धर्मादित्य पत्रकारिता पुरस्कार प्रदान



न्युज अफ नेपाल, ललितपुर।

यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार काभे्रका पत्रकार रमा कर्णजित (ताम्रकार) लाई प्रदान गरिएको छ । नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले सातौं मातृभाषाको पत्रकारिता दिवसको अवसरमा आईतबार ललितपुरमा एक समारोहको

आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो। नेपालीभाषाको पत्रकारितासंगै आफ्नै सम्पादक र प्रकाशनको रुपमा नेपाल भाषाको मासिक पत्रिका दलुचा नियमित प्रकाशन गरी नेपाल भाषाको पत्रकारिता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनु भएकोलाई मध्यनजर गरी सो पुरस्कार प्रदान गरिएको शाखाका कोषाध्यक्ष सुनील बज्राचार्यले जानकारी दिनुभयो ।

७३ वर्षीया पत्रकार कारञ्जित हाल अस्वस्थ रहनुभएकोले पुरस्कारको १५ हजार नगद राशि र प्रमाणपत्र उहाँका प्रतिनिधिको रुपमा पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यलाई प्रदान गरियो।सो अवसरमा नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले समुदायको हक अधिकार, सामाजिक परिर्वतनका लागि पत्रकारितालाई प्रर्वद्धन गर्न नयाँ पत्रकार उत्पादन र पत्रकारितामा लागेकालाई प्रोत्साहित गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

मानिसहरुले तडकभडक गरी जन्मदिन मनाउने, विभिन्न अवसरमा भोज खुवाउने भन्दा पत्रकारिता पुरुस्कार गर्नेतर्फ स्थापना गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष बज्राचार्यको जोड रहेको छ ।

सो अवसरमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर ‘अशंबरे’ ले मातृभाषाको पत्रकारिताको गुणस्तर, व्यावसायिकता विकासको राज्यको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार किरण शाक्यले धर्मादित्य धमाचार्यको जन्मजयन्तीको दिन मनाउँदै आएको मातृभाषा पत्रकारिता दिवसलाई बृहत बनाउने दिशामा थप गृहकार्य गनुपर्ने खाँचो औल्याउनुभयो ।

पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले नेपालको मातृभाषाको पत्रकारिताको विकासको लागि पत्रकार राष्ट्रिय दबूले उठाउँदै आएको एजेण्डा र मुद्दाको कार्यान्वयन गरी प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासमा टेवा पु-याउन सबै सरोकारवालाको ध्यान आकृष्ट गराउनुभयो ।ललितपुर शाखाका अध्यक्ष सागर महर्जनले मातृभाषाको पत्रकारितामा विकासमा योगदान दिएका पत्रकारहरुको मनोबल बढाउन दाता स्वर्गीय रमेश महर्जनको सहयोगमा स्थापित यस पुरस्कार विविध कारणले ६ वर्षदेखि रोकिएको उल्लेख गर्दै अब निरन्तर प्रदान गर्दै जाने बताउनुभयो ।

नेपाल संवत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो ।उहाँको १ सय १७ औं जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा सात वर्ष अघिदेखि मनाउन थालिएको हो ।यही पत्रिका नेपाली भाषा बाहेक अर्को भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिले सम्मको अध्ययनले प्रमाणित गरेकोले मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको पत्रकार दबूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्