पाँचखालमा दोश्रो चरणमा मतदान : १७७८ मतदाता मध्ये १३७८ मतदानमा सहभागि



काभ्रे  । 

पाँचखाल नगरपालिका वडा नम्वर १३ कोशिदेखा स्थित श्रीराम मावि मतदान केन्द्रमा दोश्रो चरणमा निर्वाचन सम्पन्न भएको छ । नेपाली काँग्रेसका बुथ प्रतिनिधिले मतपत्र लुटेर भागे पछि बैशाख ३० गते स्थगित भएको निर्वाचन दोश्रो चरणमा सम्पन्न भएको हो । पाँचखाल नगरपालिका १३ श्रीराम मावी ठाँटीडाँडा कोशिदेखामा २ वटा मतदान केन्द्र रहेका थिए ।

८ सय ८३ पुरुष र ८ सय ९५ महिला मतदाता गरी कुल १ हजार ७ सय ७८ मतदाता रहेका थिए । मतदाता मध्ये १ हजार ३ सय ७८ मतदाता मतदानमा सहभागि भएका थिए । जसमध्ये ६ सय ८८ महिला र ६ सय ९० पुरुष रहेका छन् । मतदान गराउन सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र कोष तथा लेखा नियन्त्रक हेमन्त निरौलाको टिम कृयाशिल भएको थियो । सुरक्षाका लागि जिल्लाका चारवटै सुरक्षा निकाय खटिएका थिए ।

निर्वाचनको दिन लाईनमा मतपत्र लिन बसेका मतदातालाई कर्मचारीले धेरै मतपत्र दिन खोजेको आरोप लगाउँदै प्रतिनिधि आफैले मतपत्र लिएर फरार भएका थिए । उनि फरार भए लगत्तै निर्वाचनमा प्रयोग भएका फर्निचरहरु तोडफोड गरिएको थियो । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छैन । जेष्ठ ३ गते तोकिएको निर्वाचनमा दलका कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो भने मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । ‘दोश्रो पटक राखेको भोट त खेर जाँदैन कि ?’– ९६ बर्षिय निरबहादुर मगरले भन्नुभयो–‘३० गते मतदान गरेर घर फर्किएको थिएँ आज फेरी मतदान गर्नु प-यो ।’

दलका प्रतिनिधिहरुले मत दायाँबाँया नजाओस भन्ने उदेश्यले सहयोगी राखेर मतदान गराएका छन् । अशक्त भनिने तर नभएका, जेष्ठ नागरिक भएर पनि मतदान गर्न सक्ने ब्यक्तिहरुको हकमा पनि एकाघरका ब्यक्तिहरु गएर मतदान गरिरहेका छन् । पाँचखाल नगरपालिकाको समग्र मतपरिणामलाई प्रभावित गर्ने गरी स्थगित निर्वाचन पुनः संचालन गर्न नगर प्रमुख पदका उम्मेदवार महेश खरेलले मानेका थिएनन ।

सोहि दिन चौरीदेउरालीको प्रभामा, तेमालको कुशेश्वर र चापाँखोरीमा पनि स्थगित निर्वाचन पाँच घण्टा पछि शुरु गरेर मध्यरातसम्म संचालन गरिएको थियो । तर कोशिदेखालाई राजनीतिक दाउपेच र योजनाबद्ध ढंगबाट विथोल्न खोजिएकाले पुनः मतदान शुरु हुन नदिएको स्थानियहरुले बताएका छन् । पाँचखालमा निवर्तमान प्रमुख महेश खरेल गठवन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार छन् भने एमालेका तर्फबाट कञ्चन अधिकारी प्रमुख पदका उम्मेदवार छन् ।

साँझबाट मतगणना

कोशिदेखाको मतपेटिका पाँचखाल नगरपालिकाको निर्वाचन कार्यालयमा प्राप्त भएको केहि घण्टामै मतगाणना शुरु हुने भएको छ । मतगणनाको तयारी भईसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । अन्य पालिकाहरुमा मतगणनाको कार्य अन्तिम हुन लाग्दा पाँचखालमा निर्वाचन स्थगित भएका कारण हुन सकेको थिए । भुम्लु गाउँपालिकाले मतगणना सम्पन्न गरेको छ । पालिकामा गठवन्धनका तर्फबाट माओवादीका प्रेमबहादुर भुजेल र नेपाली काँग्रेसका दावा लामा विजयी भएका छन् । सोहि पालिकामा एमालेले ५ वटा, नेपाली काँग्रेस ३, नेकपा माओवादी १ र नेकपा एकिकृत समाजबादी १ वटा वडामा विजयी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्