म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी



म्याग्दी  ।

पालिका तह चुनाव–२०७९ अन्तर्गत आज सम्पन्न मतगणनाको घोषित अन्तिम मतपरिणाम अनुसार पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएका एमाले उम्मेदवार वेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार श्रीप्रसाद रोकाले २ हजार ९ सय ७० मत पाउनुभएको छ भने नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले २ हजार २ सय २५ मत पाउनुभयो ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेका उम्मेदवार लक्ष्मीदेवी घर्तीमगर पुनले ३ हजार १ सय ६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पिपला बुढाले ३ हजार १ सय ३९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मालिका गाउँपालिकाले जनाएको छ ।

जम्मा ७ वटा वडा रहेको मालिका गाउँपालिकामा एमाले र कांग्रेसले तीन–तीन र माओवादीले एकवटा वडामा एकल प्यानलसहित विजयी हासिल गरेको निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो । मालिका–१, निस्कोटमा कांग्रेसका टंकप्रसाद पुन, २ रुममा एमालेका उदयबहादुर बुढाथोकी, ३ डाँडागाउँमा माओवादीका मोतीप्रसाद बुढा, ४ ओखरबोटमा कांग्रेसका भिजेन्द्रमान पुन, ५ देवीस्थानमा कांग्रेसका मिम पुन, ६ दरबाङमा एमालेका पथबहादुर रोका र ७ विममा पनि एमालेकै टकबहादुर पुन विजयी हुनुभएको छ ।

गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएका गर्बुजा यसअघि २०७४ सालमा सम्पन्न पहिलो पालिका तह चुनावमा भने नेपाली कांग्रेसका उम्मेदवार श्रीप्रसाद रोकासँग ८४ मतले पराजित हुनुभएको थियो । अहिले अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएका गर्बुजा र पुनसहित एमाले नेता तथा कार्यकर्ताहरुको टोलीले पालिकाको केन्द्र दरबाङ बजारमा बाजागाजासहित विजयउत्सव मनाइरहेका छन् ।

कुल १३ हजार २ सय १ जना मतदाता रहेको मालिका गाउँपालिकामा गएको शुक्रवार सम्पन्न पालिका तह चुनावमा ८ हजार ९ सय ४६ अर्थात् ६७ दशलमव ७६ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्