अमेरिकामा सपूतको पीरलाई वन्स मोरको ओइरो



कोलोराडो, अमेरिका  । 

लोकप्रिय गायक प्रकाश सपूतले हालै अमेरिकाको कोलोराडोस्थित डेन्भरमा आफ्ना चर्चित गीत गाएर स्थानीय नेपालीलाई प्रसन्न बनाएका छन्।

डेनभर साउथ हाइस्कुलको हलमा आयोजित सांस्कृतिक कार्यक्रममा सपूतले पछिल्लो विवादास्पद र मार्मिक गीत पीर प्रस्तुत गर्दा दर्शकदीर्घामा उपस्थित करिब सात सय सहभागीले दुवै हात हल्लाएर सँगसँगै गीत गाएका थिए। गायन प्रस्तुतिलाई अघि बढाइरहँदा सपूतलाई बारम्बार वन्समोरको चर्को दबाब आएको थियो। सपूतका गलबन्दी च्यातियो, बोल मायालगायतका अन्य गीतलाई पनि दर्शकले उत्तिकै मनपराएका थिए।

सपूतको सिर्जना तथा प्रस्तुतिलाई देश-विदेश जहाँसुकै रहेका नेपालीले उत्तिकै मनपराउँदै आएका छन्। प्रेम विछोडसँगै सामाजिक गीत गाएर दर्शक स्रोताको मन जित्दै आएको प्रकाशको पछिल्लो गीत पीरको प्रकाशनपछि उनको उचाइ अझै बढेको छ। देश भन्नु त के रै’छर, चार किल्लाको माटो, त्यही माटो नि उसको मात्रै, जो छ टाठोबाठोजस्ता गम्भीर शब्दले उनलाई लोकप्रियताको शिखर चढाइरहेको छ।

प्रतिव्यक्ति १५ र दम्पतीका लागि २५ डलर टिकट तिरेर उनको कार्यक्रम हेर्न आएका दर्शकले उनलाई बहुप्रतिभाका धनी भने।उनको रचना, गायन, प्रस्तुतिको भिन्न सिर्जनात्मक कोण सबैले मलाई अत्यन्त प्रभावित बनायो, उनीप्रतिको मेरो सम्मान ह्वात्तै बढेको छु लामो समयदेखि कोलाराडोमै शिक्षक पेसामा रहेका माधव शिवाकोटीले भने। सपूतलाई कार्यक्रममा गायिका सम्झना पाण्डे र हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठीले सघाएका थिए।

प्रतिक्रिया दिनुहोस्