काठमाडौं महानगरमा पुनः मतगणना गर्न माग, निर्वाचन आयोगले भन्यो- असम्भव !



काठमाडौं । गठबन्धनका साझा तथा नेकपा (एकीकृत समाजवादी)बाट काठमाडौं महानगरको उपमेयरका प्रत्यासी रामेश्वर श्रेष्ठले पुनः मतगणना गर्न निर्वाचन आयोग समक्ष माग गरेका छन् ।

श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिँदै उम्मेदवार नै नभएको ठाउँमा पनि चिह्न राख्नु कानुनविपरीत भएको दाबी गरेका छन् ।

गठबन्धनको भागबन्डाअनुसार नेपाली कांग्रेसको भागमा मेयरको उम्मेदवारी परे पनि उपमेयरको भने एकीकृत समाजवादीको भागमा परेको छ । तर, मतपत्रमा भने रुखसहित गठबन्धनका अन्य दलका चिह्न पनि राखियो ।

उक्त विषयलाई आधार बनाएर श्रेष्ठले रुख र कलममा मत हालेकाको मत रुखमा मात्रै बदर हुनुपर्ने भए पनि कलममा पनि बदर मानिनु नियमविपरीत भएको बताए ।

श्रेष्ठले भने, ‘प्रतिस्पर्धी नै नभएको कलम र रुख चिह्नमा मत संकेत भए पनि म उम्मेदवार भएको कलम चिह्नको मत संकेतलाई समेत बदर गरि गणना गरेको र यसबाट मतपरिणाममा असरपरी उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने गणितीय अवस्था देखिएको छ ।’

यस विषयमा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले न्युज अफ नेपालसँग संक्षिप्त संवाद गर्दै भने, ‘निर्देशिका अनुसार नै मतगणना भएको छ, उहाँको निवेदनअनुसार पुनः मतगणना गर्न असम्भव छ ।’

प्रतिक्रिया दिनुहोस्