एक्लाएक्लै प्रतिस्पर्धा गर्दा काभ्रेमा एमाले पहिलो दल



काभ्रे । 

स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा एमालेले प्रमुख पदमा ६८ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो । एमालेले थपिएका मतदातामाझ एक्लै प्रतिस्पर्धा गर्दा जिल्लामा १६ हजार ६ सय ८ मत बढाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले ८५ हजार २ सय ५५ मत प्राप्त गरेको छ ।

गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, मधेसवादी दलहरुसमेतको कूल मत जिल्लामा १ लाख ६ हजार २ सय १० मत रहेको छ । एमालेको भन्दा गठबन्धनको मत २० हजार ९ सय ५५ मात्रै धेरै छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एमाले जिल्लाको पहिलो शक्ति बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६८ हजार ६ सय ४७ रहेको थियो भने कांग्रेसले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६३ हजार १ सय ३९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, माओवादीले प्राप्त गरेको कुल मत प्रमुख पदमा २९ हजार २ सय ७५ रहेको छ । २०७९ सालमा गठबन्धनको मत प्रमुख र अध्यक्ष पदमा १ लाख ६ हजार २ सय १० मत प्राप्त छ । उपप्रमुख र उपाध्यक्ष पदमा ९७ हजार ३९ रहेको छ । एमालेको मत प्रमुख र अध्यक्ष पदमा ८५ हजार २ सय ५५ रहेको छ भने उपप्रमुख र उपाध्यक्ष पदमा ८१ हजार ७ सय ३ रहेको छ ।

खुम्चियो सिट, थपियो मत

२०७४ सालमा एमालेले १ सय ३५ वडामध्ये ५६ वडामा विजय प्राप्त गरेको थियो । एमाले फुटेको र गठबन्धनका कारण एमालेले मत बढाए पनि सिट संख्या घटाएको छ । प्रमुख र उपप्रमुख गरी १४ सिट प्राप्त गरेको एमालेले ४ सिटमा चित्त बुझाउनुपरेको छ । ४३ वडामा विजय प्राप्त गरेको एमालेले १३ वडा गुमाएको छ ।

७ सय १ मध्ये २ सय ४५ सिटमा एमालेले एक्लै विजय प्राप्त गरेको छ । २०७४ मा विजयी भएको वडाहरुमा पराजय भोगेको भए पनि नयाँ वडामा एमालेले पकड जमाएको छ । रोशीमा गोलाप्रथामा एउटा वडामा पराजय भोगेको एमालेले खानिखोलामा एक मतले पराजय भोगेको थियो । पनौती–१२ मा एमालेले ६ मतले पराजय व्यहोरेको छ । कोशीपारिको चौरीदेउरालीमा पनि एमालेले थोरै मतान्तरले पराजय व्यहोरेको छ । टिकट वितरणका कारण एमालेले केही स्थानमा पराजय व्यहोरेको नेकपा एमाले काभ्रेले निष्कर्ष निकालेको छ ।

कांग्रेसले २०७४ मा ४९ वटा वडामा विजय प्राप्त गरेको थियो । ४ वटा पालिकामा ८ सिट जितेको कांग्रेसले योपटक १३ सिटसहित ६१ वडामा विजय प्राप्त गरेको छ । गठबन्धनका कारण कांग्रेसले धेरै लाभ उठायो । ७ सय १ सिटमध्ये कांग्रेस ३ सय १६ सिटमा विजय भएको छ । गठबन्धनको लाभ माओवादीले पनि प्राप्त गरेको छ । २ वटा पालिकामा ४ सिट र २३ वटा वडामा माओवादी विजयी भएको थियो । गठबन्धनका कारण माओवादीले ४ वटा पालिकामा ७ सिट र २४ वटा वडामा विजय हासिल गरेको छ । माओवादीले कुल १ सय ११ सिटमा विजय हासिल गरेको छ । कांग्रेस र माओवादी दुवैले विगतमा जितेका वडाहरुमा पराजय व्यहोरेको छ भने नयाँ वडाहरुमा विजय हासिल गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले एक पालिकामा प्रमुख र ४ वटा वडामा विजय हासिल गरेको छ । कुल प्राप्त गरेको २१ सिटमा पनि गठबन्धनले सघाएको छ । राप्रपा नेपालले १ एउटा वडामा मात्रै विजय हासिल गरेको छ । २०७४ मा एमालेले ५६, कांग्रेसले ४९, माओवादीले २३, राप्रपाले ३, फोरम २, स्वतन्त्र २ जनाले वडामा विजय हासिल गरेका थिए । २०७९ मा एमालेले ४३, कांग्रेसले ६१, माओवादीले २४, समाजवादीले ४, स्वतन्त्र २ र राप्रपाका १ जनाले वडामा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्