आज निजी विद्यालय बन्द नहुने

केही पालिकाले सामुदायिक विद्यालय पनि खोल्ने



काठमाडौं  । 

आइतबार बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै अधिकांश शिक्षण संस्थाले आज आइतबार पनि पठनपाठन जारी राखेका छन् ।प्याब्सन र एन प्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गरी विद्यालय खुला गर्ने निर्णय गरेअनुरूप आज उपत्यकाका निजी विद्यालय खुला हुने भएका छन् । शैक्षिक क्षेत्रमा क्षति पुग्न नहुने भन्दैै ती संस्थाले विद्यालय खुलै राख्ने जनाएका हुन् ।

एन प्याब्सनका अध्यक्ष पाण्डव हमालले शनिबार नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘आज आइतबार हाम्रो विद्यालय खुलै रहन्छ ।’ सरकारको निर्णयलगत्तै विभिन्न स्थानीय तहले तत्काललाई पूर्ववत् अवस्थामै विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन शिक्षण संस्था बन्द गर्न गृह मन्त्रालयले सूचना जारी गरेको थियो । तर, सरकारको सो निर्णयको स्थानीय तह र निजी विद्यालय सञ्चालकले विरोध जनाएका छन् । पेट्रोलियम पदार्थको खपत कम गर्न र खर्च कटौती गर्न भन्दै सरकारले आइतबार बिदा दिने निर्णय गरेको थियो ।

करिब २७ हजार सामुदायिक विद्यालयमध्ये अधिकांशको सवारी साधन छैन । विद्यालय तहको शिक्षा स्थानीय तहको जिम्मामा पुगिसकको अवस्थामा पनि सरकारले हस्तक्षेप गरी बिदा दिनैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । तर, स्थानीय तहले सरकारी निर्णय कार्यान्वयन नगर्ने भन्दै विद्यालय खुला गरेका छन् । त्यस्तै त्रिभुवन र सुदूरपश्चिम विश्वविद्यालयले सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको पठनपाठन आइतबार पनि बन्द नहुने जनाएको छ । दुईवटै विश्वविद्यालयले आज सार्वजनिक बिदा दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्