मोरङका १७ पालिका प्रमुखले लिए शपथ



 विराटनगर । 

विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले करको दायरा बढाउने र करको दर घटाउनका लागि परामर्श समिति बनाउने निर्णय गर्नुभएको छ । सोमबार महानगरपालिकाको सभाकक्षमा पदभार ग्रहण गर्दै उहाँले यस्तो निर्णय गरेको बताउनुभएको हो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले सोमबार मोरङका १७ वटै स्थानीय तहका प्रमुखलाई शपथ गराउनुभएको छ ।

त्यसलगत्तै कोइरालाले पदभार ग्रहण गर्नुभयो । कोइरालाले आफूले निर्वाचनका बेला घोषणा पत्रमार्फत महानगरले उठाउने करको दर घटाउने र दायरा बढाउने विषयमा गरेको प्रतिबद्धता पूरा गराउन पहिलो दिनबाटै काम थालनी गरेको बताउनुभएको छ । उहाँले करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निर्णयमा हस्ताक्षर गरी आफ्नो कार्यकाल सुरुआत गर्नुभयो । हरेक आर्थिक वर्षमा महानगरसभाले करको दर र दायरा तय गर्ने गरेको छ । त्यो सभामा लैजाने गरी स्थानीय कर तथा राजश्व समितिले तयार गरेको प्रस्तावमा कोइरालाले हस्ताक्षर गर्नुभएको हो ।

यो प्रस्ताव महानगरसभामा लगेर निर्णय हुने बताइएको छ । स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार राजस्व परामर्श समिति उपप्रमुखको संयोजकत्वमा सात सदस्यीय हुनेछ । समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य निजी क्षेत्रका दुई जना प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव हुनेछन् । आगामी नगरसभामा समितिले सुझाव पेस गुर्नपर्ने भएकाले तत्काल काम शुरू गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताउनुभएको छ ।

यस्तै, मेयर कोइरालाले पनि सबैसँग समन्वय गरेर महानगरको काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले धेरै मत बदर भएका कारण अब मतदाता शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानुनी व्यवस्था छ । कोइरालाले आफूले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथग्रहणपश्चात् महानगरपालिकाकी उपमेयर शिल्पा निरौला कार्कीसहित १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको छ ।

सपथपछि उपमेयर कार्कीले आजदेखि नै आफू पार्टीको नभई विराटनगरवासीको प्रतिनिधि भएको बताउनुभयो । उहाँले विराटनगरवासीको खुसी नै आफ्नो सपना भएको बताउनुभयो । उहाँले पदभार ग्रहण गर्दै लैङ्गिक हिंसा निवारण कोष बनाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । कोइराला नेपाली कांग्रेसबाट विराटनगर महानगरको मेयरमा निर्वाचित हुनुभएको हो भने कार्की नेकपा एमालेबाट उपमेयरमा निर्वाचित हुनुभएको हो ।

शपथग्रहण समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले स्थानीय तहको दोस्रो आवधिक निर्वाचन सहज र शान्त रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँले अब जनताका प्रतिनिधिहरू जनसेवाका लागि कार्यभार सम्हाल्न कार्यक्षेत्रमा खटिनुले जनआकांक्षा पूरा हुने बताउनुभयो । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार कोइरालाले ८ हजार ७ सय १५ मतको अग्रतासहित ३० हजार १ सय ७० मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । त्यसै गरी, उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार शिल्पा निरौला कार्की ११ हजार ४ सय ६१ मत अन्तरसहित कुल २५ हजार ८ सय ६० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रमुख कोइरालाका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।

सर्वाधिक चासोका साथ हेरिएका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८ हजार ७ सय ९५ मतका साथ तेस्रो स्थानमा रहनुभएको थियो । राप्रपाका प्रल्हादप्रसाद साहले ५ हजार २ सय १६ मतका साथ चौथो स्थान हासिल गर्नुभएको छ । उपप्रमुखमा एमालेका उम्मेदवार कार्कीसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पराजित हुनुभएको छ । यादवले कुल १४ हजार २ सय १९ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमै राप्रप्राकी विन्दा लुइँटेल आचार्यले ६ हजार ४ सय १ मत ल्याउँदै तेस्रो स्थानमा सीमित हुनुभएको छ । सत्तामा सहभागी दलहरूका बीच गठबन्धन कायम गरी स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भए पनि मोरङमा गठबन्धनको प्रभाव खासै देखिन सकेन ।

प्रतिक्रिया दिनुहोस्