एक मात्र उपमहानगरको जितमा नेता नेपाल मख्ख



हेटौंडा । 

माधव नेपाल नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का लागि हेटौंडामा एक महत्वपूर्ण जित प्राप्त भएको छ । वागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगर मेयरमा मीना लामा विजयी हुनुभएको हो ।

सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल गर्दा एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरको मेयर पाएको थियो । उपमहानगरमा एकीकृत समाजवादीको साख जोगाएकी लामालाई बधाई दिन अध्यक्ष माधव नेपाल मंगलबार आफैं हेटौंडा आउनुभयो । जितपछि उत्साहित उहाँले मंसिरभित्र हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन जित्ने गरी पार्टीका कामहरू अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

हेटौंडा एमालेको गढका रूपमा चिनिँदै आएको थियो । त्यसमाथि चुनावमा कमल थापाले एमालेसँग स्पष्ट तालमेल गर्नुभएको थियो । थापाको गृहनगर हेटौंडामा पूर्वपञ्चको पार्टीको राम्रो भोट पाउने एमालेको अपेक्षा थियो । तर, त्यसो भएन । विगतमा एमालेबाट चुनाव लडेर उपमेयर बन्नुभएकी लामा यसपटक मेयर चुनिनुभएको छ । एमालेको गढ भत्काउने कांग्रेसको ‘मनोविज्ञानको लाभ’ उहाँलाई प्राप्त भएको देखिएको छ । उपमहानगरको नेतृत्वमा उहाँ एक्लो मेयर हुनुहुन्छ ।

एकीकृत समाजवादी मकवानपुरले हेटौंडा उपमहानगरमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो–‘अब गठबन्धन होला भनेर पर्खेर बस्ने होइन । आँट नभएका मान्छेहरू अहिले नै लम्पसार परे हुन्छ । आँट भएका मान्छेहरू अगाडि बढ्नुपर्छ ।’

उहाँले टिकट पाएपछि खट्छु, नभए खट्दिनँ भन्ने मान्छेलाई छाडिदिए हुने बताउनुभयो । ‘टिकट पाएन भने पार्टी छाडेर हिँड्छु भन्ने छन् भने अहिलेदेखि हिसाबकिताब राख्नुपर्छ । अन्तिम समयमा पार्टीलाई धोका दिन्छन् भने त्यसलाई ख्याल गर्नुपर्छ । अन्तिममा धोका दिनेहरूको के हविगत हुन्छ भन्ने सिक्नुछ भने हेटौंडाबाट सिके हुन्छ’ –उहाँको कथन छ । अध्यक्ष नेपालले गठबन्धनको चुनाव लक्षित उद्देश्य पूरा भएपछि पार्टीका कार्यकर्तालाई अब संगठन बलियो बनाउन निर्देशन दिनुभयो । गठबन्धन मात्र नभइ पार्टी संगठन बनाउन सबै लाग्नुपर्नेमा उहाँको जोड थियो ।

पार्टीको शक्ति निर्माण गर्नुपर्ने भन्दै उहाँले एक औंलाले केही नगर्ने भएकाले मुठी बनाउनुपर्ने बताउनुभयो । गठबन्धनमा सहभागी दलहरूको हैसियत मतपरिणाममा देखिएको भन्दै उहाँले आफूहरू बलियो शक्ति बनेको दाबी पनि गर्नुभयो ।उहाँले पार्टीले ८ महिनाको छोटो अवधिमा ठूलो उपलब्धि हासिल गरेको भन्दै स्थानीय निर्वाचनमा केही स्थानमा गठबन्धन र केही स्थानमा एक्लै विजय हासिल गर्न पार्टी सफल रहेको बताउनुभयो । उहाँले पार्टीको उद्देश्य समाजवादउन्मुख रहेको बताउँदै सामाजिक न्याय, सामाजिक समानता, विकास र समृद्धितर्फ काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टी अरूभन्दा भिन्न रहेर महिला तथा युवालाई अवसर दिएको उल्लेख गर्दै पार्टीको विश्वासलाई कायम राख्न आग्रह गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालार्ई कम्युनिस्ट र क्रान्तिकारीमा हुनुपर्ने गुण ग्रहण गर्न र असल आचरणमा ख्याल गर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले नेता तथा कार्यकर्तामा जनताको सेवकमा हुनुपर्ने गुण हुनुपर्नेमा जोड दिंदै आफैंलाई समीक्षा गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो–‘आफूलार्ई फर्केर हेर्नुहोस्, आफैंलाई समीक्षा गर्नुहोस्, जितेका र हारेका दुवै ठाउँमा आफ्नो मूल्याङ्कन गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्