उत्तर कोरियामा कोरोना संक्रमण देखिएपछि, देशभरि लकडाउन



उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो ।

कति जनालाई कोरोना संक्रमण भएको छ भन्ने खुलाइएको छैन । उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन् ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो । यो बीचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आइनपुगेको दाबी गर्दै आएको थियो ।

पहिलो पटक कोरोना संक्रमित भेटिएपछि अहिले उत्तर कोरियामा देशभरि लकडाउन घोषणा गरिएको छ । उत्तर कोरियाली शासक किम जोङ उनले वर्कर्स पार्टीको बैठकमा देशभरि लकडाउन गर्न निर्देशन दिएका हुन् ।

कोरोनाका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन पनि लगाएको छैन । कोभ्याक्स र चीनले भ्याक्सिन दिन खोज्दा उसले अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्