भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीमा लुम्बिनी आउँदै

पहिलो कार्यकालको धोको दोस्रो कार्यकालमा पूरा हुँदै



काठमाडौं  । 

धार्मिक प्रवृत्तिका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण गर्ने पहिलो कार्यकालको धोको झण्डै ८ वर्षपछि दोस्रो कार्यकालमा पूरा हुने भएको छ ।

नेपालमा स्थानीय निर्वाचन सकिएलगतै जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउन लाग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उक्त दिन मोदीले नेपालको एक दिने औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

सन् २०१४ मा भारतको प्रधानमन्त्रीमा पहिलोपटक निर्वाचित भएका मोदीले सोही वर्षको नोभेम्बरमा १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक नेपाल आउँदा लुम्बिनी र जनकपुरको भ्रमण गर्ने चाहना राख्नुभएको थियो । उहाँको चाहनाअनुरूप नयाँदिल्लीले कार्यक्रम पनि बनाएको थियो तर अन्तिम अवस्थामा उहाँको भ्रमण स्थगित भएको थियो ।

भारतको प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालमा चारपटक नेपाल आइसकेका मोदीको यो पाँचाैं नेपाल भ्रमण हो । तर, सन् २०१९ मा भारतको प्रधानमन्त्रीमा पुनःनिर्वाचित भएपछि भने उहाँको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले बिहीबार एकै दिन विज्ञप्ति जारी गरी बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

भारतको संस्कृति तथा पर्यटन मन्त्रालयमातहतमा रहेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेरेडेसनले एक अर्ब भारतीय रुपियाँको लागतमा निर्माण गर्न लागेको बौद्ध संस्कृति तथा सम्पदा केन्द्र तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीले अशोक स्तम्भअगाडि दीप प्रज्वलन गर्नुका साथै सन् २०१४ मा नेपाल भ्रमणमा आफूले उपहारस्वरूप दिएको बोधी वृक्षमा पानी हाल्ने कार्यक्रम रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । लुम्बिनीमा प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । भारतका प्रधानमन्त्रीको यो भ्रमणले दुई देशबीचको सदियौँदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको बताएको छ ।भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसर रंगरोगन गर्नुका साथै ४ वटा हेलिप्याडको निर्माण गरेको छ । मोदी जेठ २ गते बिहान दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरी सीधै लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

मोदीको सुरक्षाका लागि गृह मन्त्रालयले लुम्बिनी क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ भने ३० जना भारतीय विशेष सुरक्षाकर्मी पनि बुधबार नै लुम्बिनी पुगिसकेका छन् । लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त टोलीले गस्ती गरिरहेको छ ।सन् २०१४ मा भारतको प्रधानमन्त्रीमा पहिलोपटक निर्वाचित हुनासाथ साउने सोमबार पारेर पशुपतिको दर्शन गर्न नेपाल आइपु्गेका मोदीले दुई दिने सद्भाव र धार्मिक भ्रमण गर्नुभएको थियो । भारतका प्रधानमन्त्रीको उक्त भ्रमण १७ वर्ष लामो अन्तरालपछि भएको थियो ।

सन् २०१८ को मे महिनामा तेस्रोपटक नेपालको भ्रमण गर्ने क्रममा भारतबाट सीधै जनकपुर पुगेका मोदीले आफ्नो राजकीय भ्रमणलाई तीर्थाटन भ्रमणको रूपमा परिभाषित गर्नुभएको थियो । त्यतिखेर उहाँले पशुपतिनाथ र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको थियो । मोदीको पहिलो नेपाल भ्रमण निकै उत्साहपूर्ण र प्रशंसित रहे तापनि भूकम्पपछिको भारतको अघोषित नाकाबन्दीका कारण तेस्रो नेपाल भ्रमण भने त्यति उत्साहप्रद रहेन । त्यतिबेला मोदीलाई गरिएको नागरिक अभिनन्दनका बारेमा सामाजिक सञ्जालमा निकै असन्तुष्टि व्यक्त भएका थिए ।

झण्डै ८ वर्षमा ५ यात्रा

 सन् २०१४ अगष्टमा साउने सोमबार पारेर पशुपति दर्शन
 सन् २०१४ नोभेम्बरमा सार्क शिखर सम्मेलनमा सहभागी
 सन् २०१८ मेमा राजकीय भ्रमण
 सन् २०१८ अगष्टमा बिमस्टेक शिखर सम्मेलनमा सहभागी
 सन् २०२२ मे १६ मा लुम्बिनीको भ्रमण हुँदै

प्रतिक्रिया दिनुहोस्