स्थानीय निर्वाचनमा धराैटी गुमाउनेकाे लहर



हेटौंडा/ लमजुङ ।

स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट मेयरमा विजयी उम्मेदवार विष्णुबहादुर विष्ट र नेकपा एमालेका उम्मेदवार अच्युतम् प्रसाद ढकालबाहेक हेटौंडाको थाहा नगरका सबै उम्मेदवारको धरौटी जफत भएको छ ।

निर्वाचन आयोगका अनुसार कुल खसेको मतको १० प्रतिशत मत प्राप्त नगर्ने दल तथा उम्मेदवारको धरौटी जफत हुने गर्दछ । थाहा नगर प्रमुख र उपप्रमुखमा कुल २३ हजार ३३ मत खसेकोमा मेयर पदका उम्मेदवारहरू राष्ट्रिय जनमोर्चाका उम्मेदवार शुभराज गोलेले ४ सय ६२, मंगोल नेसनल अर्गनाइजेसनका राजकुमार गोलेले २ सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका बसुन्धरा पुडासैनीले १ सय ९१ र वीरबहादुर भोम्जनले ८८ मात्र मत प्राप्त गर्नुभएको धरौटी जफत भएको हो । उपमेयर पदका उम्मेदवार राप्रपाका नवीन रायमाझीको पनि धरौटी जफत भएको छ । उहाँले २ सय ५४ मत मात्र प्राप्त गर्नुभएको थियो ।

थाहा नगरपालिकाको वडा नं. ८ मा कुल २ हजार ३ सय ९९ मतदाता रहेकोमा १ हजार ६ सय ९३ मत खसेको थियो । जसअनुसार धरौटी जोगिन वडा अध्यक्ष तथा सदस्यले कम्तीमा १ सय ७० मत ल्याउनुपर्ने हुन्छ । तर, नेपाली कांग्रेसका उम्मेदवार रामकुमार घलानले २८ मत मात्र प्राप्त गरेकोले उहाँको धरौटी नै जफत हुन पुगेको हो ।

वडा अध्यक्षहरूमा वडा नं. २ मा एमाले, माओवादी र कांग्रेसबाहेक अन्य सबै दलका उम्मेदवारहरूको धरौटी जफत भएको छ । राप्रपाका तर्फबाट अध्यक्ष उम्मेदवार कुलमान तमाङले १२, मंगोल नेसनल अगनाइजेसनका सुनिल लो (तामाङ) ले ५ र नेकपा (एकीकृत समाजवादी) का वीरबहादुर तामाङले २ मत प्राप्त गरी धरौटी गुमाउनुभएको छ ।

वडा नं. ३ मा राप्रपा उम्मेदवार प्रमोद केसी ३४ मतमा सीमित रहँदा धरौटी जोगाउन सक्नुभएन भने वडा–४ मा पनि राप्रपाका अक्रोज केसीले ९ र वडा नं. ५ मा नेपाः राष्ट्रिय पार्टीका पूर्णबहादुर थिङ (तामाङ) ले २ मत मात्र प्राप्त गरी धरौटी गुमाउनुभएको छ ।वडा नं. ६ मा राप्रपाका श्यामकृष्ण ढुंगानाले १० मत र नेकपा (एकीकृत समाजवादी) का ईश्वरलाल रुम्बाले ८ मत पाएर धरौटी गुमाउँदा थाहा–७ मा जनता समाजवादी पार्टीका इन्द्रकुमार ठकुरीले १५, राप्रपाका विश्वनाथ गर्तौलाले ९ र मंगोल नेसनल अर्गनाइजेसनका दीपक स्यांतानले ५ मत प्राप्त गरी धरौटी गुमाउनुभएको छ ।

वडा नं. ९ मा राप्रपाका पुण्यमान बलामीले ४८ र स्वतन्त्र उम्मेदवार सरोजकुमार रेग्मीले १६ मत प्राप्त गरी धरौटी गुमाउनुभएको छ । त्यस्तै, वडा नं. ११ मा राप्रपाका पोष्टबहादुर मोक्तानले १३ र सुरज बल (तामाङ) ले ३४ मत प्राप्त गरी धरौटी गुमाउनुभएको छ् ।आयोगमा उम्मेदवारी दर्ता गर्दा नगर प्रमुख र उपप्रमुखलाई १ हजार ५ सय, वडा अध्यक्षलाई १ हजार र सदस्यलाई ५ सय धरौटीवापत् शुल्क लाग्दछ । तर, महिला उम्मेदवारका लागि भने धरौटीवापत् शुल्कमा ५० प्रतिशत छुट गरिएको थियो ।यसै गरी लमजुङको मध्यनेपाल नगरपालिकामा ३५ जना उम्मेद्वारको धरौटी जफत भएको छ ।

निर्वाचन आयोगका अनुसार मध्यनेपाल नगरपालिकामा प्रमुख र उपप्रमुख पदका तीन÷तीनजना, ११ वडा अध्यक्ष र १८अन्य सदस्य पदका उम्मेदवार गरी ३५ जनाको धरौटी रकम जफत भएको हो ।कुल २० हजार ९२ मतदाता रहेको मध्यनेपाल नगरपालिका अन्तर्गतका १० वडामा १३ हजार ७ सय ५१ मत खसेको थियो । नगरपालिकामा खसेको मतमध्ये उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो । धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मात्रै १८ जना रहेका छन् । सोबाहेक मंगोल नेसनल अर्गनाईजेसन र जनता समाजवादी पार्टीका एक÷एकजना उम्मेदवार रहेका छन् । त्यसै गरी नेकपा माओवादी केन्द्रका ४, स्वतन्त्र उम्मेदवार ९ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जनाको पनि धरौटी जफत भएको छ ।

राप्रपाबाट नगरप्रमुख, उपप्रमुखसहित ५ वडा अध्यक्ष र ११ सदस्य पदका उम्मेदार र मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका एक जनाको धरौटी जफत भएको हो ।त्यसै गरी जनता समाजवादी पार्टीबाट उपप्रमुखका उम्मेदवारका साथै माओवादी केन्द्रबाट नगरपालिकाअन्तर्गत विभिन्न वडामा सदस्य पदमा उम्मेदवारी दिएका ४ जनाको पनि धरौटी जफत भएको छ ।त्यस्तै, स्वतन्त्रतर्फ धरौटी जफत हुनेमा एक÷एक नगरप्रमुख र उपप्रमुख उम्मेदवार, वडा अध्यक्षका ५ जना उम्मेदवार र सदस्य पदका २ उम्मेदवार रहेका छन् । एकीकृत समाजवादीको भने एकजना वडा अध्यक्ष र एकजना सदस्य पदका उम्मेदवारको पनि धरौटी जफत भएको छ ।

यसै गरी दूधपोखरी गाउँपालिकामा उम्मेदवार बनेका ९ जनाको धरौटी जफत भएको छ । दूधपोखरी गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका २ जना र उपाध्यक्ष पदमा उम्मेदवारी दिएका १ जनाको धरौटी जफत भएको छ । धरौटी फिर्ता नहुने उम्मेदवारहरूमा अध्यक्ष, उपाध्यक्षसहित ५ जना विभिन्न वडाका अध्यक्ष पदका उम्मेदवार र एक जना मात्रै सदस्य पदका छन् ।धरौटी जफत हुनेमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका एकजना र वडा अध्यक्षमा उम्मेदवारी दिएका २ जना गरी मंगोल नेसनल अर्गनाइजेसनका मात्रै ३ जना रहेका छन् भने अन्य ३ जना स्वतन्त्र उम्मेदवार छन् । त्यसै गरी एक उपाध्यक्ष र एक सदस्य गरी एकीकृत समाजवादीका २ जना र एमालेका वडा अध्यक्ष १ जनाको पनि धरौटी जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्