वाइलाईन छाप्न नपाएको त्यो समाचार

दरवारहत्या काण्डको २१ बर्ष



आज जेठ १९ राजदरवार हत्याकाण्ड भएको पनि २१ बर्ष बितेछ । त्यो त्रासदीपूर्ण दिनको संझना मेरो मानसपटलमा अझै ताजा छ । २०५८ जेठ १९ गते बेलुका हामी काम सकेर पूर्व जलस्रोत सचिव बिश्वनाथ पन्तको घरमा डिनर गर्न मेरा साथी किसोर सापटकोटा र इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बराल उहाँको घरमा पुगेका थियौं । त्यसबेला सबैसँग मोवाइल फोनको पहुँच थिएन म कलंकीमा डेरा लिएर बस्ने भएपनि घरमा फोन जोडेको थिए । त्यस दिन कसैले खोज्यो भने पन्त सरको घरको नम्वर मेरी बहिनीलाई दिएको थिए ।

पूर्व सचिव पन्तकी श्रीमती शिला पन्त दिदीले त्यो दिनको बेलुकाको डिनरको व्यवस्था गर्नु भएको थियो । हामी तीन भाई उहाँहरुको निमन्त्रणा स्वीकार गर्दै गएका थियौं । केही बेर रमाईलो कुराकानी गर्दै गर्दा शिला दिदीको घरमा रहेको फोनमा लगातार घन्टी बजेपछि शिला दिदीले फोन उठाउनुभयो ।

त्यो फोन मेरो रहेछ । मैले फोन उठाएर हल्लो मात्र के भनेको थिए उताबाट जवाफ आयो दीपकजी आज वर्वाद भयो । दरवारमा गोली चल्यो राजा रानीपनि गोली काण्डमा परेको हो कि भन्ने आशंका छ त्यही जानकारी दिन मैले फोन गरेको भन्दै ती महानुभावले फोन राखिदिनु भयो ।

त्यो कुरा मैले पूर्व सचिव पन्त सहितको मेरा साथीहरुलाई सुनाएपछि सबै जना हैन यो हुनै नसक्ने घटना कसरी भयो भन्दै केही बेर हामी छलफल ग-यौं । फेरी त्यही फोनमा अर्को कल आयो दिदीले फोन उठाउनासाथ मलाई नै खोजेर अर्का मानिसले फेरी फोन गरेको भन्दै दिदीले मतिर इसारा गर्नु भयो ।

म फोन उठाउन गए भाई कहाँ हुनुहुन्छ । दरवारमा गोली चल्यो दरवारको अवस्था अज्ञात छ म त्यता नै जान लागेको तपाई कहाँ हो । मैले भने सर म आउछु नि त भन्दै फोन राखिदिए । हामी त्यहाँबाट निन्याउरो अनुहार लगाउदै निस्कियौं । म सिधै मोटरसाइकल लिएर कालिमाटीको तत्कालिन महेन्द्र सालिक आइपुगे जसले मलाई फोन गर्नु भएको थियो उहाँपनि केही समयपछि त्यहाँ आइपुग्नु भयो ।

मलाई उहाँले तपाईको परिचय जनाउने कुनै पनि बस्तु छ भने साथै नलानु होला भनेपछि मैले मेरो प्रेसपास त्यही मोटरसाइलमा छोडेर उहाँको गाडी चढेर म राजा रानी राखेकोछाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल तर्फ लागे । उहांले मलाई केही कुरा सिकाउनु भएको थियो । गेटमा कसैले सोध्यो भने म तपाईलाई मेरो अर्दली भन्छु माइन्ड नगर्नु होला है भाई । मैले भने सर किन माइन्ड गर्नु र म त्यहाँभित्रको अवस्थाको बारेमा जानकारी लिन पाएभने मेरोलागि ठुलो कुरा हुने छ भन्दै हामी छाउनी अस्पताल पुगेका थियौं ।

अस्पतालको गेटमा पुग्दा एम्वुलेन्सको साइरनले सो क्षेत्रलाई आतंकित बनाइरहेको थियो । त्यो साइरनको आवाज सुनेर मेरो मनमा डरले वास गर्न थालिसकेको थियो । हामी गाडी सहित भित्र प्रवेश गर्न खोज्दा डिउटीमा बसेका सिपाहीले सोधे जसले मलाई गाडीमा लैजानु भएको थियो उहांले भन्नुभयो म जरसाप गाडी विना रोकटोक भित्र गयो । मलाई लैजाने जरसापले भन्नुभयो ।

मलाई अव फलो नगर्नु होला । म बिस्तारै अस्पतालभित्र प्रवेश गर्न खोज्दै थिए । अस्पतालको वातावरण सन्नाटा छाएको थियो । मनमा डर मान्दै भित्र गए । राजा रानीको शव स्टेचरमा राखिएको अवस्थामा थियो । अरु शवहरु यत्रतत्र थिए । राजा बीरेन्द्रको शव चिनिने अवस्थामा भएपनि रानी एश्वर्यको अनुहारमा धेरै गोली लागेकाले उहांको अनुहार चिन्न सक्ने अवस्थामा थिएन ।

म त्यहाँको अवस्था गर्दै गर्दा नेपाल प्रहरीमा महानिरीक्षक प्रदिपशमसेर राणा त्यहां आइपुग्नु भयो । उहांले मसंग कुनै संवाद नगरेपनि नजिकै रहेको नेपाली सेनाका एक मेजरलाई मेरो बारेमा केही बताउनु भएको थियो । ती मेजर जंगिदै कहाँबाट यहाँ कसरी आइस भन्दै हप्काउन थाले म चुप रहे । उनले आदेश दिए त्यहाँबाट गइहाल होइन भने अवस्था जे पनि हुन सक्छ भन्दै थर्काए ।

म अस्पतालबाट बाहिर निस्कने तयारी गरे त्यो गेटबाट कसरी बाहिर निस्कने । सोच्दै गेटमा आइपुगेपछि सेन्ट्री बसेका सिपाईले सोधे कहाँ जान लागेको बाहिर जान मिल्दैन भन्दै फर्कन आदेश दिए । मलाई त्यहाँबाट जसरी पनि बाहिर निस्कनु छ । मैले मेरो बिरामी यहां हुनुहुन्छ । म एकछिन सामान लिन कोठामा जान लागेको भनेर ती सेन्ट्रीलाई भने उनीसँगै बसेको अर्को सेन्ट्रीले भने बाहिर त जाउ भाई आज यहाँ भित्र आउन मिल्दैन भोलि आउनु है भन्दै मलाई बाहिर पठाइदिए ।

म त्यहाँबाट बाहिर निस्केर कालिमाटीमा छोडेको मोटरसाईकल लिएर कार्यालय पुगें । साथी किसोर म भन्दा पहिला नै कार्यालय आइसक्नु भएको रहेछ । मैले अस्पतालमा देखेको कुरा नाइटडेक्समा बस्ने डा. महेन्द्र बिष्ट र राजेश बज्रार्चायलाई सुनाए । उहाँहरुपनि के गर्ने के नगर्ने भन्ने बारेमा अलमलमा हुनुहुथ्यो । उता स्व. पुस्करलाल श्रेष्ठ सरले अस्पतालको अवस्थाको बारेमा जानकारी गराइरहनु भएको रहेछ । हामी घटना कसरी र कस्ले गरायो होला भनेर सोधी खोजीमा थियौं ।

नेपाल प्रहरीको निवासमा बस्ने एक जना घले थरका प्रहरी निरीक्षकलाई फोन लगाए उहाँसँग के कुरा गर्न खोजेको थिए उहांले रिसाएर भन्नुभयो फोन राख्नुस । त्यसपछि हाम्रो सम्पादकीय टिमको छलफल भयो । राजा रानी रहेनन दरवारमा गोली चल्यो । सविधानले के व्यवस्था गरेको छ त्यसको बारेमा समाचार बनाउने ।

सम्पादक कपिल काफ्ले सरलाई घटनाको बारेमा सुनाएपछि उहाँले हामीले सिधैं त्यसरी समाचार दिन सकिदैन । मैले महेन्द्रजी र पुस्करसरसँग कुरा गरेको छु । तपाई संबिधान र तत्कालिन अधिकारकुमार ज्ञानेन्द्रको फोटो खोज्न थाल्नुस भन्नुभयो । म सविधान र ज्ञानेन्द्रको फोटो खोज्ने तर्फ लागें । कार्यालयमा सविधान पनि रहेन छ ज्ञानेन्द्रको फोटो पनि रहेछन ।

सोधी खोजी गर्ने क्रममा सविधान र ज्ञानेन्द्रको फोटो महानगरमा काम गर्ने दाई दिदी सापकोटासँग छ भन्ने थाहा पाएपछि म उहाँको निवास ठमेल तिर लागें कार्यालयका चालक प्रकास घिमिरे हुनुहुथ्यो । उहाँले गाडी निकाले हामी दरवार हुदै ठमेल जान लागेको दरवार अगाडिको सडकमा सेनाले घेरेको थियो ।

हामी त्यहाँबाट फर्किएर सन्चयकोष भवन हुँदै ददी सापकोटाको कोठमा पुगेर उहाँलाई बोलाउदा रातको १ बजिसकेको थियो । ढोका ढकढक्याएपछि उहाँले ढोका खोलेर ओइ यती राती किन त यहाँ आएको मैले दरवारमा भएको घटना सुनाउदा उहाँले मलाई त बौलाएको त होईन भन्दै गाली गर्नु भयो । मैले भने तपाईसँग सविधान र ज्ञानेन्द्रको फोटो छ रे दिनुस भने पछि उहाँकी श्रीमती अनुराधा दिदीले घटना भएर त दीपक आएको होला किन गाली गरिरहनु भएको सविधान र त्यो फोटो दिनुस भने पछी ददीदाईले सविधान र ज्ञानेन्द्रको फोटो दिएपछि म पुन कार्यालय आए ।

हामीले तयार पारेको समाचार डेक्समा बस्नु भएका डा. महेन्द्र बिष्ट र राजेश बज्रार्चायले हेरेर समाचार बनाउन थाल्नु भयो । हामीले

त्यो समाचारमा किशोरजी र मेरो वाइलाईन राखिदिन सम्पादक कपिल काफ्लेलाई बार बार अनुरोध गर्यो तर उहाँले मान्नु भएन । यस्तो संबेदनशील समाचार त्यसमा पनि दरवारको समाचारमा बाइलाईन राख्न हुँदैन भनेर भन्नुभएपछि हामी चुप लाग्नुको विकल्प थिएन ।

समाचार तयार भयो राजा–रानी सहित अधिराजकुमार ज्ञानेन्द्र सहितको तस्वीर राखेको ब्यानर समाचार तयार भयो । बिहान ५ः३० बजे पत्रिका छापिएर भूगोलपार्क पुर्याउदा पत्रिका खोसाखोसको अवस्था आएको थियो । जेठ २० गतेको नेपाल समाचारपत्रको फोटोकपी नै २ सय रुपियाँमा विक्री भएको थियो । नेपाली मिडियाले त्यो समाचार लेखेका थिएनन भने भारतीय मिडियाले अतिरन्जित गर्दै समाचार दिएका थिए । नेपाल समाचारपत्रमा छापिएको त्यो अन्तराष्ट्रिय समाचार एजेन्सीले त्यसैलाई आधार बनाएर समाचार बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्