शेरबहादुर र ओलीबीचकोे यो चुनाव



यता निर्वाचन सम्पन्नपछि निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर मुलुकभर केही छिटपुट घटना र अशान्तिका बाबजुद स्थानीय तहको निर्वाचन शान्त, मर्यादित र सहजरूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । उता राष्ट्रिय मानव अधिकार आयोगले भने निर्वाचन अशान्त, भयपूर्ण र हिंसात्मक भएको जनाएको छ ।

सरकारका यी पृथक् अङ्गहरूको कुरामध्ये कुन ठीक, कुन बेठीक भन्ने तर्क नागरिकले पछिसम्म गर्दै जालान् तर अहिले भने यहाँ यो चुनावमा अत्यधिक चर्चा–चासोमा रहेका भरतपुर, काठमाडौँ, पोखरा, वीरगन्ज र विराटनगरबारे फरक प्रतिकोणबाट विश्लेषण प्रयास गरिएको छ ।

पञ्चायती शासकहरूलाई सबक सिकाउन नानीमैयाँ दाहाललाई जिताउने ठाउँ हो– काठमाडौँ । यसपटक स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर ठूला दललाई सबक सिकाउन चाहेका छन् जस्तो पूर्वानुमान हुँदै छ । आशा गरौं, स्वतन्त्र उम्मेदवार विजयपछि पुराना र सामन्ती सोचका ठालु दलहरू भरपुर सच्चिने छन् ।

यी हरफ लेखिरहँदासम्म देशैभरि मतगणनाका लागि पूर्वतयारी र केही स्थानमा मतगणनाका थालनी भएका छन् । देशैभरि कुल १४ जिल्लाका १७ स्थानहरूमा पुनः निर्वाचन गराउनै पर्ने भएको निर्वाचन आयोगले जनाएको छ ।

यो निर्वाचनको उल्लेख्य पक्ष भनेको पार्टीगत झन्डा, तुल र भित्ते लेखनबाट हुने प्रचार प्रदूषण देखिएनन् । यही दृश्य राम्रो रहेको कुरा सम्बद्ध अनुगमनका पक्षले टिप्पणी गरेका छन् । यसरी हेर्दा निर्वाचनमा तुलनात्मक शहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रमा बढी प्रतिशत मत खसेको छ । काठमाडौँ महानगरपालिकामा ५५ प्रतिशत, जबकि भरतपुरमा भने ६९ प्रतिशत मत खसेको जानकारी आयोगले दियो ।

देशैभरि अधिक चासोको केन्द्रविन्दु रहेको इपिसेन्टर भरतपुरमा यसपटक पहिलेको जस्तो प्रकारका धाँधलीका कुराहरू आएका छैनन् तर गठबन्धनले मतदातालाई मत सङ्केत गर्नका लागि सजिलो होस् भनी नमुना मतपत्रमा स्वस्तिक छाप लगाएर टुक्रा बनाई चिट चोरेका घटना बाहिर आए । घटनासँगै समाजमा गलत सन्देश प्रवाह भएको देखियो । परीक्षा पास गर्नका लागि विद्यार्थीले चिट चोर्ने गरेजस्तै अब चुनावमा निरक्षर मतदाताको सहयोगका लागि चिट चोर्ने संस्कार चल्यो । यो एक प्रकारको नयाँ धाँधली हो ।

चुनावी महाभूकम्पमा भरतपुर किन चर्चाको केन्द्रविन्दुमा छ भने, त्यहाँ नेकपा माओवादी केन्द्रका सुप्रिमो प्रचण्ड–पुत्री रेणु दाहाललाई कल, बल र छल जे–जसरी भए पनि जिताउन यसपटक राष्ट्रिय स्तरमै नेपाली कांग्रेस, नेकपा समाजवादी, जसपा, जनमोर्चा र माओवादी केन्द्र धोती खोलेरै लागेका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै बागी नेता जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता लिनका लागि गृहमन्त्री बालकृष्ण खाँडदेखि, रामचन्द्र पौडेल र प्रधानमन्त्री शेरबहादुर देउवासमेत ‘स्वस्थानी कथामा वर्णित लावण्य देशमा हात्तीले राजा बनाएका नवराज भाँतीमा लावालस्करसहित राज्यकोष दुरुपयोग गर्दै गए’ तर केही पिताम् चलेन । अविचलित पौडेलले आफू र चितवनका स्थानीय नेताहरूलाई समेत चर्चाको सुर्खीमा ल्याइदिए ।

चितवन मुलुककै चेतनशील नागरिकहरू बसोबास गर्ने थलो हो । यहाँ ७७ जिल्लाकै मानिसहरूको बसोबास पाइन्छ । मतपेटिकामा बन्द भएका मतपत्रको गिन्ती नसकी यसै त भन्न सकिँदैन तर यसपटक भरतपुरले जब्बर गरेरै सरकारी कांग्रेसी रबैयालाई दह्रो तमाचा दिएको छ । कार्यकर्ताहरू पार्टीका दास नहुने र नेतृत्वले आफ्नो सत्ताका लागि ठिनु तेस्र्याएर जिल्लास्तरमा क्रियाशील कार्यकर्ताहरूको निष्ठा, त्याग र आदर्शमा प्रहार गर्न नहुने शिक्षा दिएको छ । यो शिक्षा कांग्रेस र माओवादी दुवैलाई महँगो पर्न सक्ने पूर्वानुमान गरिँदै छ ।

भरतपुरमा धेरै थरी टाउकाहरू धेरै शैलीबाट खेले । सत्तासीन गठबन्धनका सहकारी टाउकाहरूले बागी उम्मेदवार जगन्नाथ पौडेललाई राजदूत, केन्द्रीय मन्त्री र सर्वोच्चका न्यायाधीशको समेत बम्परमा अफर दिए । अफरै अफरबीच पौडेल दृढ सतिसालझैँ ठिङ्ग उभिए । चुनावी भाषणकै लागि किराया दिएर भरतपुर लगिएका कलाकार सन्दीप क्षेत्रीलाई गठबन्धनले ‘डेढ करोड फी’ त कारिगढीकै लागि तिरेको थियो भन्ने भाष्य अहिले बाहिर आयो । त्यसैले भरतपुर हार्नु भनेको प्रचण्डका लागि मात्र नभएर देउवा अङ्कललाई समेत ‘गाँठ भि गुमाना बेब्कुफ भि होना’ भएको छ ।

कांग्रेस देशैभरि जे नतिजा आओस् त्यो स्वीकार्न हरघडी तत्पर छ तर भरतपुर हारेका खण्डमा देउवाको सत्ता ढल्ने सोह्रै आना सत्य छ, किनकि प्रचण्ड भनेका सत्ताविना नटिक्ने राजनीतिक प्राणी हुन् । भरतपुरमा कथम् नानी छोरीको हार भएमा महाभारतमा दुर्योधनको मृत्युपश्चात् सन्तापमा परेका धृतराष्ट्रझैँ मूच्र्छित हुन बेर लगाउँदैनन् । तत्पश्चात् संघीय र प्रदेश चुनावमा अस्तित्वको लडाइँमा केपी ओलीसँग अप्रत्यासित साँठगाँठमा लाग्नेछन् । एउटा कुरा के पक्का छ भने, ‘प्रचण्ड त्यो अमरलत्ती हुन् जो जुन–जुन राजनीतिक बटवृक्षमा जेलिन्छन् ती सब वृक्षहरू ढिलोचाँडो महाप्रस्थानको बाटो लिन्छन् ।’

यसै पटक २०१५ सालदेखि नेपाली कांग्रेसमा मत हाल्दै आएका एक वरिष्ठ मतदाता दुखेसो पोख्दै थिए– ‘पहिले–पहिले रूख हेर भन्ने काँंग्रेसले यसपटक बुद्धि बिग्रिएर मुख हेर भन्यो । भोट खसाल्दै जाँदा झन्डै बिग्रिएको । आफ्नो चिन्हलाई छाडेर विपक्षी चिन्हमा मत दिँदै गर्दा बिहे गरेर आएको श्रीमान्लाई छाडेर पोइला हिँडेको अनुभूति हुँदो रहेछ ।’ यस्ता अनुभूति कांग्रेसका लाखौं भोटरहरूले गरिरहेका छन् । यो भनेको पार्टीको मात्र नभएर भोटरहरूको समेत पतनको श्रीगणेश हो ।

राजनीतिक विश्लेषक सरिता गिरी भन्छिन्– ‘मेरो क्षेत्रका मतदाताको मनोविज्ञान र मतदानको भङ्गीमा पढ्दा जगन्नाथ पौडेलजीले २५ हजार प्लस भोट ल्याउनुहुन्छ भन्ने अनुमान छ ।’ उनी अघि भन्छिन्–‘जितभन्दा अघि नै विजयोत्सव नमनाउनू ! जित्दाजित्दैका आखिरी पलमै समेत हार्न सकिन्छ ।’ गठबन्धनलाई यो सटिक विश्लेषण हो, अहिलेको माहौल देशैभरि यस्तै छ । जित–हार त ब्यालेटले संख्यात्मकरूपमा केही दिनमा बताइहाल्नेछन् तर यसपटक देशैभरि ठालु पार्टीहरूले जुन प्रकारले टिकट बेच्ने शैली अपनाए त्यो आम मतदाताका लागि प्रतिकर पक्कै थिएन ।

काठमाडौँमै एमालेले मेयर र उपमेयरमा केशव स्थापित र सुनिता डंगोललाई जुन भङ्गीमा देखाउँदै टिकट दियो, त्यसबाटै एमालेभित्र भुसको आगो सल्कियो । स्थापित २४ वर्षअघिका सफल मेयर भन्ने कुरा भँजाएर टिकट हत्याउन सफल हुँदा रैथाने नेता रामवीर मालाकार प्रवृत्तिका नेताहरू रुष्ट भए ।

अर्कातिर अघिल्ला अलोकप्रिय मेयर विद्यासुन्दर शाक्यको सल्लाहकार टिममा करिब डेढ वर्ष सहायक विज्ञको जागिर खाएकी तर अहिलेसम्म कुनै राजनीतिक पदमा नदेखिएकी कच्चा खेलाडीलाई एमालेले त्यसरी आफ्नो पार्टीभित्र भित्र्याएर टिकट देला भनेर एमाले समर्थित मतदाताले सय मनमा एकमनले समेत सोचेका थिएनन् ।

सोकै परिणाम काठमाडौँमा ५५ प्रतिशत मात्र मत खस्यो । जति कम मत खस्यो उति स्वतन्त्र उम्मेदवार बालेन शाहलाई फाइदा हुन्छ भन्ने आङ्कलन गरिँदै छ । रमाइलो कुरो त अहिले राजधानीका गल्ली र चिया पसलहरूमा के सुनिँदै छ भने, ‘बालेनले जिते भने पार्टीहरू असफल भएका हुन्, पार्टीका उम्मेदवारहरूले जितेछन् भने मतदाताहरू हारेका हुन् ।’

जसले जे भने पनि छिटफुट पालिकाहरूबाहेक यो देशमा चुनाव शेरबहादुर र केपी ओलीबीच भइरहेको हो । अरूको चित्त दुख्ला, माफ पाऊँ । जित्ने र हार्ने यी दुईले हो । समकालीन राजनीतिका दुई भरोसा र विश्वास यिनै हुन् । मान्छे भएकाले यिनीहरूका पनि दुर्गुण छन् । बाँकी सबै प्रतीक्षाका कुरा हुन् ।

चर्चित पत्रकार नारायण अमृत लेख्छन्– ‘जसले जे भने पनि छिटफुट पालिकाहरूबाहेक यो देशमा चुनाव शेरबहादुर र केपी ओलीबीच भइरहेको हो । अरूको चित्त दुख्ला, माफ पाऊँ । जित्ने र हार्ने यी दुईले हो । समकालीन राजनीतिका दुई भरोसा र विश्वास यिनै हुन् । मान्छे भएकाले यिनीहरूका पनि दुर्गुण छन् ।

बाँकी सबै प्रतीक्षाका कुरा हुन् ।’ अहिलेको स्थानीय निर्वाचनको ‘झिष्ट’ हुनु पनि यही हो । चुनावमा एकातिर पाँचदलीय गठबन्धनका नाममा शेरबहादुर देउवा याने नेपाली कांग्रेस र अर्कोतिर चार दलीय गठबन्धनका नाममा केपी ओली याने कम्युनिस्टहरूकै बद्देबद्दे प्रतिस्पर्धा हो । केही वर्षयताका यी दुई पार्टीहरूको रबैया हेर्दा अबका केही वर्षहरूमै नेपालमा दुई पार्टी सिस्टम पो भएर जान्छ कि भन्ने अड्कलहरू देखिन थाले । पार्टीहरू असफल भएका स्थानमा केही जुझारू युवाहरूले समेत पार्टीका सिटहरू खोस्ने निश्चित देखियो । यो कुरालाई आफ्नो मत खसाल्दै गर्दा प्रतिपक्षी नेता ओलीले समेत छ्वास्स चुहाउन भ्याए ।

उनले भने– ‘देशैभरिको माहोल हेर्दा अब एमाले एकातिर र कांग्रेसलगायतका सबै दलहरू अर्कोतिर जस्तो देखिने स्थिति आयो । यसले अब नेपालमा दुई दलको सम्भावना देखिन्छ ।’ ओली बाको बोलीमा द्विअर्थी कूटनीतिक अर्थ त लुकेको छ नै, साथै कांग्रेसले एक्लै आफूलाई देशैभरिका पालिकाहरूमा उम्मेदवार उठाउन नसकेको मानसिकता पक्रेर विपक्षी हुनुको नाताले ओलीले मज्जाले शाब्दिक लडाइँ खेले ।

कुरो ओली र देउवाको मात्र होइन यहाँ प्रचण्ड, माधव नेपाल र बाबुरामहरूको समेत सोच पुरानिएको र तिनीहरूको सेन्टिमेन्टसँग जनता क्रमशः टाढिँदै गएको छनक हो । गीतकार राजेन्द्र थापा सामयिक परिस्थितिको निर्मम चित्रण गर्दै भन्छन्– ‘बालेनको पक्षमा जुन असाधारण माहौल बनेको हो त्यो बालेनको लागि नभएर आजको हरेक दलका हरेक साबिक नेताहरूको विरुद्धको एन्टी फिलिङ या एन्टी भोट हो ।

बालेन एक माध्यम हो– यो देशले भोगेको लुट तथा अराजक राजनीति र देशको विनाशसँगै बेरोजगारी, घूस, नातावाद र कृपावादविरुद्धको आवाज मुखरित गर्ने । यो आवाज सकल युवाको हो । निश्चित रूपमा दलका हुनमान र युवाहरूमा मालिकहरूबाट प्राप्तिको आशा हुनुभन्दा पनि स्कुलदेखि नै राजनीति इन्जेक्सन भरिएका कारणले हो ।

बालेनले जिते पनि, हारे पनि पार्टीका सेवकहरूभन्दा बढी युवाहरूमा अब वितृष्णाको झिल्का परिसकेको छ । यो सेलाउँदैन र यदि बालेनले जितेमा परिवर्तनको मसाल यसैबाट देशभर युवाहरूले शुरु गर्नेछन् । आगामी चुनावमा दलभन्दा बाहिरबाट युवाहरू स्वतन्त्र उठ्नेको संख्या अधिक हुनेछ । देशलाई लङ्का बन्नबाट रोक्न यो आवश्यक उपचार हुनेछ ।

यदि यो युवाको मनको झिल्का निभाउन खोजेमा लङ्काझैँ जनता स्वयम् नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीहरूको घर खोजी–खोजी जलाउनेछन् भन्ने सम्भावनाको अनुमान छ । त्यो झलक बालेनको पक्षमा देखिएको डेडिकेटेड सपोर्टले बुझाएको ठान्छु । बालेन र सुनिता डंगोलहरूले जितून । नभए देश हार्छ ।’

यसै माहौलमा परदेशका ६० लाख मतदातालाई अनलाइन, पोस्टल भोटिङ र प्रिभोटिङको दायरामा ल्याउन सके कति सुन्दर हुन्थ्यो होला यो गणतन्त्र ? अहिले देशैभरिका सचेत मतदाताहरू यस्तै कामना गर्छन् तर यी कुराहरू प्रत्याभूत गर्नसमेत नयाँ पुस्ताले चुनाव जित्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्