आठ वर्ष आघात सहेर बलात्कारको पीडा पोखिन् पीडितले



काठमाडौं । 

ब्युटी पेजेन्टमा सहभागी १६ वर्षकी किशोरीलाई कार्यक्रम सञ्चालक तथा फोटोग्राफरले बलात्कार तथा यौनशोषण गरेको विवरण दुई दिनदेखि सामाजिक सञ्जालमा छरपस्ट छ । तर, ‘कानुनी प्रक्रियाका कारण’ प्रहरीले आरोपितलाई पक्राउ गर्न सकेको छैन ।

‘यस विषयमा हामीलाई कुनै उजुरी परेको छैन, सामाजिक सञ्जाल र न्युज पोर्टलहरूबाट हामीले थाहा त पायौं’, नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले नेपाल समाचारपत्रलाई बिहीबार भन्नुभयो– ‘हामी बुझ्दै छौं, आवश्यक कदम चाल्छाै‌ ।’ ‘जस्टिस फर भिक्टिम’ ह्यासट्यागमा पीडित किशोरीले गरेको बयान छ । पीडितका अनुसार उनीमाथि आठ वर्षअघि यो यौनहिंसा भएको हो । अहिले २४ वर्षकी उनले मनोज नामका ब्युटी पेजेन्ट सञ्चालक र श्रीधर नामका फोटोग्राफरले पेयमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेका थिए ।

उनका अनुसार २०७१ सालमा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ ब्युटी पेजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले टिकटक भिडिओमा भनेकी छन् ।त्यति बेला ब्युटी पेजेन्टमा सहभागीलाई पनि त्यसबारे जानकारी गराएको उनले बताएकी छन् । तर, कसैले पनि आफूलाई साथ नदिएको उनको भनाइ छ । यसरी साथ नदिनेमा पहिला मिस नेपाल भइसकेकी र महिला अधिकारका पक्षमा बोल्ने एक टेलिभिजन कार्यक्रमकी सञ्चालिकाप्रति पनि उनले आक्रोश पोखेकी छन् ।
यौन हिंसाका कारण दुईपटक आत्महत्याको प्रयास गरेको पीडित रेग्मीले भिडिओमा बताएकी छन् । त्यसको असरले अहिले पनि थेरापी गरिरहनुपरेको उनको भनाइ छ ।

यतिका वर्षसम्म पनि यो पीडा कम नभएपछि अहिले बोल्न बाध्य भएको उनले बताएकी छन् । ‘मैले यो कुरा धेरै वर्ष मनमा राखेँ, तर म सन्चो भइनँ,’ उनले भनेकी छन्, मैले थेरापी गरेँ, कति पैसा खर्च गरेर औषधि खाएँ, तर मानसिक आघात बढिरह्यो ।आफूले लामो समय यो अपराध सहेको बताउँदै अरूले यस्तो भोग्न नपरोस् भनेर सार्वजनिक गरेको उनको भनाइ छ । उनले भिडिओमा भनेकी छन्– ‘यदि कोही केटी भोलि मोडल हुन चाहन्छौ भने आफ्नी ममीलाई नलिई नजाऊ । मैले गरेको जस्तो गल्ती नगर !’उनको टिकटक भिडिओ सार्वजनिक भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरू पीडित युवतीको पक्षमा बोलिरहेका छन् । केही प्रतिनिधिमूलक भनाइ ः

इट इज ट्रू

पूर्व मिस नेपाल र अधिकारकर्मीले पीडितलाई ‘बलात्कार हुनु तिम्रो समस्या हो, म सघाउन सक्तिनँ’ भनेर जवाफ दिएको सन्दर्भ कसरी पत्याउने ! तर, हामी, ट्रोल हिप्पो नेपाल उनलाई सघाउन तयार छौं, कसैले बाधा–विरोध गरोस् हामीलाई मतलब छैन ।

मिमी पाना

किशोरीलाई मोडलिङ तथा सिनेमाको क्षेत्रमा अगाडि बढाइदिन्छु भनेर फोटो सुट गराउने कन्सल्टेन्सी भएका फोटो पत्रकारले ६ महिनासम्म जबरजस्ती करणी गरेछन् । विभिन्न धम्की दिँदै अन्य साथीहरूसँग पनि सम्बन्ध बनाउन बाध्य बनाएछन् । उनी कुनै एउटा सुन्दरी प्रतियोगितामा रनर अप पनि भएकी रहिछन् । उनले दुई वर्षदेखि डिप्रेसनको औषधि खाइरहेकी छिन् तर पनि आफूले आफूलाई सम्हाल्न नसकेको बताउँछिन् । औषधिले काम नगरेपछि डाक्टरले मनमा गुम्साएर राखेका कुरा खोल्न सुझाव दिएकाले उनले टिकटकमार्फत आफ्नो पीडा पोखेकी हुन् । हामी उनीसँग कुरा गर्ने प्रयास गरिरहेका छौं । पीडक जोसुकै भए पनि कानुनबमोजिम सजाय पाउनै पर्छ ।

अनु अवस्ती

नेपालमा मिस नेपालजस्ता इभेन्टको नाममा हुने बलात्कार रोकिनै पर्छ । उनीजस्तै अरूले पनि डिप्रेसनको शिकार हुन नपरोस्, अनुसन्धान अघि बढायो भने अपराधीहरू सजिलै समात्न सकिन्छ । तर यो नेपाल हो, यहाँ न्याय पाउन गाह्रो छ, हामीले आवाज उठाएर सरकारलाई दबाब दिनै पर्छ !

रश्मिला प्रजापती र पुष्पा भट्टराई

सबै चुनावी नतिजातिर केन्द्रित भइरहँदा हिजो एकजना युवा महिलाको टिकटक भिडियोले धेरैलाई स्तब्ध बनायो । सन् २०१४ मा मनोज ….नामको व्यक्तिले लेमोनेडमा मादक पदार्थ मिसाएर खुवाएर बलात्कार ग-यो र भिडियो बनायो । सो भिडियो देखाएर ब्लाकमेल गरेर ६ महिनासम्म बलात्कार ग-यो र अरू केटाहरूसँग पनि सुत्न बाध्य गरायो । अपराधी उम्किन नपाओस् !

प्रतिक्रिया दिनुहोस्