संक्रमित मुलुकबाट नेपाल आउनेलाई क्वारेन्टिन ?

बाँदरेखटिरा संक्रमण



काठमाडौं । 

विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आह्वान गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई कोभिड– १९ मा जस्तै दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्न आग्रह गरेको छ ।मंकीपक्स संक्रमण भएका व्यक्तिमा शरीरमा चिलाउने खटिरा वा दाग देखिने र जिउभरि फैलिने हुन्छ ।

यसमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्नेगर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा पनि बिमिराहरू देखापर्न थाल्छन् । डब्लूएचओले जनाएअनुसार मंकीपक्स झट्ट हेर्दा फोहोर खटिरा वा ठेउला भनेर चिनिने गरेको रोगजस्तै देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर अधिकारीले जानकारी गराउनुभयो ।

डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिने गर्दछ । संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्नसक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्ने डब्लूएचओले जनाएको छ ।

हालसम्म ८० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको र शंकास्पदको अनुसन्धान भइरहेको संगठनले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सल्लाहअनुरूप आवश्यक तयारी गरिरहेको र हवाई यात्राबाट आउने यात्रुलाई जाँच गर्ने र सीमा नाकामा पनि आवश्यक निगरानी गर्ने तयारी भएको अधिकारीले बताउनुभयो । विशेषगरी यस समस्याबाट बच्नका लागि एक–अर्कासँगको दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिने कार्य गर्नु आवश्यक छ ।

स्वास्थ्य अधिकारी र युरोपेली स्थानीय मिडिया रिपोर्टका अनुसार धेरै युरोपेली देशहरू साथै अमेरिका, क्यानडा र अस्ट्रेलियामा मंकीपक्सका बिरामीहरूको अनुसन्धान भइरहेको छ । नयाँ बिरामीहरू बेल्जियम, फ्रान्स, अस्ट्रेलिया र जर्मनीमा देखा परेका छन् । मंकीपक्स मध्य र पश्चिम अफ्रिकाको दुर्गम भागहरूमा सामान्य छ । यस्ता रोग फैलने मुख्य माध्यम एक ठाउँबाट अर्को ठाउँको यात्रा हो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार मंकीपक्स एक दुर्लभ भाइरल संक्रमण हो जुन सामान्यतया हल्का हुन्छ र जसबाट अधिकांश मानिसहरू केही हप्तामा निका ेहुने गर्दछन् ।

तर, मंकीपक्स चिकेनपक्स (कुखुरे खटिरा) सँग मिल्दोजुल्दो भएकाले झुक्किन सक्ने सम्भावना बढी भएकोले विदेशबाट आउने व्यक्तिहरूले २१ दिनसम्म सुरक्षा अपनाएर त्यस बीचमा मंकीपक्सको लक्षण मिल्ने समस्या देखापरेमा चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।डा. पुन भन्नुहुन्छ मंकीपक्स कोभिड– १९ जस्तो नौलो हैन । यो रोगमध्य र पश्चिमी अफ्रिकी मुलुकहरूमा देखिँदै आएको र अनुसन्धान भइरहेको रोग हो ।

नेपालको सिमानाका साथै हवाई उडान धेरै देशसँग जोडिने हुनाले सतर्कता भने अपनाउनुपर्छ । विशेषगरी विदेशबाट आउने व्यक्तिले सुरक्षा अपनाउँदा सबै नेपालीलाई सुरक्षा बढी हुन्छ ।नेपालमा पहिला ठेउला, फोहोर खटिरा भनेर चिनिँदै आएको जस्तो समस्या भएकाले मंकीपक्स हो– होइन परीक्षण नगरुञ्जेल स्वास्थ्यकर्मीले पनि यकीन गर्न सक्दैनन् र नझुक्किनका लागि सरसफाइ र सुरक्षा अपनाउनु नै सबैभन्दा महत्वपूर्ण भएको डा. पुन बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्