१४ हजार ४ सय महिला निर्वाचित



काठमाडौं । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकामा सो संख्यामा महिला निर्वाचित भएका हुन् । तीनवटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् ।

तीमध्ये झापाको गौरीगन्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो ।सोहीअनुसार दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै जनाले कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

त्यस्तै, कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुखले कांग्रेसबाट र उपप्रमुखले एमालेबाट उम्मेदवारी दिनुभएको थियो ।
प्रदेश १ मा ८ हजार १ सय ९६ उम्मेदवार भएकोमा २ हजार ४ सय ५५ जना महिला निर्वाचित भएका छन् । त्यस्तै, मधेस प्रदेशमा १५ हजार ७ सय ८० उम्मेदवार रहेकोमा २ हजार ७ सय ७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार वागमती प्रदेशमा ८ हजार ३ सय ४४ महिला उम्मेदवार रहेकोमा २ हजार ३ सय ४७ जना निर्वाचित हुनुभयो ।

त्यसै गरी गण्डकी प्रदेशमा ४ हजार ६ सय ४९ महिला उम्मेदवार रहेकोमा १ हजार ६ सय २२ जना निर्वाचित हुन सफल भएका छन् । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७ सय ६७ महिला उम्मेदवार रहेकोमा २ हजार १ सय २४ जना निर्वाचित हुन सफल भए । आयोगका अनुसार कर्णाली प्रदेशमा ४ हजार ८ सय ७८ महिला उम्मेदवार रहेकोमा १ हजार ५ सय २४ निर्वाचित भए । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकोमा १ हजार ५ सय ६० जना निर्वाचित भए ।

देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । आयोगको तथ्यांकअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ । त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो । त्यसै गरी सप्तरीको सुरुङा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै, रौतहटको इशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो ।यसै गरी सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलान्चोकको चौंरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागार्इं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल, सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारू), निर्वाचित हुनुभएको छ ।

यसैबीच, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै, पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ ।त्यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो ।

त्यस्तै, दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ ।आयोगको हालसम्मको तथ्यांकअनुसार दलित महिला सदस्यमा १ सय २३ स्थानीय तह खाली रहेको छ । त्यस्तै १ जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । त्यस्तै, ४ वटा पालिकाको परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्