दलित–गैरदलितलाई छुट्टाछुट्टै धारा ‘बेकार हो छुवाछुतको नारा !’



डोटी ।

जिल्लाको पूर्वीचौंकी गाउँमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । यद्यपि धाराहरू नजिकै छन्, पानीको मुहान पनि एउटै हो । दलितले गैरदलितको धारामा पानी थाप्न पाउँदैनन् । तर, अचम्म, स्थानीय दलितलाई यो स्वाभाविक लाग्छ, उनीहरू भन्छन्, ‘हामीलाई धारा छँदैछ, पानी खान पाएकै छौं, बेकार हो छुवाछुतको नारा !’
यसरी जातका आधारमा विभेद गर्नु कानुनी अपराध हो, तर पूर्वीचौकीका बासिन्दालाई यो कुनै अस्वाभाविक कार्य लाग्दैन । कसैले आपत्ति पनि जनाउँदैन । कोही बाहिरबाट त्यहाँ पुगेको व्यक्तिले कुरा उठाउँदा ‘हामी मिलेर बसेका छौं, तिमीलाई केको खसखस’ भन्ने जवाफ प्राप्त हुन्छ ।
पूर्वीचौकी गाउँपालिका–२ कुडासैनमा वर्षौंदेखि दलित र गैरदलितका लागि खानेपानीका छुट्टै धारा निर्माण गरिएका हुन् । उक्त गाउँको पनीको मुहानमा तीन वटा पानीका धारा निर्माण भएका छन् । तीन धारामध्ये दुई वटा धाराको पानीमा कुडासैनका दलित समुदायका व्यक्तिहरूले जान पाउँदैनन् । दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ । तर, कहिलेकाँही उक्त धारामा पानी नआउँदा भने दलितहरूले टाढाबाट गैरदलितलाई नछुने गरी भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको भने स्थानीय दलितहरू स्वीकार गर्दछन् ।
दलित र गैरदलितको खाने पानीको धारा फरक–फरक रहनु लज्जाको विषय भएको जिल्ला सदरमुकाममा रहेका दलित अगुवाहरूको भनाइ छ । तर, स्थानीय दलितलाई सामाजिक विभेदको चेतना छैन । नेपालको कानुन र संवीधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि डोटीका बिकट गाउँहरूमा उक्त कानुन लागु हुनसकेको छैन । तथाकथित सानो जात र ठूलो जातको आधारमा विभिन्न किसिमका विभेद हँुदै आएको स्थानीयवासी जोगी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, –जातीय विभेद विरुद्धको कानुन कार्यान्वयन नहुँदा गाउँघरमा विभेदलाई पनि सामान्य ढंगले लिने गरिएको छ, सरकारले उक्त कानुनको कडा रूपमा पालना गर्न लगाउनु पर्छ ।’
जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणका काममा समेत सहभागी हुन नपाएको सम विकास केन्द्र डोटीका अधिराज बिसीले बताउनुभयो । राजनीतिक दल, नागरिक समाज र विभिन्न संघ–संस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको बिसीको भनाइ छ । विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका विभिन्न निकायहरूमा पहल र वकालत गर्न आवश्यक रहेको नेकपा (एकीकृत समाजवादी) डोटीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।
बोगटीले भन्नुभयो – ‘जातीय विभेद भनेको सबैभन्दा नकारात्मक कुरा हो यसले समाजलाई पछिसम्म असर गर्छ, विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका विभिन्न निकायहरूमा पहल र वकालत गर्न आवश्यक ।’
शिक्षा पनि जातीय विभेदको एक कारक तत्व भएकोले दलित लगायत पछाडि पारिएका समुदायलाई शिक्षामा सरल पहुँच बनाउन स्थानीय सरकारले मुख्य भूमिका खेल्नुपर्ने दलित अगुवाहरू बताउँछन् ।
राजनीति दल र सामाजिक अभियन्ताहरूले कानुन र समाज विकासका कुरा गरे पनि पूर्वीचौकीका दलित र गैरदलितलाई सचेत गराउने काम आफ्नो पनि हो भन्ने महसुस नगरेकै कारण स्थानीय दलित ‘हामी खुसी छौं, तिमीलाई के मतलब’ भन्ने अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्