ललितपुर महानगरपालिकाको कार्यपालिकामा कुनै दलको पनि बहुमत नपुग्ने



ललितपुर । 

ललितपुर महानगरपालिकाको कार्यपालिकामा कुनै दलको एक्लो बहुमत नपुग्ने भएको छ । महानगरपालिकाको १ देखि २९ वडाको अन्तिम मतपरिणामले यस्तो स्थिति देखिएको हो । यसअघिको कार्यकालमा कार्यपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बहुमत रहेको थियो । नेपाली कांग्रेसबाट मेयर, उपमेयरसहित ११ जना, माओवादी केन्द्रबाट ४ जना र नेकपा (एमाले) बाट १८ जना वडाअध्यक्ष र ८ जना सदस्य गरी कुल २६ जना रहेकोमा अहिले स्थिति फेरिएको छ ।

मतगणना शुरू भएको १० दिनपछि आएको अन्तिम मतपरिणामअनुसार महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट चिरिबाबु महर्जन र उपमेयरमा नेकपा (एमाले) बाट मञ्जरी शाक्य (आस्था) निर्वाचित हुनुभएको छ ।कानुनतः मेयर, उपमेयर र प्रत्येक वडाबाट निर्वाचित वडाअध्यक्ष र नगरसभाबाट चुनिने महिला ५ जना र दलित र अल्पसंख्यकबाट ३ जना नगरकार्यपालिका सदस्य हुनेछन् । चुनिने ८ जनाबाहेक नेपाली कांग्रेसबाट मेयरसहित ११ वडाअध्यक्ष, नेकपा(एमाले) बाट उपमेयरसहित ११ जना वडाअध्यक्ष, नेकपा(माओवादी) केन्द्रबाट ३ जना वडाअध्यक्ष, एकीकृत समाजवादीबाट २ जना वडाअध्यक्ष र स्वतन्त्रबाट २ जना वडाअध्यक्ष रहेका छन् ।

संविधानतः नगरपालिकाको कार्यकारिणी अधिकार कार्यपालिकामा निहित रहनेछ । कार्यपालिका सदस्यको लागि ८ जना नगरसभाको निर्वाचन अन्तिम मतपरिणाम प्राप्त भएको १५ दिनभित्र मेयर, उपमेयर, वडाअध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य चुनिनुपर्ने प्रावधान रहेको छ । निर्वाचित जनप्रतिनिधिहरू नगरसभा सदस्य रहने छन् । नगरको वार्षिक नीति, योजना र कार्यक्रमका साथै बजेट नगरसभाबाट पारित हुने गर्दछ । यसो भएको खण्डमा एकीकृत समाजवादीबाट एक, माओवादीबाट एक र बाँकी ७ जना कांग्रेसबाट चुनिने छन् ।जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार नेपाली कांग्रेसबाट मेयर महर्जन र ११ जना वडा अध्यक्षसहित ५२ जना नगरसभा सदस्य निर्वाचित भएका छन् ।

त्यस्तै, नेकपा (एमाले) बाट उपमेयर शाक्य र ११ जना अध्यक्षसहित ५५ जना नगरसभा सदस्य निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ३ वडाअध्यक्षसहित ११ जना नगरसभा सदस्य निर्वाचित भएका छन् । सदस्यमा राप्रपाबाट २ जना निर्वाचित भएका छन् ।त्यसै गरी निर्वाचित भएका नगरसभा सदस्यमध्ये नेकपा (एकीकृत समाजवादी) को तर्फबाट २ जना वडाअध्यक्षसहित ९ जना रहेका छन् भने स्वतन्त्रबाट २ जना वडाअध्यक्ष निर्वाचित भएका छन् । यस्तो अवस्थामा नगरसभाबाट ८ जना कार्यपालिकाका सदस्य चुन्न कांग्रेस र एमालेले कुनै एक दलको समर्थन लिनुपर्ने हुन्छ । अहिले एकीकृत समाजवादी र माओवादी केन्द्रबाट एक-एक जना सदस्य लिने सम्भावना प्रबल रूपमा देखिएको छ । यदि यसो भएमा कार्यपालिकामा नेपाली कांग्रेसबाट ६ जना, माओवादी र एकीकृत समाजवादीबाट एक-एक जना सदस्य थप हुनेछ ।

प्रतिक्रिया दिनुहोस्