सबै वडामा महिला सेल र मेलमिलाप केन्द्र गठन

उपमेयर डंगोलको दुई निर्णय



काठमाडौं । 

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सोमबार पदबहाली गर्दै उहाँले दुईवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले पहिलो निर्णयको रूपमा सबै वडामा महिला सदस्यको संयोजकत्वमा महिला सेल गठन गर्ने र सो सेललाई महिलाका मुद्दा, विवादका विषय संकलन गर्ने र विवाद समाधान गर्नेसम्मको अधिकार दिनुभएको छ ।

त्यस्तै, उहाँको दोस्रो निर्णय सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडाबाटै मेलमिलापको व्यवस्था मिलाउने रहेको छ । उपमेयर डंगोलले दुईवटा निर्णयमा हस्ताक्षर जानकारी दिँदै कामपाका सूचना अधिकारी वसन्त आचार्यले दुवै निर्णय कार्यान्वयन गर्न सम्बन्धित वडा कार्याललाई निर्देशन दिइने बताउनुभयो ।पदवहाली गर्दै उपमेयर डंगोलले भन्नुभयो–‘जो जुन दलबाट आए पनि वा स्वतन्त्रबाट आए पनि अब हामी टिम वर्कमा काम गर्छौं ।

अब व्यक्तिको सफलता असफलता पछाडि लाग्ने होइन । संस्थाको सफलता हुनुपर्छ । काठमाडौं महानगरपालिका सफल भए महानगरका जनता सफल भएको हो । यसैको लागि हामी अघि बढ्नेछौं ।’पद बहालीपछि पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचनका बेलामा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न बजेटको व्यवस्था गर्ने बताउनुभयो । कानुनले दिएको अधिकार प्रयोग गरी काम गर्ने जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘राजनीतिलाई फोहोरी खेल बनाउन लाग्नुभन्दा पनि सहकार्य, सहमति र सहअस्तित्व पूरा गर्नेछु ।

महानगरवासीका लागि स्वच्छ, सुन्दर, हराभरा र जीवन्त महानगर, व्यवस्थित र सांस्कृतिक महानगर बनाउन पाइला चालिरहने प्रतबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो – ‘सहकार्य गरेर अघि बढ्नेछु । टिमलाई नै सहयोग गर्नेछु । टिमबाट सहयोग पाउनेछु ।

प्रतिक्रिया दिनुहोस्