बन्चरेमा १७ वर्षपछि फोहोर विसर्जन, पहिलो गाँसमै झिँगा



काठमाडौं

सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण शुरू गरेको १७ वर्षपछि मंगलबार बिहानबाट बल्लबल्ल फोहोर बिसर्जन गर्न शुरू भएको थियो ।

तर ल्यान्डफिल साइटमा फोहोर विर्सजन भएको तीन घण्टा पनि बित्न नपाउँदै प्रहरी र स्थानीयबीच हात हालाहाल भयो । ल्यान्डफिल साइट पूर्ण रूपमा तयार नभइकनै सुनियोजित रूपमा बन्चरे ल्यान्डफिलमा फोहोर विसर्जन गरेको भन्दै स्थानीयले आन्दोलन गरेपछि प्रहरी र स्थानीयबीच झगडा भएको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बिहान करिब ५ सय सुरक्षाकर्मीको घेरामा सय ट्रक फोहोर बन्चरेडाँडामा खसालिएको थियो । ल्यान्डफिल साइटको स्थानीय निकायका प्रतिनिधिसँग सल्लाह नगरी जबर्जस्ती फोहोर खसाल्न ल्याएकोमा आपत्ति जनाउँदै धुनिवेंशी नगरपालिकाका नवनिर्वाचित मेयर वालकृष्ण आचार्यले भन्नुभयोे– ‘स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर मात्र फोहोर विसर्जन गर्नुपर्ने थियो ।’

स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मन्त्रीको निर्देशनपछि हाम्रो विरोध हुँदाहुँदै जबरजस्ती बाटोमै फोहोर फ्याँकेर सवारी साधन फर्किएका थिए ।’ उहाँले सुरक्षाकर्मी प्रयोग गरी फोहोर फालेकोमा आपत्ति जनाउनुभयो । जेठ १५ गते सरकारका बजेटपछि मात्रै बन्चरे ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न दिने वा नदिने भन्ने निर्णय गरिने जानकारी दिँदै उहाँले सरकारले स्थानीयसँग गरेको प्रतिबद्धता पूरा नगरेसम्म फोहोर खसाल्न नदिने अडान राख्दै भन्नुभयो– ‘सरकारले ल्यान्डफिल साइटमा कति बजेट विनियोजन गर्छ, त्यसपछि निर्णय हुनेछ ।’

मंगलबार बिहान फोहोरको गाडीसँगै करिब ४ सयको संख्यामा प्रहरी ल्यान्डफिल साइटमा पुग्दा स्थानीयले नाराबाजी गरेका थिए । प्रहरीले माइकिङ गरी ल्यान्डफिल साइटमा प्रदर्शन नगर्न आग्रह गरेको थियो । लगातार प्रदर्शन गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थानीय संयोजक श्रीराम ढुंगाना, सनत उप्रेतीसहित एक दर्जन स्थानीयलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण गरेको तीन घण्टापछि सबैलाई रिहा गरेको थियो । मंगलबार बिहान प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिएपछि सानाठूला गरी एकसय ट्रक फोहोर विसर्जन भएको काठमाडौं महानगरपालिका सिसडोल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बताउनुभयो ।

उहाँले स्थानीयको मागको विषयमा छलफल गरेर मात्र फोहोर विसर्जन गर्ने भनेपछि बिहान ११ बजेबाट फोहोर लैजान रोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज बुधबार फोहोर लैजाने वा नलैजाने विषयमा छलफल हुने जानकारी दिँदै भन्नुभयो–‘भोलि फेरि सुरक्षाकर्मी परिचालन गरी फोहोर खसाल्ने तयारीमा छौं । सरकारले कतिको सहयोग गर्नेछ । तर, स्थानीयले बन्चरेडाँडा पूर्ण रूपमा तयार नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।’

स्थानीय उप्रेतीले सरकारले सुरक्षाकर्मी परिचालन गरी फोहोर खसाल्ने दुष्प्रयास गरे आफूहरू कडा आन्दोलन उत्रने चेतावनी दिनुभयो । कामपाले सिसडोलस्थित ओखरपौवा ल्यान्डफिल साइटमा पूर्ण रूपमा भरिएपछि फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा लगिएको थियो ।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले आज बुधबारबाट निरन्तर रूपमा फोहोर विर्सजन हुने बताउनुभयो । सोमबार मन्त्रालयमा भएको बैठकमा मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर लैजान कामपा कार्यकारी अधिकृत लोकनाथ पौडेललगायतलाई निर्देशन दिनुभएको थियो ।

२०६२ सालमा ३ वर्षभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटको पूर्वाधार तयार गरी २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य थियो । त्यसका लागि सरकारले जग्गा अधिग्रहण गरेपछि सो क्षेत्रमा पूर्वाधार निर्माण गर्न करिब एक अर्ब रुपियाँ लगानी गरिसकेको छ । अधिग्रहण भएका जग्गाको मुआब्जा बाँड्न, हिमपाइप हाल्न, वृक्षरोपण गर्न, पुल बनाउन उक्त रकम खर्च भएको थियो ।त्यसको करिब डेढ दशक बढी भइसक्दा पनि बन्चरेडाँडा ल्यान्डफिल साइट तयार हुन सकेको थिएन । अहिले पनि पूर्ण रूपमा तयार नभई हतारमा फोहोर खसालिएको स्थानीयको आरोप छ ।

बन्चरेडाँडा ल्यान्डफिल साइटका लागि १ हजार ७ सय ९० रोपनी जग्गा अधिग्रहण गरेर करिब ६१ करोड मुआब्जा बाँडिसकिएको भए तापनि पछिल्लो समय स्थानीयले ५ हजार रोपनी जग्गा अधिग्रहण गर्न सरकारसँग माग गरेका छन् । बन्चरेडाँडा ल्यान्डफिल साइट पूर्णरूपमा तयार भए करिब सय वर्षसम्म फोहोर विसर्जन गर्न सकिने बताइएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर २०६२ साल जेठ २२ गतेदेखि काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । अहिले दैनिक झण्डै एक हजार ५० मेट्रिक टन फोहोर व्यवस्थापन हुने गरेको सिसडोलमा दैनिकजसो समस्या पर्न थालेको छ ।काठमाडौं महानगरपालिकाले २०५२ सालमा बन्चरेडाँडाको स्थलगत अध्ययन गरेको थियो । कामपाका तत्कालीन उपमेयर नविन्द्रराज जोशीसहितको टोलीले हेलिकोप्टरबाट बन्चरेडाँडाको स्थलगत अध्ययन गरेको थियो । त्यसको २६ वर्षपछि बल्ल फोहोर फ्याँक्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्