महानगरको मतगणना जारी, काठमाडौं बाहेक अन्य महानगरमा गठबन्धनको अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले फराकिलो अग्रता कायमै राखेका छन् । उनले ३३ हजार ६२४ मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार ९१ हजार ९७२ मत गणना हुँदा बालेनले आफ्नो अग्रतालाई कायमै राखेका हुन् ।

नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले १८ हजार १८९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ हजार ५४ मत प्राप्त गरेकी छन् ।

उपप्रमुखमा भने एमालेकी उम्मेदवार सुनिता डंगोलले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत प्राप्त गरेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार राजेशमान सिंहले २४ हजार ९६४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विजयकुमार सरावगीले १२ हजार ८७४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखतर्फ गठबन्धनबाटै नेपाली कांग्रेसका इम्तियाज आलमले १७ हजार ४०४ मत प्राप्त गरेका छन् । लोसपका पुरुषोत्तमलाल झाले ३ हजार ७४७ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रमुख उम्मेदवार चिरीबाबु महर्जनले २६ हजार २३६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५ हजार ३०७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेका मञ्जली शाक्य बज्राचार्यले १५ हजार १०६ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बाबुराज बज्राचार्यले १० हजार ५३२ मत प्राप्त गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रमुखका उम्मेदवार रेणु दाहालले २७ हजार ४१२ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट बागी उम्मेदवार दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत प्राप्त गरेका छन् भने राप्रपाका हिमला गुरूङले १७ हजार ३२५ मत प्राप्त गरेकी छन् ।

कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज अचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् । आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङले अग्रता लिएकी छन् । उनले ३३ हजार २२१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ३२ हजार ९५९ मत प्राप्त गरेकी छन् ।

मोरङमा भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला प्रमुखमा निर्वाचित भइसकेका छन् । उनी ३० हजार १७० मत ल्याएर निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त गरे ।

उपप्रमुखमा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेकी उम्मेदवार शिल्पा कार्की निर्वाचित भएकी छन् । उनले २५ हजार ६८० मत प्राप्त गरिन् भने गठबन्धनका तर्फबाट उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्