भक्तपुरका चारै नगरपालिकाको नतिजा सार्वजनिक



भक्तपुर   । 

भक्तपुरका चारवटै नगरपालिकामा भएको स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानै सूर्यविनायक नगरपालिकाको नतिजा आएसँगै जिल्लाका सबै स्थानीय तहको नतिजा आएको हो ।

पछिल्लो नतिजाअनुसार, सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार वासुदेव थापा विजयी हुनुभएको छ । उहाँ निवर्तमान नगरप्रमुख पनि हुनुहुन्छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो । यसै गरी उपप्रमुखमा एमालेकै उम्मेदवार सरिता भट्टराईले १४ हजार ७ सय ८५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ४१ मत पाउनुभएको छ । मत परिणामअनुसार जिल्लाका चार नगरपालिकामध्ये नेपाली कांग्रेसले दुईवटामा नगर प्रमुख जितेको छ । कांग्रेसले मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाको प्रमुख जितेको हो । २०७४ को निर्वाचनमा कांग्रेसले मध्यपुरको उपप्रमुखमा मात्र चित्त बुझाएको थियो ।

त्यसै गरी नेकपा एमालेले सूर्यविनायकको नगर प्रमुख र उपप्रमुख तथा चाँगुनारायणको उपप्रमुखमा जित हात पारेको छ । ५ वर्षअघि चाँगुनारायणमा पनि एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।यसै गरी नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हात पारेको छ भने माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धनबाट मध्यपुर थिमिको उपप्रमुखमा जित हात पारेको छ ।मध्यपुरमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनअन्तर्गत प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठले जित्नुभएको छ भने माओवादी केन्द्रबाट विजयकृष्ण श्रेष्ठले । उता चाँगुनारायण नगरपालिकामा प्रमुखमा कांगे्रसका जीवन खत्री र उपप्रमुखमा एमालेबाट रमेश बुढाथोकीले विजय हासिल गर्नुभएको छ ।

भक्तपुर नगरपालिकामा पुरानो जितलाई अझ बलियो मतले निरन्तरता दिँदै नेपाल मजदुर किसान पार्टीले नगरप्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीलाई जिताउँदै १० वटै वडामा सेटसहित शतप्रतिशत रूपमा स्थानीय सत्ताको साँचो हातमा लिएको छ । यसैकारण यहाँ अन्य दलको आवाज विगतमा जस्तै सुनिने कुनै गुन्जायस छैन ।

जिल्लाका ३८ वटा वडामध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १५ वटा वडामा जित हात पारेको छ । कांग्रेसले सूर्यविनायक नगरका १० मध्ये पाँच वडा अध्यक्ष जितेको छ । त्यस्तै, मध्यपुरका ९ मध्ये १, २, ३, ५, ६ र ९ गरी छवटा वडामा विजय भएको छ । त्यसै गरी चाँगुनारायणका नौ मध्ये १, २, ५ र ८ गरी चारवटामा जित हात पारेको छ ।त्यसै गरी मजदुर किसान पार्टीले भक्तपुरका १० वटा सबै, मध्यपुरको ८ र चाँगुनारायणको ९ गरी १२ वडा जितेको छ । नेकपा एमालेले सूर्यविनायकका १, ५, ७, ८ र १० गरी पाँचवटा, मध्यपुर थिमिका ४ र ७ गरी दुईवटा र चाँगुनारायणका ३ र ४ गरी नौवटा वडा जित्न सफल भएको छ । यसै गरी स्थानीय तहमा पहिलोपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चाँगुनारायण नगरपालिकाका ६ र ७ नं. वडामा जित दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्