पोखरा महानगरमा धनराजको जित निश्चित, मेयरमा निर्वाचित हुनु अगावै अर्थमन्त्री र पर्यटनमन्त्रीसँग सुटुक्क भेट

पुन : मतगणना गर्नुपर्ने भन्दै कांग्रेस, एमालेको माग



पोखरा । पोखरा महानगरको मतगणना चल्दाचल्दै धनराज आचार्य काठमाण्डौं पुगेका छन् । आफु पोखराको मेयरमा निर्वाचित हुने निश्चित भएपछि उनी महानगरको बजेटका लागि काठमाण्डौं पुगेका हुन् ।

‘म निर्वाचित हुन्छु भन्ने थाहा थियो । कहाँबाट कति भोट आएको छ, जितको सम्भावना कति छ भन्ने सबै उम्मेदवारले आकलन गर्छन् । हाम्रो टिमले पनि गरिरहेको थियो । हाम्रो भोट आकलन गर्न बनेको टिमले गरेको सर्वेक्षण अहिलेसम्म एकदमै सही छ’ उनले भने ,‘संघ सरकारको बजेट १५ जेठमा आउँदै छ । महानगरको सबै संयन्त्रसँग बुझ्दा ल्याण्डफिल्ड साइट व्यवस्था नगरी भएको छैन । पोखरामा नयाँ विमानस्थल नचलाई भएको छैन । त्यसको वैकल्पिक कुरा छैन भनेपछि अहिले काम नभए एक वर्ष कुनुपर्ने हुन्छ ।’

उनले अर्थमन्त्रीलाई भेटेको सुनाउँदै भने, ‘काठमाडौं गएर अर्थमन्त्री ज्यूलाई भेटेँ । सहरी विकास मन्त्रालयबाट त्यसलाई फलोअप गर्नुपर्ने रहेछ । मेयरको उम्मेद्वार चुनावको मतगणना नै छोडेर आएपछि सदाशयता देखाउनुभयो । पोखराको ल्याण्डफिल्डलाई सुरुमा केही रकम विनियोजन गर्ने र पछि आवश्यकताअनुसार गर्ने गरी प्रक्रियामा गएको छ । यो खुसीको कुरा हो ।’

आचार्यले आफुले घोषणापत्रमा भनेझैँ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियोस् भनेर नीति तथा कार्यक्रममा राख्दिन अनुरोध गरेको र कुरा अर्थमन्त्री, पर्यटनमन्त्रीले स्वीकार गरेको जानकारी दिए । उक्त काम भएरै आउनेमा विश्वस्वत रहेको उनले बताए ।

१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखराम महानगरमा गठबन्धनका मेयर पदका प्रत्यासी उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज ३ वटा वडाको नतिजा सार्वजानिक हुनु अगावै जित्ने निश्चित छ । आधिकारीक रुपमा घोषणा हुनमात्रै बाकिँ छ ।

१ लाख ३९ हजार ४ सय ११ मत गणना हुँदासम्म धनराजले ५७ हजार ७२ मत प्राप्त गरे । उनको ५ हजार ४ सय ८५ मतको अग्रता छ । नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएका कृष्ण थापाको ५१ हजार ५ सय ८७ मत छ । ३ हजार ८ सय १५ मत मात्रै गणना हुन बाँकी रहेको छ ।

उपमेयरमा भने मञ्जुदेवी गुरुङको जित निश्चित छ । मञ्जुले ५९ हजार ७० मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार कोपिला रानाभाटले ५५ हजार ८० मत प्राप्त गरेकी छन् । मञ्जुको ३ हजार ९ सय ९० मतको अग्रता छ । पोखरामा मिश्रित परिणाम आउँदा पाँच वर्ष समन्वय गरी अघि बढ्न भने चुनौती देखिएको छ ।

वडामा वडा अध्यक्षमा कांग्रेसको वर्चस्व रहे पनि सदस्यहरुमा भने एमालेकै वर्चस्व देखिन्छ । नगर सभामा समेत गठबन्धन अल्पमतमा छ । तर, धनराजले भने गठबन्धन पाँच वर्षका लागि भएको र केन्द्रमा जे जस्तो भए पनि महानगरमा भने त्यस्तो केही नहुने बताए ।

पोखरा बनाउने कुरामा सबैको साझा निर्णय गरेरै जाने बताउँदै गठबन्धन र एमालेको घोषणापत्रमा शब्द फरक भए पनि आशय भने एकै रहेको उनले सुनाए । ‘नगरसभामा हामीले नचाँहिने इस्यू लैजान्नौँ । सबैको कुरा पोखरा बनाउने नै हो । नगरसभा प्रत्यक्ष प्रसारण हुन्छ’ उनले भने, ‘नचाहिने कुरामा विरोध गरेर जनताको अगाडि नाङ्गिने काम कसैले गर्नुहुन्न । हाम्रो बोर्डको सबै निर्णय सर्वसम्मत गर्ने मेरो प्रयत्न हुन्छ । त्यहाँ कुनै स्वार्थ राखिँदैन । स्वार्थ नराखी काम गरिन्छ भने अल्पमत, बहुमत भन्न पर्ने कुरा छैन ।’

उनले काठमाडौँ, धनगढी, जनकपुर, धरानको मेयर एक्लै रहेको कुरा सुनाउँदै एमालेबाट आएका साथी हिजोसँगै काम गरेका कारण सम्बोधन गर्न गाह्रो नहुने स्पष्ट पारे । ‘गठबन्धनमा त मसँगै आएको भएँ । उहाँहरुको अंशहंश साथमै छ । पाँच वर्ष काम गर्ने भनेर साझा घोषणा पत्र बनाएका छौँ । त्यो घोषणापत्र लागु गर्न गठबन्धनभित्र अल्पमत राख्नुपर्ने कुरै भएन ।’ उनले उपमेयरमा गठबन्धनकै नआउँदा भने दुःख लागेको सुनाए ।

कांग्रेस र एमालेद्धारा पुनः मत गणनाको माग

उता नेकपा एमालेले वडा १८ र ३१ मा पुनः मत गणनाको माग गरेको छ भने कांग्रेसले वडा १ र १७ मा पुनः गणना गर्न माग गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसले पनि दुई वडाको पुनः मतगणना गर्न भन्दै निवेदन दिएको छ ।

यी दुवै वडामा एमालेले जितेको थियो । वडा न. १ मा एमालेका साहरा प्रधानले कांग्रेसका सीता गुरुङलाई पराजित गरेका थिए । १७ मा चाहिँ एमालेका राधिका कुमारी शाही ले कांग्रेसका देवराज आचार्यलाई पराजित गरेको थियो । वडा नं. १ प्रधानले एक हजार १४५ मत ल्याएका थिए भने सीताले एक हजार १०४ मत ल्याएकी थिइन । ४१ अन्तरले कांग्रेस उमेदवार पराजित हुन पुगेका थिए । वडा नं.१७ मा एमालेकी राधिकाले दुई हजार ६२५ मत ल्याउँदा देवराजले दुई हजार ५४२ मत ल्याएका थिए । मतको अन्तर ८३ रहेको थियो । यी दुवै वडामा पुन मतगणना भन्दै कांग्रेसका उमेदवारले हस्तलिखित निवेदन लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका छन ।

यता, एमालेले चाहिँ वडा नं.१८ को पुन मतगणना गर्न माग गरेको छ । यहाँ एमालेका उमेदवार शिव तिमिल्सिना कांग्रेसका पुष्कल थापासँग ३ मतले पराजित भएका थिए । थापाले एक हजार ६४३ मत ल्याउँदा एमालेका तिमिल्सिनाले एक हजार ६४० मत ल्याएका थिए । पुनः मतगणनाको माग राख्दै एमालेका प्रतिनिधी मतगणनास्थल बाहिरिएका छन । उनीहरु मतगणनामा नगएका कारण वडा नं. २२, ३२ र ३३ को मतगणना कार्य प्रभावित बनेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बारम्बार मतगणनाका लागि प्रतिनिधी पठाउन माइकिङ गरेतापनि उनीहरु आएका छैनन् । यता, मतगणना परिसर बाहिर मतगणना सुचारु गर भन्दै नाराबाजी समेत भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्