स्थानीय तह निर्वाचन : लमजुङमा एमाले बन्यो पहिलो पार्टी



लमजुङ । स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुको मत परिणाम अनुसार नेकपा एमालेको मतभार धेरै देखिएको हो ।

 जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सातसय २१ मत आएको छ भने गठबन्धन दलहरुका प्रमुख उम्मेदारहरुको मत ४१ हजार ६३ रहेको छ ।

स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखहरुले प्राप्त गरेको मत अनुसार निर्वाचन क्षेत्र ख मा नेकपा एमालेको मत धेरै छ भने निर्वाचन क्षेत्र प्रदेश क मा गठबन्धनको मतभार बढि देखिएको छ । प्रदेश क मा गठबन्धन दल चारसय २१ मतले अगाडी देखिएको हो भने प्रदेश ख मा दुईहजार ७९ मत ले नेकपा एमाले अगाडी देखिएको छ ।

निर्वाचन मत परिणाम अनुसार प्रदेश सभा क मा गठबन्धन दलका उम्मेदारहरुको प्राप्त मत २० हजार एकसय २७ रहेको छ । सोहि निर्वाचन क्षेत्रमा नेकपा एमालेको पक्षमा १९ हजार सातसय ६ मत परेको छ ।

त्यसैगरी प्रदेश सभा ख मा गठबन्धन दलका उम्मेदारहरुको पक्षमा २० हजार नौसय ३६ मत परेको छ भने नेकपा एमालेको पक्षमा २३ हजार १५ मत परेको छ ।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश निर्वाचन क्षेत्र क अन्तर्गत राईनास नगरपालिका, दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मस्र्याङदी गाउँपालिका र बेसीशहर नगरपालिकाको वडा नम्वर १० र ११ रहेका छन् ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बेसीशहरका एक देखि ९ सम्मका वडा, सुन्दरवजार नगरपालिका, मध्यनेपाल नगरपालिका र क्होलासोँथार गाउँपालिका रहेका छन् ।

निर्वाचन परिणाम अनुसार जिल्लाका आठवटै स्थानिय तह प्रमुखहरुको मत परिणाम अनुसार नेकपा एमालेको पक्षमा एकहजार ६ सय ५८ बढि मत आएको हो ।

यद्यपी यहि मत परिणामलाई आधार बनाएर राजनितिक दलहरु आगामी चुनावको रणनिति बनाउने तयारीमा छन् । स्थानिय तह निर्वाचनमा केहि प्रतिशत मतदाताहरु राजनितिक दल भन्दा पनि व्यक्ती विशेष प्रभावित हुने पाईएकोले आगामी निर्वाचनको परिणाम आँकलन गर्न सकिदैन ।

जिल्लामा नेकपा एमालेको मत एकिन गर्न सकिएपनि काँग्रेस र माओबादी विच गठबन्धन हुँदा दुई पार्टीहरुको मत कति भन्ने एकिन गर्न सकिएको छैन । यद्यपी यो मत परिणामले आगामी मसिरमा हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि दलहरुको आधार बनेको छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा नेकपा एमालेले एक नगरपालिका सहित तीनवटा गाउँपालिका अध्यक्ष जितेको छ । एक गाउँपालिका सहित तीनवटा नगरपालिकामा भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

नेकपा एमालेले बेसीशहर नगरपालिका, मस्र्याङदी, दोर्दी र क्होलासोँथारमा जित हासिल गरेको हो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले दुधपोखरी गाउँपालिका सहित सुन्दरवजार, मध्यनेपाल र राईनास नगरपालिकामा जित हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्