सिरहाको कल्याणपुरमा कांग्रेसको गढ तोड्दै एमाले विजयी



सिरहा ।

सिरहाको कल्याणपुर नगरपालिका प्रमुखमा एमालेका रामपुकार साह तेली विजयी भएका छन् । उनले पाँच हजार ८८३ मत पाए । उनका प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् । उनले पाँच हजार ७३३ मत प्राप्त गरिन् । प्रतिस्पर्धी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत र जसपाका मसुदा खातुनले चार हजार ५४५ मत प्राप्त गरे। १२ वडा रहेको पालिकामा जसपा तीन, एमाले पाँच, कांग्रेस दुई, एकीकृत समाजवादी एक र जनमत पार्टी एक वडामा विजयी भएको छ । ०७४ को निर्वाचनमा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल निर्वाचित भएका थिए।

वडा नम्वर १, २ र १० मा जसपाका वडाध्यक्ष विजयी भएका छन्। वडा नम्वर १ मा ६ सय ५४ मत प्राप्त गर्दै जयराम कामती, २ मा ६ सय ९६ मत प्राप्तसहित मो. साकिर र वडा नम्वर १० मा ६ सय ४९ मत प्राप्त गर्दै नन्दकिशोर साह निर्वाचित भएका छन्। एमालेबाट वडा नम्वर ३ मा एक हजार ५८ मतसहित रामदुलार मण्डल, ४ मा नौ सय ५९ मतसहित प्रदिपकुमार यादव, ६ नम्वर वडामा तीन सय १३ मतसहित दिनेश यादव, वडा नम्वर ११ मा आठ सय २५ मतसहित परमेश्वर साह र १२ नम्वर वडामा एक हजार दुई सय ७४ मतसहित दिलीपकुमार यादव विजयी भएका छन्।

कांग्रेसका कुलदीप यादव सात सय ९५ मतसहित वडा नम्वर ५ र वडा नम्वर ८ बाट रामकिशोर यादव सात सय तीन मतसहित विजयी भएका छन्।एकीकृत समाजवादीका विष्णुदेव यादव नौ सय २८ प्राप्त गर्दै वडा नम्वर ८ को वडाध्यक्ष निर्वाचित भएका छन्। जनमत पार्टीका विनोदकुमार यादव पाँच सय चार मत प्राप्त गर्दै वडा नम्वर ९ मा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्