स्थानीय तह निर्वाचनमा बालबालिका प्रयोगका १ सय १५ घटना: सिजप



काठमाडौं  । 

स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निवार्चनमा वालबालिकाको प्रयोग भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सिजपले निर्वाचनका क्रममा बालबालिकाको प्रयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेका १ सय १५ घटना संकलन गरी प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनमा सबैभन्दा बढी अर्थात् ९९ वटा घटना निर्वाचनको प्रचारप्रसारमा प्रयोग गरिएको, ११ वटा घटना विजय जुलुसमा लगिएको, २ वटा घटना शिक्षकको निर्वाचन प्रचारमा लागेको, अर्को २ वटा घटनामा स्कुल बस प्रयोग गरिएको र एक घटना विद्यालय परिसरमा निर्वाचनका कार्यक्रमको आयोजना गरिएको उल्लेख छ ।

दलगत रूपमा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा सबैभन्दा बढी नेकपा एमाले रहेको छ । प्रतिवेदनमा सो पार्टीले ४२ , नेपाली कांग्रेसको ३५, नेकपा एकीकृत समाजवादीले २०, नेकपा माओवादी केन्द्रले १५, राप्रपाले छ, जनता समाजवादी पार्टीले २ र स्वतन्त्र उम्मेदवारले ६ पटक निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

स्थानीय निर्वाचन आचारसंहिता २०७८ मा १८ वर्षमुनिका बालबालिकालाई निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा प्रयोग गर्न नपाइने र त्यस्तो गरेको पाइएमा ७५ हजार रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ ।

सिजपका अध्यक्ष राजेश शर्माले उजुरीका आधारमा दुईवटा घटनामा आयोगले निर्देशनात्मक आदेश जारी गरेको बताउँदै आगामी निर्वाचनमा बालबालिकाको प्रयोगलाई शून्य बनाउन खबरदारी र सचेतना अभियान आवश्यक पर्ने बताउनुभयो । निर्वाचन आयोगले बालबालिका प्रयोग नगर्न आचारसंहिता बनाएको थियो । निर्वाचनमा बालबालिका प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी दिए तापनि आयोगले कारबाही भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्