ललितपुर महानगरका मेयर र उपमेयरद्वारा पदबहाली

मेयरले तीन र उपमेयरले एउटा निर्णयमा हस्ताक्षर



ललितपुर।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्यले आज पदभार ग्रहण गर्नुभएको छ । बिहान मुख्य निर्वाचन अधिकृतसंग पद तथा गोपनीयताको सपथग्रहण गरे लगत्तै पुल्चोकस्थित महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

सो अवसरमा मेयर महर्जनले तीन र उपमेयर शाक्यले एउटा निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । मेयर महर्जनले वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने निर्णय गर्नुभएको थियो ।

उपमेयर शाक्यले सबै वडामा मेलमिलाप केन्द्र डेक्स स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उपमेयर शाक्य आफुले निर्वाचनमा एमालेको तर्फबाट गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताउनुभयो । मेयर महर्जनले जनताको चाहना अनुसार महानगरपालिकालाई नमुना महानगरको रुपमा विकास गर्ने बताउनुभयो ।

मेयर महर्जनले वडाबाट गरिने सबै कामका लागि महानगरपालिका आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–यस्ता समान्य काम अब वडाबाटै हुने बताउनुभयो । उहाँले विकास निर्माणका काम समेत वडास्तरबाटै गर्ने बताउनुभयो ।

पदभार ग्रहणगर्दै उपमेयर शाक्यले जनताको चाहना अनुसार आफ्नो अधिकारक्षेत्रभित्र पर्ने योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले भन्नुभयो–म जुन उद्देश्य सहित वियजी भए पाँच वर्षभित्र ती उद्देश्य पुरा गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्