देशको चिन्ता गर्न नेताहरूलाई सांसदहरूको आग्रह



काठमाडौंं  ।

देशभित्र भ्रष्टाचार बढ्दै गएको र सुशासन कायम हुन नसकेको भन्दै राष्ट्रियसभाका सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । सांसदहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले राजनीतिक दल र दलका नेताहरू आपसमा आरोप–प्रत्यारोपलाई छाडेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘सबै मिलेर देश बनाऔं, सत्तापक्ष र प्रतिपक्षबाट माथि उठौँ ।’ उहाँले प्रतिपक्षको काम विरोध गर्ने मात्रै नभई सकारात्मक सुझाव पनि दिनु पनि भएको जिकिर गर्दै भन्नुभयो– ‘वर्तमान सरकार गठन भएपछि राजनीतिक स्थिरता आएको छ, देशको विकासका निम्ति राष्ट्रिय सहमतिको विकल्प छैन ।’

बैठकमा नेकपा माओवादीकाका सांसद नारायणकाजी श्रेष्ठले दलहरूले आत्मसमीक्षा गरेर कमीकमजोरी सच्याउँदै देशको आर्थिक विकासमा अगाडि बढ्नुपर्ने बताउनुभयो । चुनावमा कसैले जित्ने वा हार्नेभन्दा पनि चुनाव शान्तिपूर्ण, निष्पक्ष रूपमा सम्पन्न हुनु ठूलो कुरा भएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘संविधान कार्यान्वयनलाई नयाँ ढङ्गबाट अगाडि बढाउनु मुख्य विषय हो । सबै राजनीतिक दलहरू राष्ट्रिय मुद्दामा मिलेर अघि बढनुपर्छ ।’

उत्पादन र रोजगारीसँग विकासलाई जोडेर स्थानीय तहले विकासको मोडललाई अगाडि बढाउनुपर्ने धारणा राख्दै श्रेष्ठले राष्ट्रिय नीति, कूटनीति र राष्ट्रियतालाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुनेमा बताउनुभयो । आ.व. २०७९-८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सुझाव दिँदै उहाँले भ्रष्टाचार नियन्त्रणको प्रभावकारी कार्यान्वयन र नियन्त्रण गर्नेमा बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्