पार्वतीको जन्मभूमि पाङबाट राजनितीमा यसरी उदाइन स्वस्थानी



पर्वत ।

सिताको जन्मभूमि जनकपुर जस्तै माता पार्वतीको जन्मभूमिको रुपमा विश्वास गरिदै आएको ठाउँ हो पर्वतको कुस्मा नगरपालिका – १ पाङ । हिमालयपुत्री पार्वतीको जन्म भएको पाङलाई पवित्र भूमि र ज्योतिष विद्याको केन्द्रको रुपमा पनि लिइन्छ । जनकपुर जसरी सिता जन्मभूमिको रुपमा प्रसिद्ध छ पार्वतीको जन्मभूमि पाङ भने सधै ओझेलमा छ ।

धार्मिक र पर्यटकीय संभावना बोकेको पाङ जसरी ओझेलमा परेको छ, पर्वतको राजनितीमा पनि पछाडी पारिदै आएको छ । पर्वतमा सबैभन्दा बढी मतदाता रहेको पाङबाट उठेको नेतृत्वले जिल्ला र कुस्मा नगरमा नेतृत्व गर्ने अवसर कमै पाएका छन । अहिले सम्म अरुलाई मत दिएर जिताउँदै आएको त्यही पाङमा बुहारीको रुपमा भित्रनुभएकी स्वस्थानी रिजाल भने अहिले कुस्मा नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको छ । ओझेलमा परेको पाङबाट कुस्मा नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि स्वस्थानीको चर्चा चुलिन थालेको छ । ‘माता पार्वतीको जन्मभूमिबाट उदाउँदै गरेकी नेतृ’ को रुपमा गाउँलेले भब्य स्वागत र सम्मान पनि गरेका छन । पाङका जनताले दिनभर मात्रै होइन राती १० बजे सम्म नै बाजागाजा र अबिरजात्रा सहित रिजाललाई गाउँ परिक्रमा गएर खुसी साटेका हुन ।
नेकपा(एमाले)को तर्फबाट गठबन्धनका उमेदवारलाई पराजित गर्दै स्वस्थानी रिजाल उपमेयर पदमा निर्वाचित हुनुभएको हो । गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका रामचन्द्र जोशी ७ सय ९८ मतान्तरले विजयी हुँदा एमालेकी रिजालले गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा माओबादी केन्द्रका शंकर गिरीलाई ८ सय १० मतान्तरले पराजित गर्न सफल हुनुभयो । नेकपा(एमाले) कुस्मा नगर कमिटीकी उपसचिब रिजाल सहित एमालेले नगरसभामा बहुमत सदस्य जितेको छ । ‘पाङबाट पहिलो पटक कुस्मा नगरको नेतृत्वमा पुग्ने अवसर प्राप्त भएको छ ।’ एमाले कुस्मा नगरपालिका १ का वडा कमिटी अध्यक्ष केदारप्रसाद पौड्यालले भन्नुभयो ‘हामी यस अघि सम्म सबैका लागि भोट ब्यांक थियौ, यस पटक आफैले नेतृत्व गर्ने अवसर पाएका छौ।’

स्थानिय पाङ धैरेनी माबिको दुई बर्ष अघि बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चुनिएपछि स्वस्थानी रिजाल सामाजिक र शैक्षिक सुधारको अभियानमा जोडिनु भएको थियो । छोटो समयमा नै आफ्नो नेतृत्वमा बिद्यालयमा भौतिक र शैक्षिक सुधार गरेर बिद्यालयलाई नमुना बनाउन सफल भए संगै उहाँ राजनैतिक रुपमा पनि क्रियाशिल हुन थाल्नुभएको थियो ।

बिद्यार्थी छदै अनेरास्वबियुबाट राजनिती शुरु गर्नुभएकी रिजाललाई कुस्मा नगरकमिटीका उपसचिब बनेपछि नै उहाँलाई पार्टी कार्यकर्ताले कुस्माको भावी उपमेयर पदको उमेदवारको रुपमा चर्चा गर्न थालिसकेका थिए । लोकप्रिय मतका साथ उपमेयर चुनिएपछि उहाँले ठुला पुर्वाधारका योजना संगै महिला हिंसा न्युनीकरण, आमा सुरक्षा कार्यक्रम तथा बिद्यालयको आधारभूत तह देखि नै शैक्षिक सुधारका योजनाहरु अघि बढाउने योजना बनाउनुभएको छ । न्यायिक समितिलाई क्रियाशिल बनाउँदै टोलटोलमा मेलमिलाप समिति बनाउने, सुत्केरी र दुर्गम क्षेत्रका बासिन्दालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्