पदभारसँगै जनमुखी निर्णय सार्वजनिक गर्दै पालिका प्रमुखहरू



 स्याङ्जा ।

वालिङका नवनिर्वाचित नगर प्रमुख कृष्ण खाँणले एक वर्षमा शल्यक्रिया कक्ष (सीएस) सेवाको सञ्चालन र दुईवटा ग्रामीण सडक स्तरोन्नति गर्ने पहिलो निर्णय गर्नुभएको छ । उहाँले पदभार ग्रहणपछि सो निर्णय गर्नुभएको हो ।

प्रमुख खाँण र उपप्रमुख कविता तिवारीले धार्मिक विधिअनुरूप पूजाआजा गरेर सोमबार पदभार ग्रहण गर्नुभएको थियो । नगरप्रमुख खाँणले सीएस सेवा नहुँदा यहाँका जटिल अवस्थामा रहेका गर्भवतीले जिल्ला अस्पताल स्याङ्जा, पाल्पा, पोखरा जानुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गह्रौ प्राथमिक अस्पताल वालिङमा एक वर्षभित्र सीएस सेवा सुरु गर्नेछौं ।’ यसै गरी, दुर्घटना घटाउने उद्देश्यले वालिङ–१२ डाँडाखर्क र वालिङ–१४ अर्खलबासको ग्रामीण सडक स्तरोन्नति गर्ने निर्णय भएको छ ।

यी दुवै ग्रामीण सडकमा गत वैशाखमा दुर्घटना हुँदा ६ जना र निर्वाचनका दिन वैशाख ३० गते मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । उक्त घटनाका ९ जना घाइते अझै उपचाररत छन् । पदवहालीसहितका अन्य कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले सहजीकरण गर्नुभएको थियो ।यसै गरी, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले ग्यास चुल्होसँग इन्डक्सन चुल्हो साट्ने निर्णय सार्वजनिक गर्नुभएको छ । जनताले आफ्नो घरमा रहेको ग्यास चुल्हो गाउँपालिकामा ल्याएर बुझाउने तथा गाउँपालिकाले बिजुलीबाट चल्ने चुल्हो दिने भएको हो । यसबाट आर्थिक वचत हुने तथा सस्तो विद्युत्को सदुपयोग हुने अपेक्षा गरिएको छ ।

जिल्ला सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो । रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भई पहिलो निर्णयका रूपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । ‘स्याङ्जा जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तार र ‘ब्लड बैंक’ स्थापनालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको छ’, नगरप्रमुख रेग्मीले भन्नुभयो– ‘सार्वसाधारणमा स्वास्थ्यको सहज पहुँचका लागि थालिएको अभियानलाई पूर्णता दिने गरी कामको शुरुआत गरेका हौं ।’

हाल सञ्चालनमा रहेको डायलासिस सेवालाई विस्तार र प्रभावकारी ढंगबाट सञ्चालन गर्ने, ‘ब्लड बैंक’ स्थापना गरी सहजरूपमा रगत उपलब्ध गराउने कार्यका लागि आर्थिक वर्ष २०७८-७९ को विपद् व्यवस्थापन कोषबाट रु १० लाख निकासा गर्न लागिएको छ । डायलासिस सेवालाई विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधार निर्माण गरिने भएको छ । जिल्ला अस्पतालमा हाल नियमितरूपमा १२ मृगौलाका बिरामीलाई डायलासिस गरिँदै आएकोमा त्यसलाई विस्तार गरी ४५ जनालाई सेवा उपलब्ध गराउने गरी आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न लागिएको छ ।

सेवा थप विस्तार भएसँगै मिर्गौलाका बिरामीलाई डायलासिस गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनाका साथै जिल्ला अस्पतालमा शल्यक्रियामार्फत हुने सुत्केरी सेवा र अन्य बिरामीलाई अत्यावश्यक पर्ने रगत सहजरूपमा उपलब्ध गराएर रगतको अभावमा अकालमै मृत्यु हुनबाट रोक्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यता फेदीखोला गाउँपालिकाले प्राविधिक शिक्षाका बिद्यार्थाीहरुलाई पूर्ण छात्राबृत्ति दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्