टेलिभिजनमा माग्ने बुढाको कमेडी हब



लोकप्रिय हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को निर्देशनमा तयार पारिएको हास्यव्यंग्य टेलिभिजन कार्यक्रम कमेडी हब आज बुधबारदेखि हरेक साता एपी वन टेलिभिजनबाट प्रसारणमा आउने भएको छ।

राजा राजेन्द्र पोखरेलको परिकल्पना रहेको कार्यक्रमको सोमबार राजधानीको सोल्टिमोडस्थित सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमका बीच ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित विभिन्न हास्य कलाकारले शुभारम्भ गरे। कार्यक्रममा बोल्दै महजोडीले शोको सफलताको कामना गरे। अभिनेता दीपकराज गिरीले पछिल्लो समय नेपालमा हास्यव्यङ्ग्य विधालाई रुचाइन थालिएको चर्चा गरे भने मनोज गजुरेलले हँसाउनु, सामाजिक सन्देश र एकताको सन्देश दिनु कमेडीको उद्देश्य रहेको बताए। जितु नेपाल मुन्द्रेले पछिल्लो समय टेलिभिजन हेर्ने बानी कम भएको बताए।

एक दर्जनभन्दा बढी नयाँ पुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गरेको हो। कार्यक्रममा केदार घिमिरे, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, सुबोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, वेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन्।

जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फँर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्यान्डअप कमेडी, प्यारोडी, हास्य कविताका विधा समेटिने निर्देशक घिमिरेले जानकारी गराए।पछिल्लो समयमा ठँला पर्दाका फिल्ममा लोकप्रियता कमाइरहेका केदारले शुरूमा मेरी बास्सै नामक टेलिभिजन हास्य श्रृंखलाबाट लोकप्रियता कमाएका थिए। उनले सीताराम कट्टेल ‘धुर्मुस’सँगको सहकार्यक्रमा सो सिरियलको निर्देशनसमेत गर्दै आएका थिए। यो कार्यक्रम भने केदारले लामो समयको अन्तरालपछि निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्