छन् । सरकारले कितावको मुल्य बढाउन आनाकानी गरेकाले जनक शिक्षा र नीजि क्षेत्रका प्रेसहरुले समेत पाठ्यपुस्तक छाप्न आनाकानी गरेका हुन् । चालु शैक्षिक शत्रमा बालबालिकाहरुले पाठ्यपुस्तक विना नौ अध्ययन शुरु गरिसकेका छन् ।

शिक्षासँग सरोकारवाला निकायले पाठ्यपुस्तक समयमै नआउँदा सरकारलाई खवरादी गरेको भए पनि सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।कक्षा ४, ७, ६ र ९ कक्षाको पाठ्यपुस्तकमा पाठ्यक्रम परिवर्तन भएका छन् । आगामी शैक्षिक सत्रमा अन्य कक्षाको पाठ्यपुस्तकका पाठ्यक्रम परिवर्तन हुने छन् । पाठ्यक्रम परिवर्तन भएकाले समयमै पाठ्यपुस्तक छपाई नहुँदा बालबालिकाहरु अध्ययन गर्नबाट बञ्चित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्