रौतहटको वृन्दावन नगरपालिकामा कांग्रेसको परिणाम शून्य, वडासदस्य पनि सकेन जित्न



रौतहट । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाको वृन्दावन नगरपालिकामा नेपाली कांग्रेसको परिणाम शून्यमा सिमित भएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले यस नगरमा विजयी हासिल गरे पनि जनमुखी कार्य सम्पादन गर्न नसक्नुले यसपटक शून्यमा सिमित भएको हो ।

२०७४ को निर्वाचनमा वृन्दावन नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल फजुल खर्च गरेको स्थानीयको आरोप छ । उनीहरु भन्छन्, ‘यस नगरका गरिब, दलित, अल्पसंख्यक र सीमान्तकृत नागरिकको उत्थान र नगरको समग्र विकास निर्माणमा जनप्रतिनिधिहरु चुकेपछि यसपटकको निर्बाचनमा पराजय भोग्नु परेको हो ।’

अघिल्लो स्थानीय तह निर्वाचनमा यस नगरपालिकामा प्रमुख, उपप्रमुखसहित ५ वडा र २२ वटा वडासदस्य जितेको कांग्रेसले यसपटकको स्थानीय तह निर्वाचनमा एउटा सदस्य पनि जित्न सकेन । अघिल्लो निर्वाचनमा २० जना कार्यपालिका रहेको यस नगरपालिकामा १५ जना कांग्रेसका मात्रै थिए ।

रौतहटको क्षेत्रनम्बर ४ अन्तर्गत पर्ने वृन्दावन नगरपालिकालाई कांग्रेसले आफनो आधार क्षेत्रको रूपमा अथ्र्याएको थियो । तथापि यसपटकको निर्वाचनमा एउटा सदस्य पनि जित्न नसकेपछि विगतको विरासत जोगाउनुको साटो उल्टै पुरानो साखसमेत गुमाएको छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसको ४ नम्बर क्षेत्रीय सभापति रामस्नेही राय यादव नगरप्रमुखमा विजयी भएका थिए । उपप्रमुखमा पनि कांग्रेसकै नुरजहान विजयी भएका थिए । यसपटकको निर्वाचनमा उनीहरु दुवै पराजित भएका छन् ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्ण यादवले वृन्दावन नगरपालिकाको परिणामले आफुलाई आश्चार्य बनाएको बताए । संगठन बलियो रहँदारहँदै पनि पराजय व्यहोर्नु परेकोले यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

यसपटकको निर्वाचनमा नेकपा (एमाले)बाट विभाजन भएको दल नेकपा (एकीकृत समाजवादी)का विनोदप्रसाद कुर्मी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्