स्थानीय तह निर्वाचन : बाँकी १२ वटा पालिकाको अन्तिम मतपरिणाम कहिले आउँछ ?



काठमाडौं । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचको मतपरिणाम आउनेक्रम जारी नै छ ।

निर्वाचन सम्पन्न भएको ११ दिन बितिसक्दा पनि बाँकी १२ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छैन । यद्यपि निर्वाचन आयोगले दिएको जानकारी अनुसार हालसम्म ४६० गाउँपालिका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

६ वटामध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगंज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले १२ पालिकाको मतपरिणाम आउँन थप केही दिन लाग्ने बताएको छ । तथापि उसले यति दिनमा आइसक्ने भनेर मिति नै किटान गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्