बालेन–हर्कहरूलाई एक वर्षभित्रै राजीनामा गराउने अपराध सोचिँदै छ



काठमाडौं । 

अन्त जहाँसुकै जिते पनि राजधानीमा हारेका कारण राजनीतिक दलहरूले सर्वस्व हारेको अनुभूत गरेका छन् । उनीहरूलाई थाहा छ, स्वतन्त्र उम्मेदवार बालेन साहको जितले दलका दम्भी नेताहरू दाबी गर्ने गरिएजस्तो लोकप्रिय नभएको प्रमाणित भएको छ । पद, पावर र पैसाको बलमा मत पाइन्छ भन्ने आडम्बर चकनाचूर भएको छ । उनीहरूको असफलताका प्रमाण बनेर काठमाडौंमा बालेन साह, धरानमा हर्क साम्पाङ राई, जनकपुरमा मनोजकुमार साह र धनगढीमा गोपाल हमाल उभिएका छन् । दलले जनतालाई ढाँटेको जीवित प्रमाण अगाडि उभिएको देख्दा त्यसका आडम्बरी नेताहरू बौलाएका छन् ।

जनताको अमूल्य मतको सम्मान गर्दै नेताहरूले स्वतन्त्र बनेर विजय हासिल गरेका बालेन–हर्कहरूसँग सहकार्य गर्ने, उनीहरूलाई सघाउने र सफल पार्ने सोच राख्नुपर्ने थियो । तर, स्वतन्त्र जनप्रतिका कदम–कदममा खाल्डो खन्ने दुस्प्रयास उनीहरूबाट हुँदै छ । हिजो, बालेन–हर्कहरूको जमानत जफत हुन्छ, जिते भने नाङ्गै सडकमा दौडिन्छु, देश छोड्छुजस्ता दम्भी टिप्पणी गर्नेहरू यतिखेर ‘भेडाबाख्राको भोटले जितेको’ भनेर होच्याउन थालेका छन् । उनीहरूलाई भोट दिए सज्जन मानव हुने नदिए भेडाबाख्राजस्ता जनावर हुने विवेकहीन तर्क गर्न उनीहरूलाई लाज लागेन ।

अहिले उनीहरू ‘स्वतन्त्रहरू काम गर्न नसकेर बीचमै राजीनामा दिएर रुँदै हिँड्छन्’ भन्न थालेका छन् । यी यस्ता अभिव्यक्ति हुन् जसले दलका दम्भी नेता र कार्यकर्ताहरूको छातीभित्र बलेको ज्वाला देखाउँछ । उनीहरू साँच्चिकै मर्माहत भएका छन्– आफ्नो पराजय भएकोमा भन्दा पनि स्वतन्त्र उम्मेदवार जसले कसैलाई गाली नगरी चुनाव जितिदियो । दिनरात एक–आपसमा तुच्छ गाली र आरोप लगाएर नथाक्ने दलका नेताका प्रिय पात्रहरू स्थानीय निर्वाचनमा पराजित भए । कसैलाई गाली नगर्नेहरूले जिते । दलका नेताहरूको गालीगलौज शैली त पराजित भयो नि ।

दलका उम्मेदवारको पराजय उनीहरूकै व्यवहारका कारण भएको हो । जनतालाई आकाश–पातालका आश्वासन दिने, रेल र पानीजहाजका सपना देखाउने, समृद्ध नेपाल र सुखी नेपालीको कल्पना गराउने तर व्यवहारमा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने, महँगी बढाउने, योग्यलाई भन्दा कमिसन र चन्दा दिने व्यक्तिलाई कुर्सी दिलाउने व्यवहारका कारण दलका उम्मेदवारहरूले चुनाव हारेका हुन् । पद, पावर र पैसाले जे पनि हुन्छ भन्ने मान्यता पराजित भएको हो । निर्मला पन्तदेखि एयर बस, सुन, बालुवाटार जग्गा आदि काण्ड कहिल्यै नसुल्झाउने प्रवृत्ति असफल भएको हो ।

स्वतन्त्र उम्मेदवारले दलको यही व्यवहारलाई सिकाइको पहिलो पाठ बनाउनुपर्छ । धेरै नबोल्नुस्, धेरै आश्वासन दिने– यो पनि गर्छु, त्यो पनि गर्छु कहिल्यै नभन्नुस् । रोडम्याप बनाएर काम गर्नुस्, महिना, दुई महिना, तीन महिना, अर्धवार्षिक, वार्षिक समयावधि तोकेर के काम कसरी गर्ने भन्नुहोस्, अफिसमा क्यालेन्डर बनाएर वर्कप्लान र त्यसको प्रगति सार्वजनिक गर्नुहोस् । काम हुन नसके त्यसको कारण खुलाउनुहोस् ।

स्वतन्त्र उम्मेदवारका वरिपरि दुश्मन नै दुश्मन छन्, एक दलका लागि अर्को दल दुश्मन हुन्छ तर आफ्नो दलले बचाउँछ, प्रतिरक्षा गर्छ, तर स्वतन्त्र उम्मेदवारका समर्थक मतदाता जनता हुन् जो दिनदिनै कार्यक्षेत्रमा उपस्थित हुँदैनन् । त्यसैले पारदर्शी ढंगले काम गर्नैपर्छ र स्वतन्त्र उम्मेदवारका समर्थक समूहले पनि कम्तीमा एक वर्षसम्म संगठित रूपमै उनीहरूलाई सघाउनुपर्छ । आफ्नो उम्मेदवारले म एक्लो भएँ भन्ने हीनताभाव कहिल्यै ग्रहण गर्नु नपरोस् !

काठमाडौंको सम्बन्धमा भन्दा वर्कप्लानको पहिलो विषय फोहोरमैलाको व्यवस्थापन हुनैपर्छ । अर्को कुरा सुरक्षा हो । छोरीहरू रात–साँझ बाहिर निस्कन डराउने अवस्थाको अन्त्य गर्न सकियो भने उनीहरूको अधिकारको रक्षा हुन्छ, मानवअधिकारको संवद्र्धन हुन्छ, मानव विकासमा योगदान पुग्छ । फेरि दोहो-याउँछु, धेरै नबोल्नुस्, धेरै आश्वासन नबाँड्नुस्, तपाईंलाई आरोप लगाउन, भ्रष्टाचारी सावित गर्न साइत हेरेर बस्नेहरू वरिपरि छन् । यस्ता गलत कार्य गर्ने काममा उनीहरूको लामो अनुभव पनि छ । सावधान !

राजनीतिक दल र त्यसका नेताहरूलाई सुझाव छ, स्थानीय निर्वाचनमा गठबन्धन गरेर उम्मेदवारी दिने जुन गल्ती तपाईंहरूले गर्नुभयो, आगामी संघीय निर्वाचनमा कृपया नदोहो-याउनुहोला । दलीय व्यवस्थाको मर्म हो दलले अंगीकार गरेको दर्शन ।

हामीकहाँ धेरै दल छन् भन्नुको अर्थ हो, धेरै विचार र सिद्धान्तको उपलब्धता, जनताका लागि नेतृत्व छान्ने विकल्प । तर, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा भिन्नाभिन्नै सिद्धान्त र दर्शन बोकेका दल हुन्, उनीहरू मिलेर उठ्दा मतदाताले कुन विचारका लागि मत दिने ? बहुदलीय व्यवस्थाको मर्ममै प्रहार गर्न तपाईंहरूलाई कुन नैतिकताले दियो ?हो, भोलि सरकार बनाउँदा तपाईंहरू निश्चित लक्ष्य र कार्यक्रमका लागि गठबन्धन बनाउनुस्, केही छैन तर हामी बहुदलीय व्यवस्थाको दर्शनलाई स्वीकार गरेर आएका मतदातालाई धर्मसंकटमा पार्ने काम तपाईंहरूबाट अब फेरि नहोस् ।

वास्तवमा स्थानीय निर्वाचनमा दल नै चाहिएको थिएन । क्यानडालगायत विश्वका कतिपय मुलुकमा स्थानीय निर्वाचन दलीय संगठनका आधारमा गरिन्न, विकास–निर्माणका मुद्दामा आधारित भएर र स्थानीय समस्यालाई कसरी कसले सम्बोधन गर्ने भन्ने कुराका आधारमा कसलाई जिताउने भन्ने हुन्छ ।

त्यसैले तपाईंहरू मिलेर उठे पनि जनताले दलभन्दा व्यक्ति हेरे भनेर केही हदसम्म चित्त बुझाउँला, तर नीतिनिर्माणका लागि हुने संघीय निर्वाचनमा दलीय गठबन्धन कदापि स्वीकार्य हुनेछैन । जनताको अधिकार खोस्नुभयो भने त्यसको घातक परिणाम तपाईंले त भोग्नु नै पर्नेछ, सिंगै मुलुकले भोग्नेछ । दलीय व्यवस्था कमजोर हुनेछ ।

प्रदेश सरकारको यही अवस्था हो भने, यो मुलुकका लागि बोझ सावित हुँदै छ । यसले जसरी सरकार बनाउन र ढाल्नका लागि मन्त्रालयहरू थप्ने र मन्त्रीका लागि बुलेटप्रुफ गाडी किन्ने खर्चालु र संवेदनाहीन आचरण देखायो, त्यसपछि यसमाथि प्रश्न चिह्न लागिसक्यो । संघ र स्थानीय सरकार मात्र भए मुलुकले के गुमाउँछ के पाउँछ भन्ने बहस शुरू भइसकेको छ । प्रदेशले संघलाई ओझेलमा पार्ने गरी काम गर्न सक्नुपर्छ, तब मात्र प्रादेशिक सरकार स्वीकार गर्न सकिन्छ । अहिले त केन्द्रले प्रदेशलाई हेर्नुपरेको छ ।

छिमेकी भारतको कोलकाता शहरमा बोटानिकल गार्डेन छ, त्यहाँ एउटा विशाल वरको रूख छ । हाँगाबाट झरेका जराका कारण रूखले ओगटेको जमिन आधा किलोमिटरभन्दा बढी छ । अहिले हेर्दा मूल कहाँ हो पत्ता लाग्दैन । रूख बचाउन मूलको संवद्र्धन गर्नुपर्छ भन्ने पनि देखिन्न । हामीले प्रदेश सरकारले काठमाडौंको मूललाई छायामा पारोस् भन्ने सोचेका थियौं, तर यहाँ त मूलले नै शाखाहरूलाई थेगिरहनुपरेको छ । त्यसो भए नसकी नसकी किन पालिरहने प्रदेशलाई ?
(प्रस्तुतिः कपिल काफ्ले)

प्रतिक्रिया दिनुहोस्