सुविधा फिर्ता गर्दै बिदा भए मेयर र उपमेयर



काठमाडौं  । 

पाँचवर्षे कार्यकाल पूरा गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ महानगरपालिकाबाट बिदा हुनुभएको छ । त्यसै गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल पनि बिदा हुनुभएको छ ।
बिहीबार दिउँसो कार्यालय आएका मेयर शाक्य र उपमेयर श्रेष्ठ खड्गीले कामपाको प्रशासन विभागमा आफूले प्रयोग गरेको सवारीसाधन र मोबाइललगायत अन्य सामग्री फिर्ता गर्नुभएको हो ।

अस्ति बुधबार दिउँसो दुवै जनालाई महानगरको मुख्यालयमा विशेष कार्यक्रमसहित सम्मान र बिदाइ गरिएको थियो । उपमेयर खड्गी दिउँसो १ बजे र मेयर शाक्य साढे ३ बजे कामपा पुग्नुभएको थियो । मेयर शाक्यले घर पुगेलगत्तै आफूले प्रयोग गरेको सवारीसाधन महानगरको प्रशासन विभागलाई फिर्ता गर्नुभएको थियो । उपमेयर खड्गीले पनि साँझ सवारी साधन फिर्ता गर्नुभएको थियो ।मेयर शाक्यको अध्यक्षतामा तीन वर्षअघि बसेको कार्यकारीको बैठकले मेयर, उपमेयर र वडा अध्यक्षलाई एउटै नम्बर प्रयोग गर्न कामपाबाटै सिम व्यवस्था गरेको थियो ।

मेयर र उपमेयरले सिमसहितको मोबाइल फिर्ता गर्नुभएको प्रशासनले जनाएको छ ।कामपामा नयाँ मेयर र उपमेयरले पदबहाली गरेपछि अघिल्लो मेयरले प्रयोग गरेको नम्बर सञ्चालन गर्नुपर्ने व्यवस्था छ । महानगरवासीलाई मेयर, उपमेयर र वडा अध्यक्षलाई सहजै सम्पर्क गर्ने व्यवस्था गर्न सिमको व्यवस्था गरेको थियो । हिजै ३२ वटै वडा अध्यक्षले पनि सिम बुझाएका कामपाले जनाएको छ ।कामपा प्रशासन विभाग प्रमुख महेश काफ्लेले मेयर र उपमेयर दुवैले बरबुझारथ गरी बिदा हुनुभएको बताउनुभयो । मेयर शाक्य र उपमेयर खड्गी दुवै जना आ–आफ्नो कार्यकक्षमा बस्नुभएको थियो ।नेपाल समाचारपत्रसँग कुरा गर्दै मेयर शाक्यले आफूले मेयरको हैसियतमा पाएको सुविधाका सवारीसाधनलगायत सम्पूर्ण सामग्री सचिवालयमार्फत प्रशासन विभागलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
उपमेयर खड्गी श्रेष्ठले नियमअनुसार सवारीसाधनलगायत सम्पूर्ण सामग्री बुझाएको बताउनुभयो । विसं २०७४ सालको स्थानीय निर्वाचनबाट विजयी भएका मेयर शाक्य र उपमेयर खड्गी श्रेष्ठले बिदा हुँदा कर्मचारीको प्रशंसा गर्नुभएको थियो ।

प्रशासन विभाग प्रमुख काफ्लेले मेयर र उपमेयरले आफ्नो दायित्व पूरा गरी बिदाबादी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुवै जनाले महानगरको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँहरूको योगदानलाई कर्मचारीले बिर्सन सक्दैनौं ।’ मेयर र उपमेयरको सचिवालय खाली भएपछि दुवै प्रतिनिधिको सचिवालय बन्द छ ।केही दिनपछि नयाँ मेयर उपमेयर आएपछि कसरी व्यवस्थित तथा स्वागत गर्ने भन्ने विषयमा छलफल गरिरहेका छांै’ –कामपा प्रशसनका एक कर्मचारीले भने । भाडाको घरमा बसेको देशकै ठूलो महानगरपालिकामा नयाँ मेयरबाट कर्मचारीले ठूलो अपेक्षा राखेका छन् । कामपाले टेकुुस्थित वातावरण व्यवस्थापन विभागको भवन भत्काएर नयाँ भवन बनाउन शुरू गरेको छ । ‘हामी टेकुको नयाँ भवनमा बस्नुभन्दा पहिला जेडीए भवनबाट वागदरबारलाई व्यवस्थित गर्न नयाँ मेयर र उपमेयरलाई अनुरोध गर्दछौं’– कामपाका कर्मचारीले भने ।

उता ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर गीता सत्यालले पनि महानगरपालिकाको सुविधाबाट प्राप्त सवारीसाधन र मोबाइल प्रशासनलाई हस्तान्तरण गर्नुभएको छ । हिजोबाट औपचारिक रूपमा बिदा भएका उपमेयर सत्यालले आफूले महानगरपालिकाको सबै सामग्री हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।ललितपुर महानगरले तत्कालीन मेयर चिरिबाबु महर्जन नेपाली कांग्रेसबाट ललितपुर महानगरको मेयरमा प्रतिस्पर्धा गर्नुभएको छ । त्यसैले ललितपुरले उपमेयर एक्लैलाई बिदाइ गर्न औपचारिक कार्यक्रम नराखेको कर्मचारीको भनाइ छ ।

ललितपुर महानगरपाकिाको दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका निवर्तमान मेयर चिरिबाबु महर्जनले मेयरबाट राजीनामा दिएकै दिन महानगरपालिकाको सवारीसाधन र अन्य सुविधा फिर्ता गर्नुभएको थियो ।मेयरका उम्मेदवार महर्जनले उम्मेदवारी दिनुअघि मेयरको हैसियतमा प्राप्त गरेको सवारीसाधनसहितको सुविधा फिर्ता गरेको पत्र बुझाएपछि मात्र उम्मेदवारी दर्ता गर्ने व्यवस्था भएकाले सबै सामग्री फिर्ता गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्