सम्झनलायक विजय जुलुस



हेटौंडा ।

‘गुरु गुड, चिनी चेला’ भनिन्छ । हार्ने गुरु, जित्ने चेला । हेटौंडा–५ को चुनावी प्रतिस्पर्धामा वडाध्यक्षमा पराजित नेपाली कांग्रेसका ह्यग्रिब आचार्यलाई विजेता एमालेका सुशील घिमिरेले काँधमा बोकेर विजय जुलुसमा हिँडेको रोचक दृश्यले स्थानीयको मन जितेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को अध्यक्षमा एमालेका घिमिरेको प्यानल नै विजयी भएको थियो । घिमिरे २ हजार ५ सय ३० मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । बक्सिङको अन्तर्राष्ट्रिय खेलमा पदक विजेता घिमिरे स्थानीय पिप्ले युवा क्लबको अध्यक्षसमेत हुनुहुन्छ ।

समाजसेवीको परिचय बनाउनुभएका घिमिरेले पिप्लेमा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्नुका साथै करिब डेढ करोड लागतमा पिप्ले क्याम्पा रंगशाला जनस्तरबाट निर्माण गर्न अगुवाइ गर्नुभएको थियो । उहाँ हेटौंडाका लोकप्रिय युवा अभियन्ता हुनुहुन्छ । अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका आचार्यले १ हजार ३ सय ९०, स्वतन्त्रका विशालराज महतले ४ सय २ र राप्रपाका रामकृष्ण श्रेष्ठले ३ सय २५ मत प्राप्त गर्नुृभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

वडा सदस्यहरुमा ज्ञानबहादुर थापामगर (२ हजार ७ सय ३), रामबहादुर राई (२ हजार १३ सय ३), महिला सदस्यमा रञ्जिता सिलवाल (२ हजार ३ सय ५३) र दलित महिला सदस्यमा भगवती विक (२ हजार २ सय ५४) विजयी हुनुभएको छ ।
जसले आफैंलाई दिएनन् भोट

हेटौंडाको मेयरमा उम्मेदवारी दिएका ३ उम्मेदवारले आफूले आफैंलाई नै मतदान गरेनन्, उनीहरूको शून्य मत आएको छ । जसमा नेकपा (एकीकृत समाजवादी)का रोमनाथ भुर्ते, स्वतन्त्रबाट प्रदीप ढकाल र सञ्जय खरेल छन् । मेयरमा मौलिक जरोकिलो पार्टीकी सिर्जना बर्तौलाले ८५ मत, उन्नत लोकतन्त्र पार्टीका अयोध्याकुमार भट्टराईले ३९ मत, नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंहले ३४ मत, मालेका केशव घर्तीले २४ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सञ्जीव खरालले १० मत र सचेत नेपाली पार्टीका रामप्रसाद गौतमले ७ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मेयरमा स्वतन्त्रबाट बढी मत ल्याउनेमा लीलाकुमारी आचार्य र देवराज पौडेल हुनुहुन्छ । उहाँहरु क्रमशः ५८ र ४० मत पाउन सफल बन्नुभएको छ । स्वतन्त्रबाट मेयरमा उत्तरकुमार दुलालले ४ मत, पुरुषोत्तम रुपाखेतीले ४ मत, विश्वनाथ पाण्डेले २ मत र कविराज पाठकले १ मत पाउनुभएको हो ।

हेटौंडाको अन्तिम मतपरिणामअनुसार मीना लामा विजयी हुँदै हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रच्नुभएको छ । उहाँले एमालेका अनन्त पौडेललाई पराजित गर्दै २३ हजार ७५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी पौडेलले २० हजार ९ सय ८ मत ल्याउनुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत पाउनुभएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बन्दा निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत र तेस्रो स्थानकी राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८६ मत ल्याउनुभएको थियो ।

वागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगपालिकाको नेतृत्वमा महिला पुगेको यो नै पहिलोपटक हो । प्रदेशको योमात्र एक उपमहानगरपालिका हो । मुलुकमा रहेका ११ उपमहानगरपालिकामध्ये सम्भवतः महिलाले नेतृत्व गरेको योमात्र एक उपमहानगरपालिका हो । उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्